निकुञ्जले शिवपुरीबाट जोगीहरू धपायो

निकुञ्जले शिवपुरीबाट जोगीहरू धपायो

काठमाडौंः शिवपुरी क्षेत्रमा ध्यानसाधना गरेर वर्षौं बिताएका केही साधु तथा योगीलाई शिवपुरी निकुञ्ज प्रशासनले महाशिवरात्रिको पूर्वसन्ध्यामा त्यहाँबाट हट्न आदेश दिएको छ ।

बाग्मतीको मुहान वागद्वार क्षेत्र, तीनचुले तथा तारकेश्वरमा लामो समयदेखि ध्यान, साधना र तपस्या गरिरहेका साधु तथा योगीलाई शिवपुरी राष्ट्रिय निकुञ्ज प्रशासनले त्यहाँबाट हट्न आदेशसहित केही दिनअघि पत्र पठाएको हो । निकुञ्ज प्रशासनले सुक्खा समयमा निकुञ्ज क्षेत्रमा आगलागी हुन सक्ने कारण देखाउँदै फागुन पहिलो सातादेखि शिवपुरी क्षेत्र छाडी अन्यत्र जान साधुलाई निर्देशन दिएको हो । निकुञ्जको इतिहासमा यो पहिलो त्यस्तो आदेश हो । निकुञ्ज प्रशासनले जोगीले गाँजा खानेलाई प्रोत्साहित गरेकाले हट्न आदेश दिइएको बताएको छ ।

निकुञ्ज प्रशासनले शिवपुरी चुचुरोमा २३ वर्षदेखि ध्यानसाधना गरिरहेका ‘टोड्के बाबा'को कुटीमा टाँसेको पत्रमा लेखिएको छ, ‘सुक्खा समयमा निकुञ्ज क्षेत्रमा आगलागी हुन सक्ने कारणले सुक्खा समयमा निकुञ्ज क्षेत्रमा बसी पूजा गर्ने, ध्यान गर्नेलगायत कार्य मानवीय सुरक्षाका दृष्टिले संवेदनशील भएकाले उक्त धार्मिक क्षेत्रमा भएका तपाईंहरूसमेतका व्यक्तिहरू फागुन पहिलो सातादेखि उक्त क्षेत्र छाडी अन्यत्र जान आदेशानुसार अनुरोध छ ।'

वागद्वारनजिकै रूखको एक टोड्कामा बसेर २३ वर्षदेखि ध्यानसाधना गरेकाले ‘टोड्के बाबा'का नामले परिचित शिवपुरी बाबाका शिष्यको कुटीमा शिवपुरी राष्ट्रिय निकुञ्जबाट खटिएका सैनिक जवानले फागुन २ गते त्यहाँबाट हट्न सूचना टाँस गरेका थिए ।

धेरै वर्षसम्म शिवपुरी बाबाले तपस्या गरेको शिवपुरीमा १ सय ३७ वर्षको उमेरमा ०१९ सालमा देहत्याग गरेका ती तपस्वीको प्रतिमा पनि छ । सोही प्रतिमानजिक ध्यान-साधना गरिरहेका टोड्के बाबा निकुञ्जको आदेशपछि काठमाडौं झरेका छन् ।

भारतीय मूलका साधु टोड्के बाबा, काठमाडौं मूलपानीका ओमबाबा, वागद्वारकै गुम्बामा ध्यानसाधना गरिरहेका केही साधकलगायतलाई निकुञ्ज प्रशासनले त्यहाँबाट हटाएको छ । वागद्वारबाट केही टाढा तीनचुलेस्थित कुटीमा रहेका एक साधकलाई पनि निकुञ्ज प्रशासनले हट्न आदेश दिएको छ । तीनचुलेस्थित उक्त कुटीमा विभिन्न समयमा योगी गएर ध्यान र तपस्या गर्छन् ।

त्यस्तै, शिवपुरी डाँडाको पश्चिमी भागमा रहेको तारकेश्वरमा तपस्या गर्ने कालीबाबाका केही शिष्यलाई पनि निकुञ्ज प्रशासनले हट्न आदेश गरेको छ । तारकेश्वरमै रहेको अन्य आ श्रमलाई भने निकुञ्ज प्रशासनले कुनै आदेश जारी गरेको छैन ।
किंवदन्तीअनुसार परापूर्वकालमा भगवान् शिव परिभ्रमण गर्ने भएका कारण यो डाँडाको नाम शिवपुरी रहेको हो । यसलाई साधनाका लागि तपस्वीहरू पवित्र स्थान मान्छन् ।

निकञ्ज क्षेत्रमा आगलागी हुन सक्ने कारण देखाउँदै फागुन पहिलो सातादेखि शिवपुरी क्षेत्र छाडी अन्यत्र जान साधुलाई निर्देशन दिइएको छ । 

टोड्के बाबाका अनुसार निकुञ्ज प्रशासनले बेलाबेला उनलाई यहाँ मानिसलाई बास नदिन आग्रह गरे पनि पहिलोपटक हट्न निर्देशन दिएको बताए । हिन्दी मिसिएको नेपालीमा बोल्ने टोड्के बाबाले भने, ‘भुलेभट्केका वा ध्यान-तपस्या गर्न आएका जिज्ञासुलाई वा बासको खोजीमा आउनेहरूलाई म कहिलेकाहीँ मेरो कुटीमा आ श्रय दिन्छु, मानवीयताको कारण पनि मैले मानिसलाई यहाँ नआऊ भन्न मिल्दैन ।'

शिवपुरी राष्ट्रिय निकुञ्जका प्रमुख कमलजंग कुँवरले भने शिवपुरीमा ध्यान गरिरहेका जोगीलाई सुरक्षा दृष्टिले त्यहाँबाट हट्न आग्रह गरिएको बताए । ‘जोगीहरू बसेका ठाउँमा गाँजा खाने मान्छे धेरै आउन थाले, आगलागी बढ्यो, त्यही भएर सुरक्षा दृष्टिले फागुनदेखि जेठसम्मका लागि उनीहरूलाई त्यहाँबाट हट्न आग्रह गरेका हौँ,' कुँवरले भने, ‘हाम्रो उनीहरूप्रति अरू कुनै आग्रह÷पूर्वाग्रह होइन ।' कुँवरले जोगीहरूले राम्रो बानी सिकाउनुपर्नेमा गाँजा खान सिकाउन नहुनेसमेत बताए । ‘टोड्के बाबाले युवालाई गाँजा खुवाएको, खराब बानी सिकाएको कारण हामीले त्यहाँबाट जोगीहरूलाई हट्न भनेका हौँ,' कुँवरले भने ।

टोड्के बाबाले भने शिवपुरी क्षेत्रभित्र वन, रिसोर्ट, गुम्बा र थुप्रै स्थायी संरचना भएको तथा त्यहाँ विभिन्न कारणले विभिन्न व्यक्ति आउने गरेको र उनीहरूको आचरणका लागि आफूमाथि दोष लगाउनु अन्याय भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.