कर्मचारीकै मिलेमतोमा तिब्बतीलाई राहदानी

कर्मचारीकै मिलेमतोमा तिब्बतीलाई राहदानी

काठमाडौः स्विट्जरल्यान्डले नेपाली राहदानीमा करिब दुई वर्षदेखि ओभरस्टे गरिरहेकी तिब्बती युवती याङ दोङलाई नेपाल फिर्ता पठाएको छ । दोलखा जिल्लाबाट राहदानी लिएकी दोङलाई स्विट्जरल्यान्डले डिपोर्ट गरेपछि अहिले उनी १८ दिनदेखि राजधानीको डिल्लीबजारस्थित अध्यागमन विभागको हिरासतमा छिन् ।

डिपोर्ट भएर काठमाडौं उत्रनासाथ अध्यागमनले दोङलाई २० माघमा हिरासतमा लिएको थियो । नेपाली बोल्न नसक्ने उनले नक्कली नेपाली नागरिकताका आधारमा राहदानी कसरी लिइन्, अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ । पर्यटक भिसामा स्विट्जरल्यान्ड पुगेकी दोङ करिब दुई वर्षयता गैरकानुनी रूपमा बसिरहेकी थिइन् ।

आफ्नो प्रेमीसँग बस्दै आएकी उनले आफू तिब्बती भएकाले शरणार्थीका रूपमा बस्न पाउनुपर्ने माग गर्दै त्यहाँ आवेदन दिएपछि उनी तिब्बती भएको र नेपाली राहदानीमा त्यहाँ पुगेको खुलेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाबाट जारी नागरिकतामा उनको नाम याङ दोङ शेर्पा उल्लेख छ । तर, जिल्ला प्रशासन कार्यालय दोलखामा दोङले नागरिकता लिएको कुनै रेकर्ड छैन ।

दोङको आवेदनमा त्यहाँको अध्यागमनले छानबिन गर्दा उनी नेपाली राहदानीमा प्रवेश गरेको फेला परेपछि निर्वासन गरेको थियो । तिब्बती भएको दाबी गरे पनि राहदानीले उनलाई नेपाली भएको प्रमाणित भएपछि पक्राउ परिन् । अध्यागमनमा उनले बारम्बार आफू तिब्बती नै भएको दाबी गरेकी थिइन् ।

तिब्बती दोङलाई नेपाली नागरिकता र राहदानी बनाउन ठूलै गिरोह संलग्न रहेको अध्यागमन विभागले अनुमान गरेको छ । बयानका क्रममा उनले दोलखाबाट नागरिकता र काठमाडौंबाट एमआरपी (मेसिन रिडेबल पासपोर्ट) लिएको स्विकारेकी छन् । अध्यागमन स्रोतले नागरिकता र राहदानी लिन दोङले ठूलै रकम खर्चिएको बताएको जानकारी दियो । अध्यागमन विभागका निर्देशक वासुदेव घिमिरेले दोङबारे अनुसन्धान भइरहेको बताए ।

नेपाली राहदानी बोकेकी तिब्बती नागरिक स्वीट्जरल्यान्डबाट डिपोर्ट । 

दोङ स्विट्जरल्यान्ड उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीको संलग्नता हुनसक्ने देखिएको छ । अध्यागमन अधिकारीले सोधखोज गरेको भए नेपाली बोल्न नसक्ने दोङ विमानस्थलमै पक्राउ पर्ने थिइन् । उनका सम्बन्धमा विमानस्थलका अध्यागमन अधिकारीले लापरबाही गरेको देखिएको स्रोतले बतायो ।

तिब्बतीबाहेक बोल्न नजान्ने दोङलाई राहदानी दिँदा परराष्ट्र मन्त्रालयको राहदानी विभागका कर्मचारीले पनि उत्तिकै लापरबाही गरेको स्रोतले दाबी गर्‍यो । विभागबाट राहदानी लिँदा वाहकले हस्ताक्षर गर्नुपर्छ । नक्कली नागरिकताका आधारमा राहदानी लिएर उनी नेपाली नागरिकका रूपमा स्विट्जरल्यान्ड जान सफल भइन् ।

राहदानी विभागले सम्बन्धित जिल्लाको सिफारिसबिना राहदानी जारी गर्दैन । तर, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसविनै दोङको राहदानी परराष्ट्रका अधिकारीले कसरी बनाइदिए आशंका उत्पन्न भएको छ । उनी जानुअघि पनि धेरै तिब्बती नेपाली राहदानी बोकेर बिदेसिएका छन् ।

राहदानी विभागका कर्मचारीको सहयोग र संलग्नताविना कुनै पनि विदेशीले नेपाली राहदानी लिन नसक्ने भएकाले दोङको मामिलामा पनि राहदानी विभागका कर्मचारीको संलग्नता रहेको अनुसन्धानरत अधिकारीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.