भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी वासिङटन जाने
नयाँ दिल्ली: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च अधिकारीसँग छलफल र परामर्श गर्न भारतीय विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी यसै महिनाको अन्त्यसम्ममा वाशिङ्गटन भ्रमण गर्ने भएका एक भारतीय उच्च अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा हालै मात्र ट्रम्प प्रशासनले अमेरिकी ब्यापारिक वा अन्य संस्थाहरुले विदेशी प्राविधिक वा विशेष शीपयुक्त कर्मचारीलाई काममा लगाउन कठीन हुने प्रकृतिको विधेयक प्रस्तावना गरेको छ ।
यदि यस विधेयक अमेरिकी काङ्ग्रेसबाट पारित भएमा भारत वा अन्य मुलुकका प्राविधिक वा विशेष ज्ञान तथा शीप हासिल गरेका निपुण कर्मचारी समान योग्यताका अमेरिकीहरु सरह काम गर्न पाउने छैनन् ।
यस्तै तथा अन्य विषयमा उच्च पदस्थ अमेरिकी कर्मचारी संयन्त्रसँग छलफल र परामर्श गर्ने उद्देश्यले भारत सरकारका विदेश सचिब एस. जयशंकर जाने भएको हो।
साथै, केही दिन अघि क्यान्सास राज्यको एक रेष्टुराँ क्यान्सास सिटी बारमा एक जना अमेरिकी सन्काहाले कुनै उद्देश्य बिना जथाभावी गोली प्रहार गरेर अमेरिकामा कार्यरत एकजना भारतीय इन्जियरको हत्या गरेको र अर्कोलाई सख्त घाइते तुल्याएको हुँदा भारतीय विदेश सचिबले विदेशी कर्मचारीको सुरक्षाको प्रबन्ध बारे चासो राख्ने पनि छलफलको विषयबस्तु रहने जानकारी दिइएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता बिकास स्वरुपले विदेश सचिबको वासिङ्गटन भ्रमण बारे विस्तृत विवरण खुलाउन चाहेनन् । तर समाचार श्रोतका अनुसार विदेश सचिब जयशंकरले अमेरिकी विदेश मन्त्रालयका कार्यबाहक उप-बिदेशमन्त्री टम श्यानन र अन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रशासन सम्हाल्न शुरु गर्नु भएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्ता दिइ सक्नु भएको थियो। रासस/एपी