एक सय मिटर सडक सुनकोशीमा खसेपछि विपी राजमार्ग अवरुद्ध
सिन्धुलीः विपी राजमार्ग अन्तर्गतको सिन्धुली–बर्दिबास सडकखण्ड अबरुद्ध भएको छ। सिन्धुलीको शीतलपाटीमा गएराति करिब एक सय मिटर सडक सुनकोशी नदीमा खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सितलपाटी–९ को बेनीघाट नजिकै गएको पहिरोका कारण विपी राजमार्ग हुँदै राजधानी काठमाडौं भित्रिने र बाहिरने सवारी साधन बाटोमै रोकिएका छन्। सडकले भारबहन थेग्न नसकेपछि भाँसिएर खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उमासंकर पन्जीयारले बताए।
‘गएराति करिब ११ बजेबाट सडक अबरुद्ध भएको हो,’उनले भने,‘त्यस ठाउँमा पहिले पनि सडक भाँसिएको थियो। अहिले अचानक सुख्खा समयमै खसेर सुनकोशी नदीमा पुगेको छ।’ सडकको भित्त्तासंगै भत्केका कारण मोटरसाइकल आवतजावत गर्न समेत समस्या भएको छ।
सडक अवरुद्ध हुँदा गएरातिदेखि नै रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा हुँदै पहाडी र पूर्वी नेपालमा चल्ने हजारौं सवारी साधनहरु बाटोमै रोकिएका छन्। प्रहरीले त्यस्ता सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ भने राजमार्ग खुलाउने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए।