ओस्कारमा महाभूल
चलचित्र क्षेत्रका लागि विश्वमै सबैभन्दा ठूलो, कौतुहलपूर्ण र प्रतिष्ठित मानिने ओस्कार अवार्डको ८९औं संस्करण महाभूल बेहोर्दै सोमबार सम्पन्न भएको छ । यस वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड बेरी जेनकिन्स निर्देशित ‘मुनलाइट'ले प्राप्त गरेको छ । यो चलचित्रलाई सर्वोत्कृष्ट चलचित्र घोषणा गर्नुभन्दा अगाडि मञ्चमा महाभूल भएको हो ।
सर्वोत्कृष्ट चलचित्रको लागि सुरुमा डेमियन चाजेल निर्देशित ‘ला ला ल्यान्ड' को नाम घोषणा गरियो । पहिलेदेखि यो अवार्डको दाबेदार मानिएको यस चलचित्रले अवार्ड पाउँदा कार्यक्रममा उपस्थितमात्रै होइन प्रत्यक्ष प्रसारण हेरिरहेका विश्वभरका दर्शकले अनौठो मानेनन् । सो चलचित्र निर्देशक, निर्माता तथा कलाकारहरू मञ्चमा आए र अवार्ड ग्रहण गरे ।
एकअर्कोमा अंकमाल गरेर खुसी साटे । तर अवार्ड लिएर निर्देशक डेमियनले सम्बोधन गर्दागर्दै उनलाई बीचमै रोकेर अवार्ड फिर्ता मागियो । त्यसपछि सर्वोत्कृष्ट चलचित्र मुनलाइट भएको भन्दै अवार्ड प्रदान गरियो ।
यो कुनै ठट्टा थिएन । नाटक मञ्चनजस्तै लागे पनि वास्तविक थियो । ‘गल्ती भयो' भनेर माफी मागियो । त्यसलाई स्वीकार्नु सिवाय अन्य पनि विकल्प थिएन । कार्यक्रम सञ्चालक वारेन्ट बिटीको हातमा भूलवश गलत विधाको खाम परेकाले यस्तो भूल भएको बताइएको छ । भूल थाहा पाएपछि उनी केहीबेर अवाक भएका थिए । अवार्ड हातमा लिएर पनि फिर्ता दिनु पर्दा ‘ला ला ल्यान्ड' टिम र त्यस्तो महाभूल गर्दा आयोजकले जुन लज्जा बेहोरे ओस्कारको मञ्चमा यसअघि यस्ता घटना सायदै भएको थियो ।
सर्वोत्कृष्ट चलचित्रको अवार्ड फिर्ता गर्नुपरे पनि ‘ला ला ल्यान्ड' का लागि डेमियन चाजेलले उत्कृष्ट निर्देशक र एम्मा स्टोनले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारे । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘म्यान्चेस्टर बाइ द सी'बाट क्यासे एफ्लेकले हात पार्न सफल भए । सोही चलचित्रले ओरिजनल स्क्रिनप्लेको अवार्ड पनि हात पारेको छ ।
लस एन्जलसको डल्बी थिएटरमा आयोजना भएको ओस्कार अवार्डको यस संस्करणमा १४ विधामा मनोनयनमा परेको चलचित्र ला ला ल्यान्डले सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, छायांकार, स्कोर, गीत र प्रोडक्सन डिजाइन गरी ६ विधामा अवार्ड हात पार्न सफल भयो ।
चलचित्र मुनलाइटबाटै महर्शाला अलीले सहअभिनेता, चलचित्र फेन्सेसबाट भिओला ड्याभिसले सहअभिनेत्रीको अवार्ड हात पार्न सफल भए । त्यसैगरी चलचित्र ‘जुटोपिया'ले एनिमेटेट चलचित्र, चलचित्र ‘फ्यान्टास्टिक विट्स एन्ड ह्वेर टु फाइन्ड देम'ले कस्टुम डिजाइन, चलचित्र ‘ओ जे मेड इन अमेरिका'ले कथानक वृत्तचित्र, चलचित्र ‘द ह्वाइट हेलमेटस'ले छोटो वृत्तचित्र, चलचित्र ‘ह्याक्स रिज्ड'ले चलचित्र सम्पादन र ‘साउन्ड मिक्सिङ', चलचित्र ‘द सेल्समेन'ले विदेशी भाषी चलचित्र, चलचित्र ‘सुसाइड स्क्वायड'ले मेकअप र हेयरस्टाइल, चलचित्र ‘पिपर'ले सर्ट एनिमेटेड, चलचित्र ‘एराइभल'ले ध्वनि मि श्रण एवं चलचित्र ‘द जंगल बुक'ले भिजुअल इफेक्टसको अवार्ड हात पार्न सफल भएको छ ।
ओम पुरीको सम्झना
ओस्कार अवार्ड वितरण समारोहमा बलिउडका दिवंगत अभिनेता ओम पुरीलाई श्रद्धाञ्जलि दिएको थियो । एक विशेष प्रस्तुतिसहित उनलाई श्रद्धाञ्जलि दिइएको थियो । हलिउडमा समेत आफ्नो पहिचान बनाएका सफल बलिउड स्टार थिए उनी ।
ओस्कार अवार्डको यस संस्करणमा बलिउड अभिनेत्री प्रियंका चोपडा निकै ‘हट एन्ड सेक्सी' रूपमा उपस्थित भएकी थिइन् । सिल्भर कलरको पहिरनमा देखिएकी उनी आफ्नाको स्टार ड्याने जनसनसँग रेड कार्पेटमा देखिएकी थिइन् । यसअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ‘योजनामा परिवर्तन, हामी आइपुग्यौं ओस्कार, मिक ज्याकर..ला..ला.. ल्यान्ड।' भन्दै तस्बिर पोस्ट् गरेकी थिइन् । प्रियंकाका लागि यो पहिलो ओस्कार अनुभव भने होइन । ८८औं संस्करणमा उनले सर्वोत्कृष्ट चलचित्र सम्पादनको अवार्ड प्रदान गरेकी थिइन् ।