कसले हेर्ने रामशेखरलाई ?
काठमाडौः नेपाल भाषाका चर्चित व्यंग्यकलाकार तथा साहित्यकार रामशेखर नकर्मी क्यान्सरबाट पीडित भएर अस्पताल भर्ना भएको एक साता बित्दा पनि राज्य तथा सम्बद्ध पक्षहरू उनको उपचारमा उदासीन देखिएका छन् । नाकको क्यान्सर भएको पत्ता लागेपछि एक सातादेखि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएका नकर्मीको उपचारमा राज्यसम्बद्ध स्रोतले सहयोग नगरेको र उपचारका लागि आर्थिक समस्या परेको परिवारस्रोतले गुनासो गरेको छ ।
भूकम्पश्चात् भक्तपुरस्थित सिद्धि शालिग्राम वृद्धा श्रममा बस्दै आएका नकर्मीले आँखा नदेखेको गुनासोपछि जाँच गराउँदा क्यान्सर लागेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले कलाकार नकर्मीलाई घाँटीको क्यान्सर भएको पुष्टि गरे । नेपाल भाषालाई समृद्ध बनाउन नकर्मीको ठूलो योगदान रहेको नेपाल भाषा साहित्यका जानकारहरूको मूल्यांकन छ । नेपाल भाषा साहित्य तँ मुज्याका सचिव सुरेन्द्रराज गोसाईका अनुसार नकर्मीले पञ्चायतकालमा लेखन तथा निर्देशन गरेका नाटकहरूले तत्कालीन राज्य प्रशासनमा त्रास सिर्जना गर्थे ।
‘प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचगृहका मञ्चहरूमा नकर्मीले निर्देशन गरेका ख्याल, प्रहसन र नाटकको मञ्चन हुँदा पटकपटक गृह प्रशासनले हस्तक्षेप गथ्र्यो', गोसाईंले भने । ६/७ दशकदेखि कलाकारिता र सक्रिय लेखनमा बिताएका साहित्यकारलाई राज्य तथा साहित्य सम्बद्ध सरकारी संस्थाहरूले बेवास्ता गर्नु विडम्बना भएको गोसाईंले उल्लेख गरे । ‘के नेपाल भाषामा मात्र लेख्नु उहाँको अपराध हो ? ' गोसाईंले प्रश्न गर्दै भने, ‘न भूकम्पको बेलामा न अहिले यस्तो अवस्थामा राज्यले उहाँलाई सहयोग गरेको छैन ।'
नेवाः पत्रकार राष्ट्रिय दबूले क्यान्सर पीडित वरिष्ठ कलाकार नकर्मीको उपचारका लागि राज्यस्तरबाट आर्थिक सहयोग गर्न माग गरेको छ । पत्रकार दबूले भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
भूकम्पका कारण घर भत्किएपछि नकर्मी भक्तपुरस्थित सिद्धि शालिग्राम वृद्धा श्रममा बस्न गएका थिए । अचेल उनी भाडाको कोठामा बस्दै आएका छन् । सोमबार नेपाल भाषा तँःमुज्याका अध्यक्ष चन्द्रबहादुर उलकको नेतृत्वमा अस्पताल गएको प्रतिनिधि मण्डलले नकर्मीको उपचार खर्चका लागि रु. एक लाख एक हजार नगद सहयोग गरेको गोसाईले बताए । विसं १९९२ जेठमा जन्मेका कलाकार नकर्मीले आधा दर्जनभन्दा बढी साहित्य नेपाल भाषामा लेखेका छन् ।
नकर्मीका सिमा त फः फः स्व, धिन्ताल, नसंफागु चा अलगायतका नेपाल भाषाका कृतिहरू प्रकाशित छन् । त्यस्तै आधा दर्जनजति नेपाल भाषाको टेलिशृंखला लेखन तथा निर्देशन गरेका छन् । वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठसँगको सहकार्यमा नेपाल भाषाको चर्चित चलचित्र राजमतीको कथा, पटकथा र संवाद लेखेका नकर्मीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा निर्देशित टेलिफिल्म ‘१२ बजे'मा अभिनयसमेत गरेका छन् । २०३० सालको दशकमा राजधानीमा हुने मुनासःमा रामशेखर नकर्मीले लेखेको र निर्देशन गरेको प्रहसन (हास्यव्यंग्य) हेर्न भीड लाग्थ्यो ।