बटौलीले चोला फेरेछ
बुटवल: तत्कालीन द्वन्द्वको समयमा 'शान्तिका लागि शिक्षा' नारासहित सांगीतिक अभियान चलाएको नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ शुक्रबार बिहान घामसँगै बुटवलमा फुटबल सिक्दै गरेका ससाना खेलाडीसँग देखिए । बुटवलको एन्फा एकेडेमीमा फुटबल सिकिरहेका २७ जना विद्यार्थीलाई उपहार बोकेर उनी त्यहाँ पुगेका थिए । 'सफलता पाउन आफ्नो काम आफैंले गर्नुपर्छ, अरूले गरिदिएर हुँदैन', विद्यार्थीलाई खेलकुद सामग्री दिँदै गुरुङले भने ।
शनिबार हुने सांगीतिक कार्यक्रमका लागि लोक रक ब्यान्ड नेपथ्य टोली बुटवल आएको हो । 'एकताको लागि संगीत' नारासहित रूपन्देहीको वनकट्टामा रहेको द्वन्द्वपीडित अनाथ बालबालिका आ श्रमलाई सहयोग गर्न कन्सर्ट हुन लागेको हो । कार्यक्रमको व्यवस्थापन एस नेपालले गरेको छ । यसअघि पनि सांगीतिक कार्यक्रम लिएर दुई पटक बुटवल झरेका गायक अमृतले बुटवल निकै परिवर्तन भएको बताए । शुक्रबार पत्रकारसँग गाफिएका उनले द्वन्द्वपछिको सुन्दर सहरका रूपमा बुटवल स्थापित भएको बताए ।
'द्वन्द्वपछिको शान्तिले ल्याएको समृद्धिका क्रममा सिंगो बुटवलले फेरेको चोला देख्दा मन रमाउँछ', अमृतले भने, 'त्यसैले बुटवलमा आफूलाई प्रस्तुत गर्न नेपथ्य लालायित छ ।' आधुनिक सहर भए पनि बुटवलले बटौलीको संस्कृति भुल्नु नहुने बताए । बुटवलको साइनो नुन किन्नेसँग रहेको स्मरण गर्दै उनले भाषा र संस्कार जोगाउन सबै लाग्नुपर्ने बताए । आफ्नो एक गीतमा बुटवलको प्रसंग रहेको उनले सुनाए ।
यानीमाया, बटौलीको बजारमा, यानीमाया
यानीमाया, चुरेटाको दोकान, यानीमाया' ।
नेपथ्यले यसअघि 'सुन्दर शान्त नेपाल', 'शान्तिको लागि शिक्षा' जस्ता सांगीतिक अभियानका क्रममा बुटवलमा पटकपटक आफ्नो प्रस्तुति दिइसकेको छ । 'द्वन्द्वको समयमा शान्ति र विद्यालयलाई हिंसामुक्त बनाउन आवाज बोकेर प्रस्तुत भएका थियौं,' अमृतले स्मरण गरे, 'अब चाहिँ त्यही मञ्चमा नेपथ्यले आफूलाई व्यावसायिक हिसाबबाट उभ्याउँदैछ ।'
द्वन्द्व एउटा खराब सपना भएको भन्दै उनले त्यस्ता घटना दोहोरिन दिन नहुने बताए । 'विद्यालयको प्रांगणहरू बालबालिकाका लागि हुनुपर्छ, यसलाई कसैले नछोइदिन आग्रह छ', उनले थपे ।
बुटवलमा शनिबार हुने कन्सर्टबाट हुने मुनाफाको रकम 'अभियान नेपाल चाइल्ड होम' को सहयोगार्थ प्रदान गरिने आयोजक सन्तोष टण्डनले जानकारी दिए । कन्सर्टमा नेपथ्यले आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ । कार्यक्रममा गायक अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले साथ दिनेछन् ।