अवरुद्ध बिपी राजमार्गमा वैकल्पिक ट्रयाक खोलिँदै
सिन्धुली : राजधानी काठमाडौं र पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने बनेपा-सिन्धुली-बर्दीवास (बिपी राजमार्ग) अन्तरगत सिन्धुलीको खुर्कोट-नेपालथोक खण्ड आइतबार रातिदेखि अवरुद्ध भएको छ।
खुर्कोट-नेपालथोक खण्ड अन्तरगत सितलपाटी गाविस ९ स्थित त्रिवेणी नजिकै सुख्खा पहिरोले राजमार्ग सुनकोसी नदीमा खसेपछि सडक अवरुद्ध भएको हो।
आइतबार राति करिब ११ बजे सडकको पिच भत्किएर नदीमा खसेपछि बिपी राजमार्ग हुँदै राजधानी भित्रने र बाहिरिने सबै यातायातका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सडकको करिब ३० मिटर पिच सबै सुनकोसी नदीमा खस्दा आइतबार मध्यरातिदेखी अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पञ्जीयारले जानकारी दिए।
प्रहरी प्रमुख पञ्जीयाका अनुसार सडक अवरुद्ध हुँदा दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलु तथा पूर्व काँकडभिट्टाबाट राजधानी काठमाडौं तर्फ हिँडेका सवारी साधन सिन्धुलीको भिमेश्वर गाविसस्थित खुर्कोट र काठमाडौंबाट पूर्वी पहाडी जिल्लाका लागि छुटेका यातायातका साधन सितलपाटी गाविसको खाल्टेमा रोकिएका छन्।
जापान सरकारको अनुदान सहयोगमा दुई वर्ष अघिमात्र निर्माण सम्पन्न उक्त राजमार्ग २०७२ वैशाख १२ गतेको भूकम्पले हल्लउँदा जग हल्लिएको थियो। ‘सडक विस्तारै भाँसिदै जाँदा सडकमा यातायातका साधनको चाप पनि बढ्दै गएपछि भारका कारण सडक सुख्खा पहिरो खसेको हुनसक्छ,’ प्रहरी प्रमख पञ्जीयार भने।
सडक अवरुद्ध भएपछि प्रहरीले आइतबार रातिदेखि अवरुद्ध यातायातका साधनलाई वैकल्पीक मार्गको प्रयोग गर्न भनेको छ। प्रहरीले यात्रुलाई वैकल्पिक यात्राका लागि सित्खा-पकरबास-मन्थली सडक प्रयोग गर्न सुझाव दिएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउन वैकल्पिक ट्रयाक खोल्न सुरु गरेको छ। सडक विभाग, जाइकाका प्राविधिक इन्जिनियर वैकल्पीक ट्रयाक खोल्न र पहिरोको अवलोकनका लागि पहिरो खसेको स्थानमा पुगेका छन्। जिल्लाबाट प्रमुख जिल्ला अधिकारीलगायतको टोली सोमबार बिहानैदेखी सडक सुचारु गराउन लागि परेका छन्।
डोजर प्रयोग गरी ट्रयाक निर्माण कार्य सुरु गरेको र सोमबार अबेरसम्ममा सडक सुचारु गर्ने सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले जानकारी दिए। ‘धस्सीएर खसेको सडक तत्काल मर्मत गर्न नसकिने भएपछि वैकल्पिक व्यवस्थाका लागि सकेसम्म चाँडो ट्रयाक खोल्ने कोशिसमा छौँ,’
महर्जनले भने।
सडकको मर्मतका लागि भने सडक विभाग र जाइकाका प्रतिनिधिले अध्ययनपछि काम सुरु हुने महर्जनले थपे। सडक अवरुद्ध भएपछि अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न इलाका प्रहरी कार्यालय खुर्कोटले सहयोग गरेको छ।
बिपी रजमार्ग एक लेनको सडक हो। सानो र साँघुरो मोड भएको सडकमा भारबहन क्षमता भने निक्कै कम भएको प्राविधिकले बताउँदै आएका थिए। तर,यातायात व्यावसायीले मनोमानी रुपमा ठूला सवारी साधन सडकमा सञ्चालन गर्दा यो अवस्था सिर्जना भएको सिन्धुलीका प्रहरी प्रमुख पञ्जीयारको भनाइ छ।
बिपी राजमार्गमा दैनिक ६ हजार बढी ठूला साना सवारी साधनहरु सञ्चालन हुँदै आएका छन्।