प्रहरीलाई घूस खुवाउन भन्दै ठग्ने पक्राउ

प्रहरीलाई घूस खुवाउन भन्दै ठग्ने पक्राउ

राजविराज: प्रहरीलाई घूस खुवाउन भन्दै ठगी गर्ने एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सप्तरीको शम्भुनाथ-१ खोक्सर प्रबाहकी ३० वर्षीया ललितादेवी साहलाई पक्राउ गरेको हो ।

शम्भुनाथ नपा १० की रञ्जिताकुमारी मण्डलको बेल्ही चपेना गाविस ४ का दीपेन्द्र मण्डलसँग प्रेम सम्बन्ध भई घरपरिवारको सल्लाहमा विवाह गर्ने सहमति भएको थियो । सहमतिअनुरूप रञ्जिताको परिवारले उनकै घरमा डेरा गरी बस्ने दीपेन्द्रको पढाइ खर्चका लागि पाँच लाख रुपैयाँ दिएको रञ्जिताले बताइन् ।

दाइजो स्वरूप पैसा लिएर पनि दीपेन्द्रको विवाह अन्तै भएपछि रञ्जिताको परिवारले उनीसँग आफूहरूले दिएको रकम फिर्ता मागे ।रकम फिर्ता नपाएपछि रञ्जिता उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुगिन् । त्यही क्रममा उनको भेट ललितासँग भयो । त्यसपछि उनीहरूबीच गाउँमै पनि बारम्बार भेट हुन थाल्यो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका बेला भेट भएकी ललिताले प्रहरीमा आफ्नो चिनजान भएको भन्दै रवाफ देखाइन् । उनले पैसा फिर्ता गराई दिने आश्वासन दिँदै त्यसका लागि प्रहरीलाई घूस खुवाउनु पर्ने विश्वास दिलाइन् । पाँच लाख रकम फिर्ता पाउने आसमा रञ्जिताले पटकपटक गरी ललितालाई ३४ हजार पाँच सय रुपैयाँ दिइन् तर ललिताको आश्वासन झुटो थियो ।

जिल्ला प्रहरी कार्यालय धाएबापत दैनिक आतेजाते खर्च पाँच सय र प्रहरीलाई दिनुपर्ने भन्दै पटकपटक गरेर रञ्जितासँग उनले ३४ हजार पाँच सय रुपैयाँ लिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।केही दिनसम्म ललिताले प्रहरीलाई पैसा दिएको, काम हुन्छ भनेर झुक्याई रहिन् । यसबारे थाहा पाएपछि अधिकारकर्मीले प्रहरी उपरीक्षक दिवेश लोहनीसँग गुनासो गरेपछि ललितालाई झिकाएर सोधपुछ गरियो । उनले भनेका प्रहरीलाई उभ्याएर सोधपुछ गर्दा ललिताले प्रहरीलाई पैसा नदिएको स्वीकारिन् । उनले पैसा फिर्ता गराउन पहल गरे पनि कसैलाई पैसा नदिएको भन्दै आफूले लिएको सम्पूर्ण पैसा फिर्ता गर्ने भनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ललिताविरुद्ध ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दलालबाट सावधान भन्दै ४८ वटै प्रहरी इकाईमा चेतनामूलक सूचना बोर्ड राखेको सप्तरी प्रहरीले कसैले प्रहरीका नाममा ठगी गरेमा तत्काल सूचना दिन अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.