इन्धन डिपो राख्न पाइएन जग्गा
तुलसीपुरः सरकारले दाङको तुलसीपुरमा स्थापना गर्ने भनिएको प्रादेशिक इन्धन डिपोका लागि उचित जग्गा फेला पर्न सकेको छैन । प्रदेश नं पाँचको इन्धन डिपो तुलसीपुरमा राख्ने निर्णयपछि नेपाल आयल निगमले जग्गा खोज्न थालेको हो । निर्णय भएको एक वर्षसम्म पनि जग्गा नभेटिएको नेपाल आयल निगम डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।
तीन महिनासम्म पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने गरी प्रदेश नम्बर पाँचको इन्धन डिपो दाङको तुलसीपुरमा स्थापना गर्र्ने निर्णय भएको र यसका लागि जग्गा खोज्ने प्रक्रिया चलिरहेको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुर प्रमुख विपीन श्रेष्ठले जानकारी दिए । ‘हामीले उचित स्थानमा लामो समयदेखि जग्गा खोजिरहेका छौं अझै फेला पार्न सकिएको छैन’, उनले भने । जति छिटो जग्गा उपलब्ध भयो त्यति छिटो काम पूरा हुने उनको भनाइ छ ।
नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले इन्धन डिपोका लागि आवश्यक २० बिगाहा जग्गा नपाइएको बताए । उनका अनुसार दाङसहित सातै प्रदेशमा जग्गा खोज्ने प्रयास जारी छ । त्यसका लागि ६ अर्ब रुपैयाँसमेत विनियोजन भएको उनले जानकारी दिए । तुलसीपुरको टरिगाउँ विमानस्थल आसपासमा जग्गा खोजिएको छ । हवाई सेवाका लागि पनि विमानस्थल नजिकै इन्धन डिपो भए सहज हुने देखेर त्यही क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए ।
रुकुमको चौरजहारी र तनहुँमा समेत अतिरिक्त इन्धन भण्डारगृह निर्माण गर्न लागिएको छ ।
एक वर्षअघि तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले प्रदेश नं पाँचको इन्धन डिपो दाङमा बनाउने निर्णय गराएका थिए । नेपाल आयल निगमले प्रादेशिक संरचनाअनुसार दाङ, झापा, चितवन, भैरहवा, धादिङ, सर्लाही र धनगढीमा ठूलो क्षमताका भण्डारणगृह निर्माण गर्न प्रक्रिया अघि बढाएको हो । यसबाहेक रुकुमको चौरजहारी र तनहुँमा समेत अतिरिक्त भण्डारगृह निर्माण गर्न लागिएको छ ।
प्रादेशिक संरचनाअनुसार तुलसीपुरमा बन्न लागेको भण्डारण गृहको कुल इन्धन (पेट्रोल, डिजेल र मट्टीतेल) मौज्दात गर्न सक्ने क्षमता चार लाख किलोलिटर (४० करोड लिटर) हुने खनालले बताए । यो निर्माण भएमा उपभोक्तालाई तीन महिनासम्म इन्धन अभाव नहुने उनको भनाइ छ ।