दक्षिण चीन सागरमा अमेरिकी सेनाको गस्ती
वासिङटन: दक्षिण चीन सागरका विषयमा विवाद भइरहेका बेला शनिबार अमेरिकी नौसेनाले गस्ती गर्न सुरु गरेको छ । गत बुधवारमात्र चीनले दक्षिण चीन सागरमा अमेरिकाले सैन्य निगरानी बढाएको भन्दै त्यसको विरोध गरेको थियो ।
अमेरिकी नौसेनाले आफ्नौ नौसेनाको एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुपले शनिवारदेखि नियमित रूपमा गस्ती गर्न सुरु गरेको स्पष्ट पारेको छ ।अमेरिकी नौसेनाले क्षेप्यास्त्र, क्षेप्यास्त्र प्रतिरोधी वाहक विमान सहभागी भएको जानकारी दिएको छ । दक्षिण चीन सागरमा सैन्य गस्ती सुरु गर्नुपूर्व ती युद्धपोतले हवाई र गुआम द्वीपमा सैन्य अभ्यास गरेको अमेरिकी भनाइ छ ।
चीनले पनि दक्षिण चीन सागरमा नौसैनिक अभ्यास गरेको थियो । उक्त अभ्यास शुक्रवार पूरा भएको थियो । त्यसकै भोलिपल्टदेखि अमेरिकाले फेरि सैन्य अभ्यास सुरु गरेको छ । चीनले नौसैनिक अभ्यासका क्रममा आफ्ना क्षेप्यास्त्र वाहक युद्धपोत पनि प्रदर्शन गरेको थियो । यसबाट उसका छिमेकीहरू ताइवान, फिलिपिन्स, भियतनाम चिन्तित देखिएका थिए । त्यसै समय अमेरिका पुगेका जापानी प्रधानमन्त्री सिन्जो आबेलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सुरक्षामा सहयोग गर्ने आश्वासन दिएका थिए ।
दक्षिण चीन सागरमा प्रायः यस क्षेत्रका सबै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । दक्षिण चीन सागर रणनीतिक रूपले निकै महत्वपूर्ण क्षेत्र हो । व्यापारका लागि पनि महत्वपूर्ण भएकाले सबैले आफ्नो दाबी गर्ने गरेका छन । यो जलमार्ग हुँदै वार्षिक करिब ६ ट्रिलियन अमेरिकी डलर बराबरको कारोवार हुने गरेको छ ।
भ्वाइस अफ अमेरिकाले अमेरिकी सेनाले गस्ती गरेको क्षेत्र चीनको नभएको दाबी गरेको छ । विवादित क्षेत्रमा मात्रै अमेरिकी नौसेनाले गस्ती गरेको अमेरिकी भनाइ छ । दक्षिण चीन सागरमा कम्बोडिया, ब्रुनाई, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाल्यान्ड र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्ने गरेका छन् भने चीनले आफ्नो मात्र भएको स्पष्ट पार्दै आएको छ ।
यसै विषयमा द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा समेत उजुरी परेको थियो । चीनले उक्त क्षेत्र आफ्नो भएकाले अदालतमा उपस्थित नहुने भनेर विरोध गरेको थियो ।