कालिञ्चोकमा केबलकार निर्माण तीव्र
चरिकोट: दोलखाको धार्मिक एवं प्राकृतिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । लापिलाङ गाविसको कुरीमा मुख्य स्टेसन रहने सो केबलकारको भौतिक संरचना धमाधम बनिरहेको छ । केही महिनाअघि जिल्ला वन कार्यालय दोलखाले आफूहरूलाई जानकारीविनै संरचना निर्माण गरेको भन्दै अवरोध गरेको थियो ।
गुठी संस्थानसँग अनुमति लिएको र कालिञ्चोक मन्दिर गुठी संस्थानमातहत रहेको भन्दै निर्माण कम्पनीले भौतिक संरचना तीव्र गतिमा बनाइरहेको छ । कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको उक्त केबलकारको भौतिक संरचना निर्माण करिब २० प्रतिशत सम्पन्न भएको प्रोजेक्ट म्यानेजर रामचन्द्र आचार्यले जानकारी दिए । उनले टावरका लागि फाउन्डेसन निर्माण अन्तिम चरणमा पुगेको बताए । मेनस्टेसनको टावर र २ नम्बर टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको र दुई वटा टावरको मात्र फाउन्डेसन तयार हुन बाँकी रहेको म्यानेजर आचार्यको भनाइ छ । केबलकारको बाहिरी टावर ८ वटा हुने जनाइएको छ ।
२६ करोड लगानीमा निर्माण भइरहेको उक्त केबलकारमा दुई वटा गोण्डुला हुनेछन् । गोण्डुलाको क्षमता १२ जनाको रहेको र एक दिनमा १२ सयले ओहोर–दोहोर गर्न मिल्ने खालको छ । गोण्डुलासहित करिब ८० प्रतिशत सामान विदेशबाट झिकाइएको केबलकार सञ्चालक बालकृष्ण शिवाकोटीले जानकारी दिए । उनले अहिलेकै गतिमा निर्माण भए दसैंसम्म केबलकार सञ्चालनमा आइसक्ने बताए । उनका अनुसार अरू केही सामान मात्र ल्याउन बाँकी छ । काठमाडौंबाट नजिकको जिल्ला दोलखामा निर्माण भइरहेको केबलकार पूर्वीपहाडी इलाकामै पहिलो हुने सञ्चालक शिवाकोटीको भनाइ छ । केबलकारसँगै सुविधासम्पन्न रिसोट पनि सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
लोडसेडिङ नहुने जिल्लामध्ये पर्ने दोलखामा ठुल्ठूला कम्पनी भित्र्याउन आफूहरू लागिपरेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताए । जिल्लालाई समृद्ध बनाउन जलविद्युत् र पर्यटन नै प्रमुख रहेको उनको भनाइ छ । कालिञ्चोकमा निर्माण भइरहेको केबलकारले लगानीकर्ता भित्र्याउन सहज हुने उनले बताए । उनले केबलकारसँगै स्टार होटल पनि खुल्न आवश्यक रहेको औंल्याए । पछिल्लो समय कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि भारतीय पर्यटक पनि आउने गरेका छन् ।उनीहरूलाई उकालो चढ्न समस्या हुने भएकाले पनि केही धर्मावलम्बी मन्दिरसम्म नपुगी बीचबाटै फर्कने गरेको स्थानीय व्यवसायीको भनाइ छ ।