पोखरा-स्याङ्जा सुरुङमार्ग माग
स्याङ्जाः पोखराबाट नजिकै भएर पनि विकासको गति लिन नसकेको स्याङ्जाका बासिन्दाले सुरुङमार्ग माग गर्न थालेका छन् । स्याङ्जाको गुणीखोलादेखि कास्कीको छोरेपाटनसम्मको सुरुङमार्ग निर्माण भए विकासले गति लिने उनीहरूको भनाइ छ ।
५० वर्षअघि निर्माण भए पनि सिद्धार्थ राजमार्ग मापदण्डअनुरूप फराकिलो छैन । उक्त राजमार्ग निर्माणपछि मात्र सडक ऐन लागू भएका कारण मापदण्डअनुरूप बन्न नसकेको हो । राजमार्ग फराकिलो बनाउने माग यथावत् राखेर स्याङ्जालीले सुरुङमार्गको योजनासमेत अघि सारेका हुन् ।
ठुल्ठूला औद्योगिक नगरी बुटवल र पोखराको बीचमा परे पनि धेरै घुमाउरो र साँघुरो राजमार्गका कारण स्याङ्जामा यथोचित विकास फस्टाउन सकेको छैन । सिद्धार्थ राजमार्ग २०२२ सालमा निर्माण सुरु गरेर २०२८ सालमा पोखरा-सुनौली राजमार्ग निर्माण सम्पन्न भएको थियो । ०३१ सालमा मात्र सडक ऐन बनेको हुँदा सिद्धार्थ राजमार्ग मापदण्डअनुरूप निर्माण हुन नसकेको छाङ्छाङदी गाविस निवासी पीताम्बर श्रेष्ठ बताउँछन् । सिद्धार्थ राजमार्गको एक सय ८१ किलोमिटरअन्तर्गत स्याङ्जा खण्डमा करिब ७५ किलोमिटर पर्छ ।
सुरुङमार्ग निर्माणपछि एक घन्टा यात्राको दूरी १० मिनेटको हुनेछ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ५ र कास्की-पोखरा १७ छोरेपाटनसम्मको करिब ३० किलोमिटर दूरी सुरुङमार्ग निर्माणपछि करिब पाँच किलोमिटर दूरी छोटिने अनुमान छ । सुरुङमार्ग निर्माणपछि एक घन्टा यात्राको दूरी १० मिनेटको हुने बताइएको छ । स्याङ्जाजस्तो पहाडी मुलुकमा सुरुङमार्ग अत्यन्त प्रभावकारी हुने र गत वर्षको जिल्ला विकास परिषद्ले समेत जिल्लाको गौरवको आयोजनाको रूपमा पारित गरिसकेको जिविसका योजना शाखाप्रमुख यामप्रसाद रेग्मीले जानकारी दिए ।
पोखरानजिकै भएर पनि स्याङ्जामा विकासको प्रभाव परेको देखिँदैन । दूरी नजिक भए पनि भौगोलिक कठिनाइले स्याङ्जा दुर्गमजस्तो भएको छ । ‘मुलुककै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र, मुलुककै पहिलो र ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारक समाधिस्थल, मुलुकमै पहिलो जलाशय यात्रा (स्टिमर) सेवा, सबैभन्दा धेरै सुन्तला उत्पादक जिल्ला, तरकारी, फलफूल, कफी, गोलभेंडा, आलुको राम्रो उत्पादन हुने जिल्ला, दर्जनौं ग्रामीण पर्यटकीय क्षेत्र, साहसिक खेल प्याराग्लाइडिङ र क्यानोइङको सुरक्षित गन्तव्यलगायत दर्जनौ आकर्षक स्थल भएर पनि गुमनाम स्याङ्जालाई चिनाउन पनि सुरुङमार्ग निर्माणको आवश्यकता रहेको सांसद राजु थापाको भनाइ छ ।
सुरुङमार्ग निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको र मन्त्रालयले त्यसको सम्भाव्यता अध्ययन/अवलोकन गर्ने जनाएको सांसद उनले जानकारी दिए । पोखरा र भैरहवामा क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि छोटो दूरीको यात्राका लागि पनि सुरुङमार्ग उपयोगी हुनेछ ।
स्वदेशी एवं विदेशी पर्यटकको पहिलो रोजाइ बनेको पोखरा र लुम्बिनीको धार्मिक एवं ऐतिहासिक यात्राका लागि पनि सुरुङमार्ग अत्यन्तै छोटो र प्रभावकारी बन्ने उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले बताए । सुरुङमार्ग निर्माणपछि जिल्लामा उत्पादित वस्तुले सहज रूपमा बजार पाई जिल्लावासीले प्रत्यक्ष आर्थिक लाभ हासिल गर्ने उनको भनाइ छ ।