रहेनन् कलाकार नकर्मी
भक्तपुरः नेपालभाषाको साहित्य, नाटक तथा चलचित्रको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व रामशेखर नकर्मीको सोमबार बिहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ८१ वर्षीय नकर्मी लामो समयदेखि दम, मधुमेह र प्रोस्टेटबाट पीडित थिए ।
१९९२ साल जेठमा भक्तपुर नगरपालिका ६ इनाचोमा जन्मेका नकर्मीले आधा दर्जनभन्दा बढी पुस्तक नेपालभाषामा लेखेका थिए । आधा दर्जनजति नेपालभाषाका टेलिशृंखला लेखन तथा निर्देशन गरेका उनले साहित्यकार दुर्गालाल श्रेष्ठसँगको सहकार्यमा नेपालभाषाको चर्चित चलचित्र राजमतीको कथा, पटकथा र संवाद लेखेका थिए । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा निर्देशित टेलिफिल्म १२ बजे, १५ गते र लक्ष्मीमा अभिनयसमेत गरेका थिए ।
चलचित्र लोभीपापी र वीर गणेशमानमा अभिनय गरेका नकर्मीले टेलिफिल्म दलन, ‘घडेरी बाबु', नेपालभाषाको चलचित्र ‘याँमिखा' लगायतमा अभिनय गरेका थिए । बाबुआमाले आफ्नो पुख्र्यौली पेसा सिलाइमै सीमित गर्न चाहे पनि नकर्मी कला क्षेत्रमा आएका थिए ।
२०३० को दशकमा राजधानीमा हुने मुनासः मा रामशेखर नकर्मीले लेखेको र निर्देशन गरेको प्रहसन हेर्न भीड लाग्थ्यो । नकर्मीले सिमातः फ फस्व (रूखहरू पनि लजाए), नसंचागु फा (फाटेको रात) लगायत कृति लेखेका छन् । नसंचागु फा जापानी भाषामा समेत अनुवाद भएको छ । यसका लागि उनले गंकी बसुन्धरा पुरस्कार पाएका थिए । उनले नेपालभाषाका झोक्कमनिम्ह, न्हिसुतु, पःखालगायत टेलिफिल्म लेखन तथा निर्देशन गरेका थिए ।
पछिल्लोपटक उनले नेपालभाषाको चलचित्र ‘चकना' निर्देशन गरेका थिए । कलाकार नकर्मीको अन्तिम संस्कार सोमबार भक्तपुरको हनुमानघाटमा गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालबाट दूधपाटी, भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी हुँदै जन्मठाउँ इनाचोसम्म नकर्मीको शवयात्रा गरिएको थियो । रामशेखर जनताको दुःख र भावनालाई जस्ताको तस्तै अभिव्यक्त गर्नसक्ने क्षमता भएका साहित्यकार र कलाकार मानिन्छन् । नकर्मीका चार छोरा र चार छोरी छन् ।