महावीर पुन भन्छन् : आविष्कार केन्द्र बन्यो भने नेपाल कोरिया र जापानजस्तै बन्छ
इटहरी : एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई इटहरीमा आयोजित कार्यक्रममा एक विद्यार्थीले प्रश्न गरे, ‘राष्ट्रिय आविष्कार केन्द्र बन्यो भने देशको आर्थिक स्थिति कसरी सुध्रिन्छ ? ’
पुनले मुसुक्क हाँसेर भने, ‘देश कोरिया, जापानजस्तो बन्छ।’ उनले थपे, ‘यस्तै आविष्कार केन्द्र खोलेरै जापान तथा हाम्रैजस्तो अवस्था भएको कोरिया अहिले विदेशबाट कामदार आयात गर्नेसम्मको अवस्थामा पुगेको छ।’
विज्ञान तथा प्रविधि विकासका लागि आविष्कार केन्द्र खोल्ने योजनामा देश तथा विदेश दौडाहामा रहेका उनले रातारात देशको आर्थिक अवस्था भने नसुध्रने बताए। समय लाग्ने बताउँदै उनले भने, ‘विज्ञान, प्रविधिमा ध्यान दिएको ३०–४० वर्षपछि नेपाली युवा काम खोज्दै विदेश जाने क्रम रोकिन्छ, नेपालको अवस्था निकै सुध्रिन्छ।’
केही दिनयता पूर्वीनेपालका विभिन्न जिल्लाको भ्रमणमा रहेका पुनले आविष्कार केन्द्रसम्बन्धी परिकल्पनासमेत सुनाएका थिए। आविष्कार केन्द्र चलाउन ५० करोड रुपैयाँ जुटाउने र त्यसले १० मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गर्ने बताए। जलविद्युत्बाट उत्पन्न विद्युत् बेचेरै केन्द्र सञ्चालन गर्ने योजना सुनाइरहँदा कार्यक्रममा सहभागी अर्का युवाले जिज्ञासा राखे, ‘जलविद्युत् बन्न धेरै वर्ष लाग्छ, तपाईं बीचमै मर्नुभयो भने अभियान कसले चलाउँछ ? ’
पुनले हाँस्दै प्रत्युत्तरमा समयले सबै मिलाउने बताए। ‘यो कुरा धेरैले मुखैले नभए पनि मनले सोध्छन्,’ उनले भने, ‘तर समयले सबै मिलाउँछ, त्यसको चिन्ता गरेर कामै नगर्ने होइन।’ उनले आफूले २५ वर्ष समाजसेवा गरेको बताउँदै अहिले भने देशको आर्थिक विकासमा केन्द्रित भएको जानकारी दिए। उनले समाजसेवा र विकास फरक कुरा भएको बताउँदै समाजसेवाले मात्र देश नबन्ने विचार व्यक्त गरे।
देशमा आविष्कारकलाई प्रोत्साहित गर्ने गरी आविष्कार केन्द्र खोल्ने योजना सरकारसँग राखे पनि सहयोग नपाएपछि पुन अहिले आफ्नो अभियानबारे बुझाउन घुमिरहेका छन्। आफूले पैसा संकलन गर्न थालेपछि फेसबुक तथा फोनबाट धेरैले चासो र जिज्ञासा व्यक्त गरेको र आफू उत्साहित रहेको बताए।
ताप्लेजुङ, पाँचथर, मोरङ घुमेर इटहरीमा नागरिक समाज र उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा आयोजित कार्यक्रममा दुई घन्टा खर्चेका पुनलाई तत्काल सवा लाख रुपैयाँ सहयोगसमेत जुट्यो। भेला भएका विद्यार्थी, युवा, शिक्षक, पत्रकार तथा समाजसेवी सहभागी कार्यक्रममा कस्तुरी कलेज र सुष्मा कलेजले २६–२६ हजार रुपैयाँ दिए। यस्तै, ध्रुव सुब्बाले २५ हजार, रामचन्द्र अधिकारीले ११ हजार, ज्ञानेन्द्र अधिकारीले १० हजार, सर्वध्वज साँवाले पाँच हजार रुपैयाँ दिने घोषणा गरेका थिए।
देशका विकट ठाउँमा इन्टरनेट सेवा पुर्याएर उदाहरणीय काम गरेको भन्दै म्याग्सेसे पुरस्कार दिइएका पुनले नेपालभर इन्टरनेट पुर्याउन सकिने योजनासमेत प्रस्तुत गरे। नेपाल सरकारसँग १४ अर्बको ग्रामीण दूरसञ्चार कोष जम्मा भएर रहेको बताउँदै उनले सो रकमको परिचालन गरे देशका सबै वडामा इन्टरनेट पुर्याउन सकिने बताए। ‘कुहिएर बसेको त्यो पैसा खर्च गरेर नसकिँदै देशभर इन्टरनेट पुग्छ,’ उनले भने, ‘तर अहिलेसम्म कुनै पनि मन्त्रीले त्यस्तो साहस गरेनन्।’
देशका नेता जिम्मेवार नभएकाले आफैंले अभियान थालेको बताउँदै पुनले राजनीतिक दलका नेता तथा सरकारले वास्ता नगरेको समेत गुनासो गरे।