जसले सकसलार्इ साहसमा बदलिन्
घुम्नु, पढ्नु, आमाबुवाको छत्रछायामा नयाँनयाँ ठाउँ देख्नु । ‘अहा ! ती दिन सम्झँदा पनि लोभ लाग्छ’, अमुसिंह सिजापति आफ्नो बालापनबारे बयान गर्दै थिइन् । नेपाल परिवार नियोजन संघको सर्वोच्च पद केन्द्रीय अध्यक्ष रहेकी अमुले यहाँसम्म आइपुग्दाका सानासाना पल कोट्याउन थालिन्।
२०३९ साल वैशाख १५ गते जनकपुरमा जन्मिएकी अमुको पुख्र्यौली घर वीर अस्पताल रहेको क्षेत्र महाबौद्ध हो । त्यहाँ सिजापतिहरूको बस्ती पातलिँदै गएपछि उनका हजुरबुवाहरू वीरगन्जका बासिन्दा बने । उनी जन्मिँदा उनका आमाबुवाले भने काठमाडौंको बालुवाटारमै घरबार सुरु गरिसकेका थिए।‘बुवा प्रहरीमा जागिरे हुनुहुन्थ्यो’, अमुले भनिन्, ‘त्यही सिलसिलामा म उतै जन्मिएँ । दोलखा, भैरहवाजस्ता जिल्लातिरै मेरो पढाइ सुरु भयो ।’
जागिरका क्रममा बुवाको सरुवा जताजता भयो उतैउतै पुगिन् उनी अनि त्यहीँ पढिन् । हाँस्दै खेल्दै गर्दागर्दै बाल्यकाल बित्यो । परिवारकी जेठी छोरी अमु बुवाकी प्रिय थिइन् । ‘लाग्थ्यो, बुवाले मलाई मुटुमै राखेर हिँड्नुहुन्थ्यो’, अमुले भनिन्, ‘पहिलो छोरी भएर पनि होला, म पनि बुवासँग निकै नजिक थिएँ, आमाभन्दा पनि धेरै ।’
कक्षा ४ पढ्न भने उनी राजधानीमै आइन् । काठमाडौंको महेन्द्र भवन हुँदै मेरिल्यान्डबाट उनले दस जोड दुई अध्ययन गरिन् । त्रिचन्द्रबाट बीए सकाएर उनी १८ वर्षको उमेरमा थप अध्ययनका लागि बैंगलोर पुगिन् । नयाँ ठाउँ, नयाँ विषय र नयाँ उमंग लिएर उनको अध्ययनको क्रम सुरु भयो । २०५८ साल असार २६ गतेको कुरा हो, उनले दाङमा रहेका एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बुवा परमेश्वर सिजापतिसँग फोनमा कुरा गरिन् । ‘त्यो दिन बुवालाई खै के भएको थियो’, अमुले भर्खरै बुवासँग फोन संवाद भएझैं गरी भनिन्, ‘मलाई गाह्रो अनुभव भएको छ, आमालाई घर फर्काइदेऊ, अब तिमी र आमा मिलेर घर चलाउनुपर्छ होला !’
अमुकी आमा डेजी सिजापति विष्ट छोरीलाई कलेज भर्ना गरेर व्यवस्था मिलाउन उतै थिइन् । फोन संवाद भएको केही क्षण नबित्दै अमु बसेको मुटु भत्कियो । उनी सजिएका बुवाका आँखा बन्द भए । अमु भक्कानिइन् । घटना भर्खरै भएझैं स्तब्भ भइन् । फेरि सम्हालिँदै भनिन्, ‘त्यो दिन कहिल्यै याद नआओस् जस्तो लाग्छ । बुवा अहिल्यै ब्यूँझिएर आउनुहुन्छ कि जस्तो ठान्छु । उसैगरी स्नेहले गाला चुम्नुहुन्छ कि सोच्छु ।’
अमुले बुवासँग फोनमा अन्तिम संवाद गरेको त्यो कालो दिन २०५८ असार २६ थियो । बाबुछोरीको फोन संवाद भएको केही क्षणमै एसएसपी रहेका उनका पिता परमेश्वर फेरि कहिल्यै नबोल्ने गरी निदाए । दाङमा त्यस दिन माओवादीले गरेको आक्रमणमा उनी मारिए । सिजापति नै युद्धमा मारिएका प्रहरीका ठूला अधिकारी थिए । ‘त्यसपछि मेरो जीवनमा अर्कै मोड आयो’, अमुले भनिन्, ‘अब खाने, खेल्ने, पढ्ने कुद्ने दिन सकिए । म परिवारकी जेठी छोरी, बुवाले कहिल्यै दुःखको अनुभूति नगराएर के गर्नु, परिवारको जिम्मेवारी नभनी सुम्पेर जानुभयो ।’
त्यो दिन कहिल्यै याद नआओस् जस्तो लाग्छ । बुवा अहिल्यै ब्यूँझिएर आउनुहुन्छ कि जस्तो ठान्छु । उसैगरी स्नेहले गाला चुम्नुहुन्छ कि सोच्छु ।
अमुकी आमा माइतमा कान्छी छोरी थिइन् । उनले गृहिणीबाहेक कहिल्यै अन्य जिम्मेवारी वहन गरिनन् । अमुले भनिन्, ‘पैसापानी भएरमात्र हुँदैन रहेछ, त्यसको खटनपटन र व्यवस्थापन गर्नु पनि ठूलो सकस रहेछ ।’ उनले बहिनी करिना, सोनु र भाइ अनुपको अध्यन बिगार्न चाहिनन् । उनीहरूलाई दार्जिलिङमै पढ्न दिइन् । आफू भने पारिवारिक व्यवस्थापनका लागि बैंगलोरको पढाइ त्यत्तिकै छोडेर नेपाल फर्किइन् ।
१८/१९ वर्षमै परिवारको खटनपटन, घरव्यवहार सम्हाल्न थालेपछि उनले अनेक सोच र प्रवृत्तिको सामना पनि त्यसै दिनदेखि गर्नुपर्यो । अमुका नातागोता वीरगन्जतिरै थिए । काठमाडौंमा भएकाहरू आआफ्नै पारिवारिक व्यस्ततामा भए । नजिक मानिएका ठूलो हजुरबुवाले पनि उमेरका कारण सहयोग गर्ने अवस्था थिएन । ‘बुवाको देहान्तपछि नजिक मानिएकाहरू पनि टाढा भए, आफन्त ठानिएका पनि धेरै नजिक आउन खोजेनन्’, अमुले भनिन्, ‘हुँदाहुँदा प्रहरी डिपार्टमेन्टले पनि सहयोग गरेन ।’ एसएसपी परमेश्वरलाई मरणोपरान्त दिइएको डीआईजी पदवी पनि पाँच वर्षपछि मात्रै प्रदान गरिएको उनले सम्झिइन् ।
कलिलो उमेरमा आइलागेको आपत्का सामु लम्पसार परेर हुँदैन भन्ने उनलाई लाग्यो । अमुले कलिलो काँध दह्रो पारिन् । बुवा बितेकै साल पाँच महिनापछितिर एक दिन माओवादीपीडितका रूपमा उनीबारे बीबीसीले एउटा ‘फिचर’ बनायो । उनले आफ्नो कथाव्यथा र बुवासँगको आत्मीयताबारे बताइन् । त्यसको केही दिनपछि उनलाई नेपाल परिवार नियोजन संघबाट फोन आयो । उनले सोचिन्, जागिरका लागि होला । परिवार नियोजनसम्बन्धी कामलाई समाजले हेर्ने आँखा कस्तोकस्तो भएको उनले बुझेकी थिइन् । एक मनले भन्यो- बुवा बितेको केही मैनामै यस्तो संस्थामा गइछ भन्लान् । अर्को मनले भन्यो- भाइबहिनी, आमाका लागि पनि केही त गर्नैपर्यो नि । उनी परिवार नियोजनको कार्यालय पुगिन् । जागिरभन्दा पनि उनलाई स्वयंसेवकको रूपमा काम गर्न प्रस्ताव गरियो । उनले घन्टौं सोचेर ‘हुन्छ’ भनिन् ।
‘त्यहाँ काम गर्दा मभित्रको एक्लोपन मेटियो । त्यहाँ भेटिने मान्छे र साथीभाइसँगको कुराकानीले बुवाको निरन्तरको याद भुल्न सजिलो भयो’, अमुले भनिन्, ‘मैले मनलाई राहत भएको महसुस गरेँ ।’ नेपालमा राम्रो गर्नेहरू नै अप्ठ्यारोमा पारिने अनुभूति उनले घरपरिवार चलाउँदा गरिरहेकी थिइन् । ‘भर्खरकी छे, के घर चलाउली ? पैसा लिएर हिँड्छे होली’ भन्ने चिनेजानेकाहरूकै अड्कल उनले सुनेकी थिइन् । परिवार नियोजनको यात्रामा त्यस्ता बोलीमात्रै होइन, कठोर व्यवहारसमेत भोग्नुपर्यो ।
कहिल्यै राजनीति नगरेकी र नबुझेकी अमुले परिवार नियोजन संघमा ठूलो राजनीतिक तिकडमको सामना गर्नुपर्यो । ‘स्वयंसेवकबाट प्रवेश गरेकी मलाई साउथ एसिया क्षेत्रको युथतर्फको उपाध्यक्ष हुन खासै कसरत गर्नु परेन’, उनले भनिन्, ‘सन् २००८ मा विधान संशोधन भयो, ५० प्रतिशत महिला ल्याउने कुरा भयो । अध्यक्षका उम्मेदवार सुभाष प्रधानले मलाई मध्यमाञ्चल क्षेत्रको महिला सदस्यमा चुनाव लड भन्नुभयो । मैले रहर नगर्दा पनि अरू साथीहरूले पनि कर गर्नुभयो ।’ उनी उम्मेदवार बनिन् । उम्मेदवारी दर्ता गरिन् । ‘कतिसम्म अचम्म भयो भने प्यानलकै साथीहरू बोल्न छाडे’, अमुले त्यो दिन सम्झिइन्, ‘सुभाष सरले आन्तरिक रूपमा के गर्नुभयो, थाहा भएन तर चुनावको तीन दिन म रातभर रोएर बसेँ । एक मनले सबै छोडेर सम्पर्कमै नआऊँ कि भन्ने सोचेँ, अर्को मनले हार मान्नु हुन्न भन्यो ।’ उनलाई त्यो सकसपूर्ण यात्राले समाज, व्यक्ति, राजनीति के हो ? भन्ने ज्ञान दियो । उनले २१ मतले निर्वाचन जितिन् । अमुको जितपछि तीन दिनसम्म बोल्दै नबोल्नेहरू पनि टीका लगाइदिई बधाई दिन तम्सिए । उनलाई लाग्यो- सबैले बलेकै आगो ताप्दा रहेछन् ।
जितेका मध्येबाट पदाधिकारी छानिन्थ्यो । उनलाई कोषाध्यक्षका लागि तयार गरियो । उनी उठ्न तयार भइन् । त्यहाँ पनि रातारात अनिता देवकोटालाई उठाइयो । शीर्ष राजनीतिक व्यक्तित्वबाट उनलाई समर्थन आयो । उनी चार मतले हार्दै गर्दा राजनीतिको रंग अझ गाढा गरी बुझिन् । सम्पूर्ण टिम, राजनीतिक शक्ति लाग्दा पनि चार मतले मात्र हार्नुलाई उनले निकै ठूलो उपलब्धिका रूपमा लिइन् । ‘त्यो हारले मेरो आत्मबल उच्च भयो’, उनले भनिन्, ‘२०११ मा आईपीपीएफले सुभाष प्रधानको कार्यसमिति बर्खास्त गर्यो । मैले राजीनामा दिएँ ।’
परिवार नियोजन संघ माधव अधिकारीको संयोजकत्वमा तदर्थ समितिमार्फत सञ्चालन भइरहेको थियो । त्यही बेला उनलाई फेरि केन्द्रीय अध्यक्ष बन्न प्रस्ताव आयो । त्यस बेला उनी पाँच महिनाकी गर्भवती थिइन् । ‘एकातिर गर्भवती थिएँ, अर्कोतिर मैले राजीनामा दिएकाले जिल्लाबाटै जितेर जानुपर्ने थियो’, अमुले भनिन्, ‘मैले लड्ने निर्णय गरेँ ।’ उनलाई सदस्यको सूची लिनै गाह्रो पारियो । पटकपटक बालुवाटर–जडीबुडी पुगेर मतदाताको नामावली लिनुपर्यो ।’ उनी काठमाडौंबाट अध्यक्ष बनिन् ।
केन्द्रको निर्वाचन लड्दा उनको पेटका नौ महिनाको शिशु थियो । केन्द्रीय अधिवेशन पोखरा सारियो । ‘जानु कि नजानु भयो, जीउ सुन्निएको थियो’, उनले भनिन्, ‘ श्रीमानको सहयोग र हौसला कति ठूलो हुँदो रहेछ ? त्यस बेला अनुभूति भयो ।’ उनलाई आईपीपीएफले महिला अधिकारमा टेकेर निवेदन दिए निर्वाचन नै स्थगित गराइदिने नभनेको होइन । तर, उनले त्यसो गर्न चाहिनन् । उनी चार घन्टाको पोखरा यात्रा १२ घन्टा लगाएर पुगिन् ।
‘त्यस बेला भोट माग्ने अवस्था थिएन, मैले पोखरामा होटेलको कोठा र अस्पतालको चक्कर काटेरै बढी समय बिताएँ’, उनले भनिन्, ‘मैले त्यहाँ समाज कस्तो अवस्थामा छ भन्ने बुझ्न पाएँ । कसैले पनि यस्तो अवस्थामा पनि यहाँसम्म आई भनेनन्, बरु त्यो पाउने छे, त्यसले के संस्था चलाउँछे भने ।’ उनी चुनावमा आफ्नो भोट खसालेर सुत्न गइन् । आएको फोन पनि श्रीमान् मेजर झुलेन्द्रविक्रम बस्नेतले नै उठाए । भाग्यवश उनी एक मतले निर्वाचन जित्न सफल भइन् । त्यो जितले उनी राजा महेन्द्रकी छोरीपछि जनताको छोरीका तर्फबाट संघको पहिलो अध्यक्ष बनिन् । निर्वाचन जितेको आठ दिनपछि छोरो जन्मियो । उनले १८ दिन सुत्केरी बारिन् । छोरा आमाको जिम्मा लगाएर उनी संघ सम्हाल्न गइन् । अध्यक्ष बनेको नौ महिनामा उनले कालो सूचीबाट संघलाई हटाइन् । आईपीपीएफबाट प्रमाणीकरण गराइन् । आफूलाई प्रयोग गरेर फाइदा लिनेहरू चिन्दै गएपछि उनले त्यस्ताको संगत छोडिन् । परिवार नियोजन संघलाई ‘इन्नोभेटिव’ बनाउने प्रयासमा लागिन् ।
सन् २०१५ मा कैलालीमा भएको अधिवेशनबाट उनले दोस्रो कार्यकालका लागि अध्यक्ष जितिन् । दोहोर्याएर चुनाव लड्ने पहिलो संघकर्मी बनिन् । उनले ५४/५५ वर्षसम्म सरकारले नचिनेको संघलाई सरकारी मान्यता दिलाइन् । मन्त्रिपरिषद्बाटै सेप्टेम्बर १८ को दिन परिवार नियोजन दिवस मनाउने प्रस्ताव पारित गराइन् । २०१५ मै उनले संघलाई १८० राष्ट्रमध्ये नेपाललाई ‘बेस्ट सदस्य राष्ट्र’ घोषणा गराउन सफल भइन् । संघको साउथ एसिया रिजनमा पहिलो नेपालीका रूपमा साम्भवी पौडेललाई रिजनल को–अर्डिनेटर र गभर्निङ काउन्सिल सदस्य बनाउन सफल भइन् । संघलाई समाज कल्याणमा पुनः आबद्ध गराइन् ।
२०७२ सालको भूकम्प जाँदा नाबालक छोरासहित दोलखामा तीन दिन अलपत्र परिन् । आर्मीले रेस्क्यु परेपछि अमुले डिजास्टरमा हात नहालेको संघलाई त्यस क्षेत्रमा पनि क्रियाशील बनाइन् । उनले काभ्रे, मकवानपुर लगायतका क्षेत्रमा यौन तथा प्रजननका क्षेत्रमा काम थालिन् । जापान सरकार र अन्य संस्थासँग मिलेर उनले सुत्केरी महिला र बालबालिकाका लागि सेल्टर र विभिन्न सामग्री वितरण गराइन् । अहिले उनी संघको ‘रिस्ट्रक्चर’ र सरकारले प्रतिबद्धता गरेको संघको बजेटमा बर्सेनि ६ प्रतिशत बजेट वृद्धि लागू गराउने प्रयत्नमा छिन् ।
साउथ एसियाका १८० देशमध्य कान्छो अध्यक्षका रूपमा चिनिएकी उनी संघलाई आत्मनिर्भर बन्ने बाटोमा डो¥याउने प्रयत्नमा छिन् । परिवार नियोजन संघद्वारा देशमा सञ्चालित केही क्लिनिकलाई पोलिक्लिनिक बनाउने योजना करिब लागू हुँदैछ । ‘पाँच दशक दातासँग मागेर चलाएको संघलाई अब हात थाप्नु नपर्ने वातावरणको बीउ रोप्ने प्रयत्नमा छु’, अमुसिंह सिजापतिले भनिन्, ‘संघर्ष धेरै छ, खुट्टा तान्नेहरू हुन्छन् नै तर हिम्मत, साहस र धैर्यले नै जित्न सकिने रहेछ ।’