साहित्य उत्सवमा वर्ग र वर्णका कुरा

साहित्य उत्सवमा वर्ग र वर्णका कुरा

काँकडभिट्टा: सत्ताबाहिर रहेको नेकपा एमालेका नेता घनश्याम भुसाल र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता आहुति नेपालका राजनीतिक दलले लगाउने गरेका वर्ग उत्थानका नारा पूरा हुन नसकेकोमा सहमत देखिएका छन् । रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सव २०७३ को दोस्रो दिनको अन्तरसंवादमा उनीहरू त्यसरी सहमत भएका हुन । उनीहरूका पार्टीमा वर्ग उत्थानका कुरा हुन्छन् । वर्ग संघर्षका कुरा चल्छ । नारा उस्तै छन् । तर संघर्ष अलगअलग छन् ।

एउटै मञ्चमा देखा परेका यी दुई फरक पार्टीका नेताका कुरा सुन्न आएकाहरूलाई राजनीतिक दलले वर्गसँगै वर्णको पनि उत्थानमा लाग्नुपर्ने बताए । उनीहरूको वर्णको परिभाषामा जातीय उत्पीडनमा परेका दलित भनिएकाहरूप्रति लक्षित थियो । ‘झापा विद्रोहको नेतृत्वकर्ता एमालेका उपल्लो जातिका मान्छेहरू कम्तीमा सांसदसम्म भए । तर त्यही विद्रोहमा होमिएका पानवीर विश्वकर्मा केही भएनन् । किन ? उनको बारेमा बोलिदिने कोही भएनन्’, आहुतिले भने । एमालेका नेता घनश्याम भुसालले अब समुदायलाई उठाउन त्यस्ता समुदायका मानिसको आर्थिक स्थिति उकास्न जरुरी रहेको तर्क गर्दै भने, ‘आर्थिक समृद्धि बिना कुनै पनि वर्ग वा वर्णका मानिसको उन्नति हुँदैन ।’ राजनीतिक पार्टीहरूले दलितलाई कमिटीमै राख्न नचाहेको पनि आरोप लगाए ।

कला साहित्य उत्सवमा शुक्रबार भाषा विवादका विषयमा पनि बहस चल्यो । बहसमा नेपाली भाषाका ज्ञाता केदार शर्मा, पत्रकार तथा विश्लेषक चन्द्रकिशोर तथा साहित्यकार राजन मुकारुङ सहभागी थिए । मुकारुङले भाषा सुधार्ने र बिगार्ने खेलले नेपाली भाषालाई कमजोर बनाएको बताए । ‘कसैलाई भाषा बिगारेर होस् वा सपारेर नयाँ शब्दकोश बेच्नु छ त कसैलाई पुरानै शब्दकोश बेच्नु छ । यो सब जुंगाको लडाइँ हो’, उनले भने । उता शर्माले भाषा गतिशील हुनाले यस्ता कुराहरू आइरहने बताए । चन्द्रकिशोरले आगन्तुक शब्द नेपाली भाषामा समावेश गर्ने हो नेपालमै अन्य भाषाबाट त्यस्ता शब्द ल्याए त्यस्ले भाषिक सौन्दर्य बढाउने बताए ।

शुक्रबार कला लेखन र प्रकाशन, नेपाली समाजमा वर्ग र वर्ण, भाषाको राजनीति, दक्षिण एसियाको बौद्धिक परम्परा, नेपाली साहित्यको पात्र विधान, इतिहास, साहित्य र राजनीति विषयहरूमा छलफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.