प्याब्सनमा चुनावी सरगर्मी

प्याब्सनमा चुनावी सरगर्मी

काठमाडौः निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनमा चुनावी सरगर्मी बढेको छ । सोमबारदेखि राजधानीमा हुने १३ औं महाधिवेसनका लागि दुई समूहले उम्मदेवारी घोषणा गरेर चुनाव प्रचारप्रसारमा लागेका छन् ।

महाधिवेसनमा टीकाराम पुरी र विजय सम्बाहाम्फे समूहले उम्मदेवारी घोषणा गरिसकेका छन् । प्याब्सनमा मुलुकभरका ६ हजार दुई सय नीजि विद्यालय आवद्ध छन् । पुरी समूहले आईतबार पत्रकार सम्मेलन गरेर सुमन गोपाल आचार्यलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाएको छ । ईश्वर गुरुङ र हिरा चन्दलाई खुल्ला उपाध्यक्ष पदको उम्मेदबार बनाएको छ । गोपाल आचार्यलाई महासचिवको उम्मेदबार बनाएको छ ।

सबै पदमा उम्मेदवारको टुंगो लाग्न बाँकी रहेपनि नवराज महतलाई उपत्यका उपाध्यक्ष, कुमार घिमीरेलाई उप महासचिव तथा टंक भट्टराईलाई कोषाध्यक्षको उम्मेबार बनाएको छ । उक्त समूहले संगिता सिलवाललाइ महिला सचिव तथा नवराज ओझा र चित्रकला सुवेदीलाई सह कोषाध्यक्षको उम्मेदवार बनाएको छ ।

सम्बाहाम्फे समूहले पनि यसअघि नै उम्मेदबारी घोषणा गरिसकेका छन् । जसमा डिके ढुंगाना वरिष्ठ उपाध्यक्षको उम्मेदबार बनेका छन् । किशोर गौतम, आशिष श्रेष्ठ र कृष्ण अधिकारीलाई उक्त समूहले उपाध्यक्षको उम्मेदबार बनाएको छ ।

सन्तोषणि न्यौपानेलाइ कोषाध्यक्षको उम्मेदबार बनाउने निर्णय उक्त समूहले घोषणा गरेको छ । राजेन्द्र बानियाले व्यक्तिगत रुपमा महासचिवको उम्मेदबारी घोषणा गरेका छन् । तर उनलाई सम्बाहाम्फे समूहले आफ्नो समूहको महासचिव भनेर प्रचार गरेको छ ।

दुवै ७ सदस्यीय केन्द्रीय समितिका लागि दुवै समूहले अन्य पदमा कसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेको छ । अध्यक्षका प्रत्यासी पुरीले व्यावसायिक व्यक्तिहरुको साझा संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताए । ‘राज्यले बनाउने शिक्षा नितीलाई नीजि विद्यालयमैत्री बनाउन दवाव दिदैं मुलुकभर रहेका साना र मझौला विद्यालयको हितका लागि मेरो ध्यान केन्द्रित हुनेछ' पुरीले भने ।

अध्यक्षका अर्का उम्मेदबार सम्बाहाम्फेले प्याब्सनलाई राजनितिक दलको प्रभावबाट मुक्त राखी पेशागत संगठनको रुपमा रुपान्तरण गर्ने आफ्नो मुख्य जिम्मेवारी रहेको बताए । उनले भने, ‘प्याब्सनलाई चलायमान बनाउन मैले दिर्घकालिन र अल्पकालिन योजना बनाएको छु ।

यस ऐजण्डालाई प्याब्सन आवद्ध सम्पूर्ण व्यक्तिहरुको साझा एजेण्डा बनाएर अघि बढ्नेछु ।'दुई दिनसम्म चल्ने महाधिेसनमा मुलुकभरका दुई हजार प्रतिनिधी सहभागित हुनेछन् । महाधिवेसनको सम्पूर्ण तयारी पुरा भएको प्याब्सन अध्यक्ष लक्ष्यवहादुर केसीले बताए । महाधिवेसनको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नेछन् ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १३औं राष्ट्रिय महाधिवेशन सोमबारदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनबाट मुलुकभर रहेका ६ हजार दुई सय विद्यालयबाट दुई हजारको हाराहारीमा प्रतिनिधि सहभागी छन् । महाधिवेशनले ६७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुईजनाले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । उनीहरूसँगको छोटो कुराकानी ।

‘निजी विद्यालयमैत्री कानुन बनाउन पहल गर्छु'

टीकाराम पुरी, अध्यक्षका दाबेदार
प्याब्सनमा तपाईंको उम्मेदवारी किन ?
२०५४ सालमा पहिलोपटक प्याब्सनको जिल्ला कार्यसमिति मोरङको सदस्य हुँदाखेरि नै मैले प्याब्सनलाई समृद्ध र चलायमान बनाउने केही योजनाहरू बुनेको थिए । यस अवधिमा मैले विभिन्न पद सम्हालेर उपाध्यक्षको समेत चार वर्ष जिम्मेवारी सम्हाले । आफ्नो योजनाअनुसार प्याब्सनका लागि केही हितकारी कामहरू पनि भए । केही मात्र मेरा योजनाहरू कार्यान्वयनको चरणमा गए पनि केही मुद्दाहरू अझै जीवित छन् । यस अवधिमा नयाँ मुद्दा पनि जन्मिएका छन् । जस्तो मुलुक संघीय संरचनामा गएसँगै यसको कार्यान्वयनमा र शिक्षा क्षेत्रमा पुनर्संरचनाको खाँचो छ, त्यसैमाथि निजी शिक्षामा भएको लगानीको सुरक्षाको चिन्ता पनि छ । यिनै मुद्दालाई समाधान गर्न मेरो उम्मेदवारी हो ।

तपाईं विराटनगरमा स्कुल चलाउने मान्छे, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनलाई नेतृत्व दिन समस्या पर्दैन ?
हो, मेरो स्कुल (एभरेस्ट उच्च माध्यमिक विद्यालय) विराटनगरमा छ । तर जिल्ला कार्यसमिति हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी मैले दुई पटक सम्हालिसकेको छु । यस अवधिमा केन्द्रमा सञ्चालित र जिल्लामा सञ्चालित शैक्षिक संस्थाको मुद्दा मैले राम्रोसँग अध्ययन गर्ने मौका पाएको छु । र समग्रमा प्याब्सनका अहिलेका नीतिगत र व्यावहारिक समस्या समाधानको विषयमा पनि अध्ययन गरेको छु । विराटनगरमा स्कुल भए पनि अबको दुई वर्ष मैले केन्द्रमै रहेर प्याब्सनलाई नेतृत्व दिने निर्णय गरिसकेको छु । यही योजनाअनुसार स्कुलको व्यवस्थापन पनि गरिसकेको छु ।

तपाईंको नेतृत्वमा रहेको प्याब्सनको टिममा के फरक विशेषता छ ?
मेरो टिममा रहेका उम्मेदवारहरू समावेशी हुनुहुन्छ । पदाधिकारीको महत्ववपूर्ण जिम्मेवारीमा उपत्यका र बाहिरका जिल्लाका साथीहरूलाई उम्मेदवार बनाएको छु । त्यसबाहेक उहाँहरू कुनै न कुनै रूपमा प्याब्सनको विभिन्न तहमा रहेर कुशलतापूर्वका जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो मैलेमात्र भनेको होइन, सिंगो प्याब्सनिष्ट मित्रहरूले पनि यसको प्रशंसा गर्नु भएको छ ।

प्याब्सनका अहिलेका मुख्य समस्याहरू के के हुन् ?
प्याब्सनलाई प्राज्ञिक व्यक्तिहरूको साझा संस्था बनाउनुपर्ने अहिलेको मुख्य समस्या छ । प्राज्ञिक व्यक्तिहरूको उपस्थित भयो भने मात्र यसले अवलम्बन गर्ने शिक्षा नीति, सरकारी तहमा यसले दिने सुझाव आदि पनि प्रभावकारी रूपमा कार्यान्वयनमा जान्छन् । तर अहिले यो जति हुनुपर्ने हो त्यति भएको छैन । निजी शैक्षिक संस्थामा पढाउने शिक्षकहरूलाई तालिम दिनुपर्ने, शैक्षिक क्यालेन्डर बनाएर प्याब्सन र यसका गतिविधिलाई सोहीअनुसार अघि बढाउनुपर्ने लगायतका केही कामहरू अझै पनि प्याब्सनमा हुन बाँकी छ । साथीहरूले मलाई अध्यक्षमा रोज्नुभयो भने मेरो कार्यकालमा यस योजनालाई मूर्तरूप दिने योजना बनाएको छु ।

तर अहिले प्याब्सनमा नेतृत्व चयनको नाममा राजनीति घुस्यो भन्ने आरोप लाग्न थालेको छ नि ?
अहिलेको समयमा विचार र सिद्धान्त नभएको व्यक्तिको कुनै अर्थ छैन । कुनै संस्थालाई नेतृत्व दिने भनेकै विचार र सिद्धान्तको आधारमा हो । तर प्याब्सनजस्तो शिक्षाको मन्दिरभित्र पसेर कुनै अमुक राजनीतिक दलको विचार र सिद्धान्तलाई लाद्न खोज्नु गलत हो । कुनै व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध होलान्, तर उनीहरूले आफ्नो राजनीतिक सिद्धान्त र विचार मतदान गर्ने बेलामा मात्र प्रकट गर्नुपर्छ । प्याब्सनभित्र रहेर यस्तो क्रियाकलाप गर्न मिल्दैन । मेरो एकमात्र लक्ष्य प्याब्सनलाई शिक्षाको पवित्र मन्दिर बनाउने हो । जसरी मन्दिर प्रवेश गर्दा छालाजन्य वस्तुबाहिरै फुकाल्नुपर्छ, प्याब्सनमा जाँदा पनि राजनीतिक विचार र सिद्धान्तलाई बाहिरै छोड्नुपर्छ ।

‘प्याब्सनको विरासतलाई कायम राख्छु',

विजय सम्बाहाम्फे अध्यक्षका उम्मेदवार

आफूलाई किन प्याब्सनमा अध्यक्षको उम्मेदवार बनाउनुभयो ?
मैले सर्वप्रथम २०५० सालमा प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंमा प्रतिनिधि भएर प्याब्सनमा आबद्धता जनाएको थिएँ । त्यसपछि विभिन्न समयमा विभिन्न पदमा बसेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छु । यस अवधिमा मैले प्याब्सनलाई राम्रोसँग मूल्यांकन गर्ने मौका पाएँ, यस संस्थाका वर्तमान समस्या केके छन् यसलाई समाधानमा कसको भूमिका कति रहेको छ लगायतका विषयमा अध्ययन गरेको छु । र सोहीअनुसार यस पवित्र संस्थालाई चलायमान बनाउन विभिन्न योजना बनाएर अघि बढेको छु । यसलाई मूर्तरूप दिन प्याब्सनमा मेरो नेतृत्व अपरिहार्य छ ।

तपाईंका प्रतिबद्धताहरू के के छन् ?
मैले अध्यक्षमा निर्वाचित भएपछि गर्ने विभिन्न कार्यहरू समेटेर १७ बुँदे प्रतिबद्धता पत्र जारी गरिसकेको छु । जसअन्तर्गत प्याब्सनलाई समृद्ध, विज्ञ तथा प्राज्ञिक संगठन बनाउने, प्याब्सन सदस्य विद्यालयहरूको शैक्षिक विकास, लगानीको सुरक्षा, हकहितको संरक्षण, संवद्र्धन, स्थायित्व, निन्तरता र प्रगति, सरकारका सम्बन्धित निकायहरूमा प्याब्सनको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्र्ने, नेपाललाई शैक्षिक पर्यटनको रूपमा विकास गर्ने लगायतका योजना बनाएको छु । त्यसबाहेक प्याब्सनको सबै तह तप्कामा विश्वासको वातावरण निर्माण गरेर साहसिक र जुझारु युवा नेतृत्वको विकास गर्र्ने, मोफसलमा स्थापित निजी तथा आवासीय विद्यालयलाई सुलभ ऋणका लागि आन्तरिक स्रोतको व्यवस्थापन गर्ने लगायतका प्रतिबद्धता पनि मैले जाहेर गरेको छु ।

प्याब्सनभित्र रहेको अहिलेको समस्या के हो ?
निजी तथा आवासीय विद्यालयहरूले भोग्नुपरेका शैक्षिक एवं प्रशासनिक अप्ठ्याराहरूलाई समाधान गर्नका लागि प्याब्सनले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन, विद्यालयका संस्थापक प्रिन्सिपल तथा शिक्षक कर्मचारीहरूको वृत्ति विकासका लागि आवश्यक तालिम, भ्रमण तथा उत्प्रेरणा प्रदान गर्ने खालका कार्यक्रमको व्यवस्थापनको समस्या पनि अहिले प्याब्सनमा छ । त्यसबाहेक प्याब्सनमा सांगठिनक संरचना परिवर्तनको खाँचो छ । जसलाई समाधान गर्न प्रशासन, परीक्षा, पाठ्यपुस्तक, छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप लगायतका विभाग गठन गरेर संगठनलाई चलायमान बनाउनुपर्ने आजको आवश्यकता छ ।

प्याब्सनमा प्यानलै बनाएर निर्वाचनमा जाने परिपाटीले गर्दा राजनीतिक दलको भ्रातृ संगठनजस्तै भयो भन्ने आरोप लाग्न थालेको छ नि ?
एउटा कुरा के चाहिँ सत्य हो भने प्याब्सनलाई भर्या ङ बनाएर राजनीति गर्न चाहनेहरूको समूह यहाँ थुप्रै छन् । अहिले पनि संगठनको नाममा राजनीति गर्नेहरू छन् । त्यही भएर पनि प्याब्सनको नाममा राजनीति भयो भन्ने आरोप लागेको हुन सक्छ । तर राजनीति जसले जसरी गरे पनि प्याब्सनको हितका लागि भने कसैले पनि चासो दिएनन् । तर मेरो एकमात्र प्रतिबद्धता के छ भने प्याब्सन भनेको शिक्षाको पवित्र मन्दिर हो, यसलाई कुनै पनि हालतमा राजनीतिको रङ छर्नु हुँदैन । हाम्रा अग्रजहरूले गठन गरेको यस संस्थाका विरासतलाई कायम राख्नु आजको मुख्य चुनौती बनेको छ । यी सबै चुनौतीलाई सामना गर्न सक्ने नेतृत्वको आवश्यकता अहिले परेको छ । यी सबै चुनौतीको सामना गर्न सक्ने एकमात्र उम्मेदवार म हुँ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.