पाँच दृष्टिविहीनको त्रिपालको बास
आरुआर्बाङः तपाईंको परिवारमा कुनै सदस्य दृष्टिविहीन भए के गर्नुहुन्छ ? सबै दाजुभाइ, दिदीबहिनी मिलेर स्याहारसुसार, लालनपालन गर्नुहोला, गरीखाने बाटो देखाइदिनुहोला । एउटै परिवारमा पाँचजना आँखा नदेख्ने भए भने नि ?
यही अन्योलमा गुज्रिएको छ, गाेरखा आरुआर्बाङ-७ पाखुरेको कर्णबहादुर दम्पती । ६१ वर्षीय कर्णबहादुर र ६० वर्षीया लक्ष्मी गुरुङका दुई छोरा र तीन छोरी दृष्टिविहीन हुन् । उमेरले ६० काटेका उनीहरूलाई नै अब सहारा चाहिएको छ तर परिस्थिति त्यस्तो छैन । उनीहरू पाँच दृष्टिविहीन सन्तानको सहारा हुनुपरेको छ ।
३० वर्षका प्रेम, २८ वर्षकी स्वीकृति, २६ वर्षका लीलबहादुर, २४ वर्षकी ममता र १४ वर्षकी सुनिता जन्मजात दृष्टिविहीन हुन् । स्वीकृति विवाहित हुन् । उनले थुमी गाविसका दृष्टिविहीन क्षितिज आलेलाई जीवनसाथी रोजिन् । सवलांग सन्तानको प्रतीक्षा गर्दागर्दै कर्णबहादुर दम्पतीका १० सन्तान जन्मिए । आठ छोरीमध्य तीन छोरी जन्मँदै दृष्टिविहीन भए । दुई छोरा पनि दृष्टिविहीन जन्मिए । कर्ण दम्पतीको ११ वर्षकी छोरी सिर्जना र १६ वर्षकी सविना मात्र सवलांग छन् । उनीहरू तीन घन्टाको बाटो जलकुमारी माविमा पढ्न जान्छन् ।
घरभरि आँखा नदेख्ने सन्तान भएपछि कर्णबहादुर र लक्ष्मी भाग्य सम्झेर भाउन्न हुन्छन् । १० सन्तान जन्मिएकोमा उनीहरूलाई कुनै चिन्ता छैन । ‘आँखा देख्नेहरू त एकातिर लाग्लान्, यी आँखा नदेख्ने छोराछोरीको पाप हुने भयो’, बलिन्द्र आँसु झार्दै लक्ष्मी भन्छिन्, ‘यिनैलाई सम्झेर रातदिन रोइरहन्छौं, के गर्नु दैवले गर्नुसम्म गर्रयो ।’
दृष्टिविहीन भएकामा छोराछोरी पनि रुने गरेको उनी बताउँछिन् । ‘कि भुतुक्कै मारिदए पनि त हुन्थ्यो नि ! किन अधकल्चो बनायो यो भगवानले भनेर ठूलो छोरो रुन्छ । त्यो देखेर आफूलाई सम्हालिन गाह्रो हुन्छ’, उनले भनिन् । सँगै जन्मिएका दौंतरी कहाँ–कहाँ पुगिसके भनेर सबै सन्तान रुने गरेको उनले बताइन् ।
पाँच सन्तान दृष्टिविहीन हुँदा जोरीबैरीसामु मात्र होइन, इष्टमित्रको अगाडि पनि अप्ठ्यारो लाग्ने गरेको उनी बताउँछिन् । छोराछोरीले कमाउलान्, बुढेसकालमा सहारा बन्लान् भन्ने आशा गर्ने ठाउँ कतै नभेटिएकोमा कर्णबहादुरको सुर्ता छ । ‘के गर्नु, आफ्नो भविष्य यस्तै भइगयो । न जागिर न आय-आर्जनको कुनै स्रोत नै छ’, कर्णबहादुरले भने ।
भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न नसकेकोमा कर्णबहादुर दुःखी छन् । भन्छन्, ‘मलाई त भाग्यले नै ठगेको छ ।’ पाँच दृष्टिविहीनसहित दुई वर्षदेखि त्रिपालभित्र बसिरहेको उनले बताए ।