छायांकनमा ग्याङस्टार ब्लुज
काठमाडौः महिनौंपहिले निर्माण घोषणा गरिएको चलचित्र ‘ग्याङस्टार ब्लुज'को बल्ल छायांकन सुरु भएको छ । चलचित्र छायांकनका लागि एक सातापहिले निर्माण टोली नेपालगन्ज पुगेको थियो ।
छायांकनस्थल एवं रहनसहनका बारेमा बुझेपछि सोमबारबाट छायांकन सुरु गरिएको हो । हेमराज बीसीको निर्देशन रहेको यो चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ ।
बाँकेको नेपालगन्जपछि मुगुको रारा ताल र खप्तडमा समेत छायांकन हुने निर्माता सरोज न्यौपानेले बताए । मनिष पण्डित कार्यकारी निर्माता रहेको यो चलचित्रले छायांकनपूर्व ‘हाइप' बनाउन सफल भएको छ ।
जेरीजस्ता सफल चलचित्र निर्देशन गरेका हेमराज र सोही चलचित्रबाट रजतपटमा डेब्यु गरेकी आनाको केमेस्ट्रीको चलचित्र घोषणा भएदेखि नै चर्चा हुन थालेको हो ।
यस चलचित्रबाट डेब्यु गरेका अभिनेता आशिरमान नेपालीलाई चलचित्र क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएको छ । चलचित्र अर्को वर्षको भदौमा रिलिज गर्ने लक्ष्य लिइएको निर्माण पक्षले जनाएको छ ।