बिरामीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड
धरान: बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले विजयपुर अस्पतालमा तोडफोड गरेका छन्। आन्द्रामा एपेन्डिक्स भएपछि अप्रेशनका लागि सोमवार भर्ना भएका धरान–१७ का ३१ वर्षीय अमित जोशीको मंगलवार अप्रेशन सफल भएपछि मृत्यु भएको हो।
उपचारका क्रममा अस्पतालमै मृत्यु भएपछि पीडित परिवार र आफन्तले वियपुर अस्पतालमा भेला भएर नारा जुलुस गर्दै तोडफोड गरेका हुन्। तोडफोडका क्रममा अस्पताल अगाडि पट्टीको झ्याल र ढोकाको सिसा फुट्नुका साथै आकस्मिक कक्ष र काउण्टरमासमेत क्षति पुगेको छ। मृतकका आफन्तले पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल अगाडि नाराजुलुस गरिरहेका छन्।
आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्न थालेपछि इलाका प्रहरी कार्यालय धरानले अस्पतालमा प्रहरी परिचालन गरेको छ। मृतककी श्रीमती संगिता जोशीले चिकित्सकको लापरवाहीका कारण श्रीमानको मृत्यु भएको आरोप लगाइन्। उनले श्रीमानको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग गरेकी छिन्। मृतकका आफन्तले अस्पताल प्रशासनले न्याय नदिएसम्म शवसमेत नबुझ्ने बताएका छन्।
मृतकका आफन्तले अस्पतालमा अगाडि भेला भएर ढुङ्गामुढा गर्दै हस्पिटल तोडफोड गर्न थालेपछि हस्पिटल प्रशासनले सबै स्वास्थ्य सेवा बन्द गराएको छ। मृतकका आफन्तले चिकित्सकको लापरवाहीले अमितको मृत्यु भएको भन्दै पीडित परिवारलाई २० लाख क्षतिपूर्ति, नाबालिका दुई छोरीहरुको लालनपालनको व्यवस्था र उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन्।
जोशीको उपचारमा संलग्न चिकित्सक डा. रोशन खतिवडाले अप्रेशन सफल भएको ४ घण्टापछि विरामीले हाछिऊ गर्ने क्रममा थुक सर्किर फोक्सोमा जम्मा भई स्वाशप्रस्वाश बन्द भएका कारण बिरामीको मृत्यु भएको बताए। उनले बिरामीको उपचारमा चिकित्सकको तर्फबाट कुनै प्रकारको लापरवाही नभएको बताए। अस्पताल प्रशासनले तोडफोड गरेका कारण अस्पतालको नियमित सेवा सुचारु गर्न नसकिएको जनाएको छ।