'नेपाल आइडल' मा उर्लिए युवा (फोटोफिचर)
काठमाडौं: ललितपुरस्थित डीएभी स्कुलको चौरभरि शनिबार विभिन्न गीत गुञ्जिरहेको थियो। कोही गितार बजाउँदै समूहमा गीत गाउँदै थिए त कोही मोबाइलबाट गीत सुन्दै स्वरमा स्वर मिलाउँदै थिए। बिहान ५ बजेदेखि त्यहाँ जम्मा भएका युवकयुवतीको भीडले नेपाल आइडलप्रतिको आकर्षण छर्लंग हुन्थ्यो।
राजधानीमा बसेर अध्ययन गरिरहेका धरानका महेन्द्र गुरुङ र पथरीका रोशन तामाङलाई जान्नेबुझ्ने भएदेखि संगीतमा रुचि थियो। नेपाल आइडलका बारेमा थाहा पाएदेखि उनीहरूलाई सपना साकार पार्ने बाटो भेटिएजस्तो लाग्यो।
नेपाल आइडलको राजधानी अडिसनमा शनिबार महेन्द्र 'बिर्सिएर मलाई' बोलको गीत अडिसनमा प्रस्तुत गर्ने तयारी गरिरहेका थिए। उनीहरूले अडिसनमा गाउन एक महिना अघिदेखि तयारी गरिरहेको बताए।
बिहान ७ बजेदेखि पर्खंदा दिउँसो ३ बजेतिर आधा लाइनमात्र पार गरेका रूपकराज कट्टेल र दिपंकर तामाङ त्यहीँ उभिँदाउभिँदै साथी बने अनि समूह बनाएर गीत गाइरहेका थिए।
बिहानदेखिको भोको पेटमा पनि उनीहरूको उत्साहमा कत्ति पनि कमी देखिएको थिएन।दिपंकर त अडिसनका लागि आतुर भएर मिति बिर्सिएर शुक्रबारै त्यहाँ पुगी फर्किएका थिए। प्रतीक्षाको घडीको नजिक पुगिरहँदा उनको उत्साहको सीमा थिएन। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिएको कार्यक्रम नेपालमा भित्रिएर त्यसमा आफू सहभागी हुन पाउँदा उनी निकै खुसी थिए।
अलि पर महिलाको बेग्लै लाइन थियो। बालुवाटारकी अञ्जली भर्ताल अंग्रेजी गीत प्रस्तुत गर्ने तयारीमा थिइन्। बिहान ७ बजेदेखि लाइनमा बसेकी उनी दिउँसो ४ बजेमात्र अडिसन हलभित्र प्रवेश गर्ने ढोकैनिर पुगेकी थिइन्। अडिसनको नजिक पुग्दा सपनाको नजिक पुगेजस्तो महसुस भएको उनले बताइन्।
ढोकैनिर उभिएकी समीक्षा श्रेष्ठले रातभरि गीत अभ्यास गरेर आएको बताइन्। नेपाल आइडलको मञ्चमा प्रतिस्पर्धाका लागि मात्र नभई आफ्नो प्रतिभालाई चिनाउन पनि युवकयुवती ठूलो मात्रामा उपस्थित थिए। 'हिपहप'मा भविष्य खोज्दै गरेको सरह पराजुलीको समूह नेपालमा हिपहप गीतका लागि मञ्च नभएको गुनासो गर्थे।
यस विधामा युवाहरूको रुचि धेरै भए पनि चर्चित मञ्चमा स्थान नपाइरहेका बेला नेपाल आइडल सुरु हुनु खुसीको कुरा भएको उनले बताए। 'हामी प्रमाणित गर्न चाहन्छौं, इभन वी एक्जिस्ट', सरहले भने।शनिबारको अडिसनमा तीन हजारभन्दा बढी युवा सहभागी थिए।
तस्बिरहरु: सुलभ श्रेष्ठ