सुर संघर्षमा हजाराैं
काठमाडौ : माइती नेपालको बालकेन्द्रमा बसेर ८ कक्षामा अध्ययनरत राजकुमारी थापा अलिअलि लजाउँदै, अलि डराउँदै तर हिम्मतका साथ मञ्चमा उक्लिइन् । अनि केही डर र आशासहित गीत गाउन थालिन्, ‘मुस्कुराउनुको कथा’ । राजकुमारी नेपाल आइडलको अडिसन राउन्डमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै थिइन् । उनीसँगै पूजा परियार अडिसन दिन तयार थिइन् । धेरै खुड्किला पार गर्नुपर्ने नेपाल आइडलको पहिलो चरणको अडिसनमा पुगकी उनको लक्ष्य सानो छैन । दाबी नगरे पनि उनी आफ्नो शतप्रतिशत क्षमता प्रस्तुत गरेर जित हासिल गर्न चाहन्छिन् ।
नेपाल आइडल जितेर माइती नेपालका लागि बाजा किन्ने र आफ्नो लागि एउटा तानपुरा किन्ने सपना छ उनको । ‘सोचेजस्तो हुन्न जीवन’ गुन्गुनाइरहेकी समिता श्रेष्ठले भने जितको कल्पना गरेकी छैनन् । अनुभव सँगाल्न प्रतिस्पर्धामा आएको बताउने उनी निकै उत्साही देखिन्थिन् । अडिसन दिनुपूर्व बढेको उनको धड्कन भित्र पुगेपछि केही शान्त भयो । निर्णायकको मिलनसार व्यवहारले सजिलो बनाइदियो ।
लामो लाइन पार गर्दै अडिसन हलको ढोकानिर पुग्दा रुष्मा महर्जन पनि रातोपिरो भइन् । भित्र पुगेपछि निर्णायकको सहृदयी व्यवहारले उनको डर भगाइदियो । नेपाल आइडल रुष्माको मात्र नभई उनको परिवारको पनि सपना हो । आइतबार नेपाल अडिसनको काठमाडौं संस्करण भइरहेको ललितपुरस्थित डीएभी विद्यालयको चौरभरि मीठा स्वर आकाशतिर उडिरहेका थिए । वातावरण संगीतले गुञ्जायमान थियो । मूल ढोका पार गरेर भित्र कोही भ¥याङको खुड्किलोमा बसेर गीत गाउँदै थिए त कोही कुर्सीमा बसेर अभ्यास गरिरहेका थिए । मूल ढोका कटेपछि धेरैमा अनुहारको रङ फेरिएजस्तो देखिन्थ्यो । लामो पर्खाइपछि आएको परीक्षाको नजिक पुग्दाको अप्ठ्यारो क्षण सामना गर्दै थिए उनीहरु ।
आफ्नो पालो आएको खुसी र परीक्षा कस्तो होला भन्ने डर मिसिएको हाँसो हाँस्दै सौजन राई ‘चाहन्छु तिमीलाई’ गीत अभ्यास गरिरहेका थिए । उनले नेपाल आइडल हुने खबर आएदेखि दिन गन्दै प्रतीक्षा गरेको बताए ।वातावरण प्रतिस्पर्धात्मक थियो । सबै तयारीमा व्यस्त थिए । कोही कानमा एअरफोन लगाएर गीत अभ्यास गरिरहेका थिए । कोही भने त्यहीँ समूह बाँधेर गीत गाइरहेका थिए । यति ठूलो भीडमा सांगीतिक माहोल निकै रोमाञ्चक थियो । यो नयाँ प्रतिभालाई आफ्नो क्षमता अभिव्यक्त गर्ने अवसर पनि हो ।
संगीत सिकिरहेकी इमाडोलकी शशिका सुनार अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्ममा सहभागी हुनुुलाई ठूलो अवसर ठान्छिन् । संगीतमै दक्षता हासिल गर्दै गरेकी आइशा रणपहेलीले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा गीत गाउनकै लागि यहाँसम्म धाएको बताइन् । भन्छिन्, ‘गीतमात्र गाउँथ्यौं तर यहाँ आएर गीत प्रस्तुत गर्ने कला सिक्न पाइन्छ, आफ्ना कमीकमजोरी थाहा पाएर त्यसलाई सुधार्ने मौका पाइन्छ ।’
एपी वन टेलिभिजनमा प्रसारण हुने नेपाल आइडल विजेताले पाउने २० लाख रुपैयाँ, १५ लाख रुपैयाँ बराबरको सांगीतिक एल्बम र ३१ लाख ४५ हजार मूल्य बराबरको गाडीले यसको आकर्षण बढेको छ । यति ठूलो पुरस्कार राशि दिने नेपाली रियालिटी सो नेपाल आइडल मात्र हो । फ्रेन्चाइज लिएर नेपालमा सञ्चालन गरिएको पनि यो पहिलो कार्यक्रम हो । यसमा केवल गायनमात्र नभई प्रतियोगीको पारिवारिक पृष्ठभूमि र भावनात्मक पक्ष पनि देखाइन्छ । यसले दर्शकलाई भावनात्मक रूपमा कार्यक्रमसँग जोड्ने विश्वास लिइएको छ ।
एपी वान टेलिभिजनमा सातामा दुई शृंखला प्रसारण गर्ने गरी नेपाल आइडलको कुल ३२ वटा शृंखला प्रस्तुत हुनेछन् । टेलिभिजनले सातामा एक दिन ‘नेपाल आइडल एक्स्ट्रा’ भनेर छुट्टै प्रसारण गर्नेछ ।
प्रतियोगिताको निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा रहेका छन् । सुशील नेपाल र रीमा विश्वकर्माले कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालगन्जबाट सुरु भएको अडिसन बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा हुँदै काठमाडौंमा आएर टुंगिएको छ । काठमाडौंमा शनिबार र आइतबार पाँच हजारभन्दा बढीले अडिसन दिए ।
याे पनि हेर्नुहाेस् :