मदनकृष्णले सुनाए अनुभव
काठमाडौः ललितपुरको झम्सिखेलस्थित आइडियल मोडल स्कुलको प्रांगणमा बालबालिकासँग गफिँदै थिए, हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । टेलिचलचित्रका लागि लेखेको स्क्रिप्टलाई आफूले किताबमा ढालेको तथ्य खुलाउँदा बालबालिका चाख मानेर सुनिरहेका थिए । मदनकृष्णलाई तालीको गडगडाहटसहित उनीहरू साथ पनि दिइरहेका थिए । ‘पृथ्वी सबैको साझा घर हो । मान्छेको मात्र होइन; जीवजन्तु, पशुपन्छी सबैको साझा घर हो', श्रेष्ठ भने, ‘सबैले आफ्नो अस्तित्वका साथ बाँच्न पाउनुपर्छ ।' अवसर थियो श्रेष्ठद्वारा लिखित पुस्तक ‘पृथ्वी साझा घर' विमोचन ।
प्रमुख अतिथि कर्ण शाक्यले पुस्तक विमोचन गरेपछि श्रेष्ठले थपे, ‘यो किताब नेपालभरका नातिनातिनाका लागि लेखेको हुँ । हामी हाम्रा बालबालिकालाई अमेरिकाको बारेमा सिकाउँछौं तर नेपालको बारेमा सिकाउँदैनौं ।' कार्यक्रममा शाक्यले साठी वर्षपहिले डीएफओका रूपमा वन विभागमा काम गर्दाको अनुभव बालबालिकासँग बाँडे ।
त्यो बेला चितवनमा तीन वर्ष काम गरेका उनले चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि जीवजन्तु संरक्षणका लागि प्रयत्न भएको बताए । ‘वन्यजन्तुका कारण नेपालमा पर्यटक आउने गरेका छन्', शाक्यले भने, ‘नेपाल यस्तो ठाउँ हो जहाँ संसारभरमा पाइने सबै जीवजन्तु, चराचुरुंगी र वनस्पति पाइन्छ ।'
नेपाल संसारको सबभन्दा धेरै गैंडा पाइने मुलुकको दोस्रो स्थानमा रहेको जानकारी दिँदै उनले यति सानो मुलुकमा संसारको बाह्र प्रतिशत जैविक विविधता अटाउनु गर्वको कुरा भएको बताए । ‘आठ सय ६० प्रजातिका चराचुरुंगी नेपालमा पाइन्छ । यो सारा युरोप र उत्तर अमेरिकाको जोडेभन्दा धेरै हो', शाक्यले भने, ‘३२ जातका लालीगुराँस नेपालमा पाइन्छ, यो संसारकै सबभन्दा धेरै हो ।' मदनकृष्णको पुस्तक नेपालको बारेमा धेरै जानकारी र ज्ञानगुनका कुराले भरिएको र सानो भए पनि ठूलो अर्थ राख्ने खाले भएको शाक्यले बताए ।
संसारभर अठार प्रकारका मुनाल पाइने जानकारी दिँदै उनले नेपालमा मात्रै नौ प्रकारको मुनाल रहेको बताए । ‘तालतलैया, नदीनाला, पोखरी सबै नेपालमा पाइन्छ अफ्रिकामा पाइने सम्पूर्ण जनावर नेपालमा पाइन्छ', शाक्यले भने, ‘तर नेपालमा यसको बारेमा बालबालिकालाई केही सिकाइन्न ।
हामीले नेपालको बारेमा सिकाउनुपर्छ ।' नेपाललाई गरिब देश भनेर सिकाइने गरेकोप्रति विमती राख्दै हाम्रो देशभन्दा धनी अन्य मुलुक नभएकाले हीनताबोधबाट माथि उठ्नुपर्ने बताए । ‘वास्तवमा हाम्रो देश सुनको खानी हो । तर तीस लाख युवा सुन छोडेर फलाम खोज्न बिदेसिएका छन् । मालिक बन्न नेपालमा बस्नुपर्छ, विदेशमा त नोकर बनाउँछ', शाक्यले भने ।
कार्यक्रममा बालबालिकाले नाटकमार्फत सन्देशमूलक प्रस्तुति देखाएका थिए । जंगली जनावर चोरी सिकारीले गर्दा जनावरको अस्तित्व मेटिनसक्ने भन्दै कसैले बाघको छाला लगाउँदैमा बाघ बन्न नसक्ने, चितुवाको छाला लगाउँदैमा शोभा बढ्दैन भन्ने शिक्षा दिएका थिए । यसैगरी चोरी सिकारी बढेमा डाइनोसरजस्तै अन्य जीवजन्तु पनि लोप भएर जानसक्ने भन्दै नयाँ पुस्ताका साथीहरूले तस्बिर हैन, साँच्चैका जीवजन्तु देख्न पाउनुपर्ने माग राखेका थिए ।