कांग्रेसमा कोलाहल
नेपाली कांग्रेस मुलुकमा हाल सक्रिय राजनीतिक दलहरूमध्ये सबभन्दा पुरानो र स्पष्ट मान्यता, सिद्धान्त र कार्यक्रम बोकेको पार्टी हो । त्यसको इतिहास र गतिविधिले नेपालमा प्रजातन्त्रको स्थापना या पञ्चायतको उदारीकरण र राष्ट्रियता तथा प्रजातान्त्रिक शक्तिहरूबीचको सहकार्यमा आधारित ०४७ को संविधान ल्याउने जस्ता महत्वपूर्ण कार्य या उपलब्धि हासिल भएका थिए। कांग्रेसको शिथिलता या उसले बाह्य निर्देशनमा बढी निर्भरता अनि बाह्रबुँदेपछिको राजनीतिमा माओवादीको एजेन्डालाई बिनाबहस अपनाएपछि नेपालमा राष्ट्रियता र प्रजातन्त्र दुवैमा संकट आइलागेको हो, विगत १० वर्षमा । यस अवधिमा कांग्रेसको सैद्धान्तिक र वैचारिक धार मृत हुन पुगेको हो ।
कांग्रेस स्थापनादेखि महत्वपूर्ण हरेक संघर्षमा नेतृत्वदायी भूमिका खेलेका त्यसबेलाका जीवित एक मात्र नेता कृष्णप्रसाद भट्टराईले कांग्रेसले राजनीतिक एजेन्डा आयात गरेको आरोपका साथ पार्टी छोड्नुको अर्थ (०६३ भदौमा) खोज्ने साहस कांग्रेसमा अहिलेसम्म कसैले नदेखाउनुले स्पष्ट पार्छ कि कांग्रेसमा न इतिहासप्रति गर्व छ न वर्तमान र भविष्यप्रति कुनै सोच । त्यस अर्थमा कांग्रेस संसदीय दल तथा पार्टीको नेतृत्वमा एक वर्षअघि विजय हासिल गरेका शेरबहादुर देउवासँग अझै पनि एउटा अवसर छ, पार्टीलाई विचार, सिद्धान्त र बीपी, गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईले रचेको र हिँडेको मार्गमा अगाडि बढेर अनि राष्ट्रमा आएको संवैधानिक र राजनीतिक संकट तथा आफ्नै विगत १० वर्षको गल्तीको समीक्षा तथा सुधार गरेर । पार्टी जब नीति, सिद्धान्त र त्यसमा आधारित कार्यक्रममा बाँधिन्छ र इतिहासको गौरव र भविष्यप्रतिको प्रतिबद्धताबाट निर्देशित हुन्छ, त्यो जीवन्त हुन्छ र जनताको आदरको पात्र हुन्छ । आन्तरिक प्रजातन्त्र र आवधिक आन्तरिक निर्वाचन हुने दलहरूमा गुट–उपगुटहरू स्वतः निरुत्साहित हुन्छन् ।
विगत एक वर्षमा पार्टीमा महत्वपूर्ण सांगठनिक पदपूर्ति नहुनु र महत्वपूर्ण तथा नीतिगत विषयमा संस्थागत मान्यता निर्धारित गर्न केन्द्रीय समिति बैठक नहुनु पार्टी थप कमजोर बन्ने प्रवृत्तिको निरन्तरता हो । कांग्रेसमा स्पष्ट देखिने गरी कमसेकम चार ‘गुट’ हरू देखिनुले चार गुटको योग नै पार्टी हो भन्ने मान्यता बढ्दै गएको छ, पार्टीका विभिन्न तहमा पनि । शनिबार पार्टीभित्र रामचन्द्र पौडेल गुटको बैठकमा पार्टीको सदस्यता नलिएका व्यक्तिहरूलाई राजदूत बनाएकोमा देउवाको आलोचना भएको छ । यसको अर्थ हो पार्टीभित्र आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्ने नेतामा पनि त्यही दरिद्रता छ ।
राजदूत पद, पार्टीका सदस्यहरूका लागि भर्ती केन्द्र हैन, त्यो मुलुकको हित र छविलाई बाहिर स्थापित गर्न उपयुक्त पात्रहरू पठाइनुपर्ने ठाउँ हो । वैकल्पिक नेतृत्वको दरिद्रता र लोभले पार्टीलाई सुदृढ बनाउँदैन । सत्ता समीकरणमा तात्कालिक आवश्यकताबाट निर्देशित भई कुनै निर्णय लिनु एउटा विषय हो, तर मुुलुकको सार्वभौमसत्ता र स्वतन्त्र हैसियतमा आँच आउने गरी जारी राजनीति, बाह्य हस्तक्षेप तथा कांग्रेसकै इतिहास र सान्दर्भिकता लोप हुने गरी लिइएका निर्णयबारे कांग्रेस सचेत छैन र समीक्षा गर्न तयार छैन भने उसको सान्दर्भिकता सकिँदै गएको अर्थ लाग्नेछ ।