राप्रपा सन्देश
हिजोका ‘पञ्च’ र अहिले अर्थात् २०६३ भन्दा पहिला मुलुकमा भएका सबै कमीकमजोरी र विकृतिको दोषीका रूपमा ‘अग्रगामी’ हरूको आलोचनाको सिकार बन्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी उसको ‘एकता’ सम्मेलनपछि नयाँ रूपमा देखा परेको छ । सीमित रूपमै भए पनि उसले आन्तरिक प्रजातन्त्रको अभ्यास गरेको छ, विभिन्न तहमा ।
पार्टीका महत्वपूर्ण मार्गनिर्देशक सिद्धान्तमा उसले ती तहका कार्यकर्ताका मत, मान्यता र प्रतिबद्धता संकलन पनि गरेको छ । ०६३ को राजनीतिक परिवर्तनको नतिजा र मार्ग स्पष्ट भएपछि पञ्चहरू बाँडिए, कोही ‘गणतान्त्रिक’ धारमा लागे, कोही लागेनन् । तर स्वघोषित प्रगतिशील र ‘अग्रगामी’ शक्तिहरूले दुवै समूहलाई एकै किसिमले हेरि नै रहे, यद्यपि सत्ताप्रेरित त्यो राजनीतिमा सरकार गठनमा संख्या कम हुँदा राप्रपाका विविध समूहले स्थान पाइ नै रहे । ‘एकता’ सम्पन्न भएपछि पनि राप्रपाको उपस्थिति सरकारमा छ अहिले र सम्भवतः ‘एकता’ को मान्यता र मर्मको आलोकमा त्यसबारे उसले निर्णय लिनुपर्नेछ, आगामी केही दिनमै ।
पाँच वर्षअघि पनि पूर्वपञ्चहरूको एकता प्रयास नभएको हैन । तर ‘संवैधानिक राजतन्त्र’ लाई बदलिएको परिस्थितिमा सूर्यबहादुर थापाले नस्विकारेको र कमल थापाले छोड्न नचाहेको अवस्थामा त्यो एकता हुन सकेन । कमल थापाले दोस्रो संविधानसभामा खुलेरै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गरे अनि संविधानसभाभित्रको चौथो ठूलो दलको हैसियतमा पु¥याए, आफ्नो पार्टीलाई । एकताका क्रममा ती पुराना मुद्दा नउठेका हैनन्, तर पार्टी केन्द्रीय समितिको निर्वाचनमा विजयी अनुहारसँगै केन्द्रीय महाधिवेशनपूर्वका भेलाहरूमा ‘तल्लो’ स्तरका पार्टी पंक्तिले आफ्ना मान्यता स्पष्टसँग राखेका छन् र त्यसलाई बेवास्ता गर्न सम्भवतः अब कठिन हुनेछ, नेतृत्वको लागि ।
हरेक पार्टी आफ्ना हिजो र वर्तमानको नीति समीक्षा र परिवर्तन गर्न स्वतन्त्र हुन्छ, तर राजनीतिक दलका समझदार नेतृत्व तात्कालिक फाइदामा सीमित नरहने अपेक्षा गरिँदैन । निर्वाचित भइसकेपछि थापाले दुईतिहाई स्थान संसद्मा हासिल भएमा राजसंस्था फर्काउने र हिन्दु राष्ट्र घोषणा गर्ने अभिव्यक्ति दिएका छन् । गठबन्धनको संस्कृतिमा प्रवेश गरेको नेपालमा बिना कुनै लहर कुनै दलले दुईतिहाई बहुमत ल्याउने सोच्न सकिन्न । तर निर्वाचनपूर्व दलका नेतृत्व र जनताबीचको अन्तरसम्बन्धमा उसले आफ्ना मुद्दालाई कसरी उठाउँछ र आफ्ना मान्यताबारे कति प्रतिबद्धता देखाउँछ, त्यो महत्वपूर्ण हुने गर्छ ।
राप्रपा चौथो दलको रूपमा देखा पर्न सफल भयो सबैले खेदेको केही वर्षमै भने त्यसको एउटै कारण छ, उसको नेतृत्वले आफ्ना मान्यतामा आधारित मुद्दा लिएर आम जनमानससमक्ष गयो । त्यस अर्थमा आगामी दिनहरू उसका लागि चुनौतीपूर्ण हुनेछन् । त्यस्तै संविधानलाई स्विकारेर भित्रबाटै त्यसमा आमूल परिवर्तन ल्याउँछु भन्ने पार्टीहरू अक्सर असफल भएका छन् अतीतमा ।
एकीकृत पार्टीको लागि त्यो पनि चुनौती बन्न सक्छ भोेलि । जनता र मुलुकका समस्याको उचित पहिचान, सम्बोधनको लागि परिआउँदा जनपरिचालन र निर्वाचनमा समर्थन हासिल गर्ने माहोल कसरी उसले निर्माण गर्ला, त्यसले राप्रपाको भोलिका सफलता या असफलता निर्धारित गर्नेछ ।