स्ववियु निर्वाचन

 स्ववियु निर्वाचन

आठ वर्षको अन्तरालपछि त्रिभुवन विश्वविद्यालयका आंगिक महाविद्यालय र केन्द्रीय क्याम्पसमा निर्धारित तालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेन, सबै ठाउँमा । अर्थात् कुल ६० आंगिक क्याम्पसमध्ये २१ मा मात्र निर्वाचन सम्पन्न भयो भने सम्बन्धन प्राप्तमा पनि अधिकांशमा हुन सकेन ।

निर्वाचन भएका र बिथोलिएका अधिकांश क्याम्पसहरूमा वातावरण तनावपूर्ण रहेको र कतिपयमा हिंसाका घटना हुनुले ज्ञान र मान्यताका आधारमा शास्त्रार्थ हुनुपर्ने ठाउँमा शस्त्रप्रेरित प्रवृत्ति हावी रहेको पुष्टि भएको छ । यसले क्याम्पस र त्यहाँको शिक्षा पद्धतिको अपूर्णता देखाउँछ । स्याङ्जामा एकजना उम्मेदवारले पराजयपछि आत्महत्या गरेको दुःखद समाचार आएको छ ।

यो घटनाको छानबिन भएपछि आत्महत्याको वास्तविक कारण खुल्नेछ, तर यसलाई तत्काल हेर्दा प्रजातन्त्रमा पराजय र विजय जनमतद्वारा निर्देशित फैसला हुनु र त्यसलाई स्वीकार नगर्नु अथवा त्यसमा ग्लानिबोध गर्नु प्रजातन्त्रको सर्वोपरि मान्यता स्वीकार नगर्नुसरह हो । पार्टीका नीति, कार्यक्रम र प्रजातान्त्रिक संस्कारबाट भन्दा व्यक्तिगत रूपमा नेताबाट प्रभावित भई राजनीतिमा आउने युवा पुस्तामा पराजयको अर्थ र सन्देश स्विकार्ने संस्कार निर्माण हुनु नसक्नु अस्वाभाविक हैन ।

आफू दीक्षित भएको पार्टीको ‘व्यवहार' अनुसार निर्वाचनमा विजयीहरूले मुड्की बटारेर ‘लालसलाम' या ‘जय नेपाल' को अभिवादनले मतदातालाई सम्बोधन गर्नेछन्, आगामी केही दिनसम्म । तर त्यससँगै उनीहरूले निर्धारित सबै क्याम्पसमा चुनाव सम्पन्न नहुनु, चुनावी वातावरण बन्न नसक्नु र हिंसाका घटना हुनुलाई गम्भीरताका साथ लिँदै त्यसको आत्मसमीक्षा र आन्दोलन गर्दै हिंसालाई पूर्णरूपमा त्याग्ने प्रतिबद्धता जनाएनन् भने भोलिको सम्भावित राजनीतिक नेतृत्व वर्गको चरित्र अहिलेको भन्दा फरक हुने छैन ।

मुलुकले राजनीतिक नेतृत्वको चरित्रमा विश्वसनीयता र कार्यसम्पादनमा पारदर्शिता अनि राष्ट्रिय र प्रजातान्त्रिक मूल्य मान्यतामा पूर्ण प्रतिबद्धता खोजेको बेला वैकल्पिक राजनीतिका सम्भावित समूह त्यही पुरानै कुप्रवृत्ति र कुसंस्कारको सिकार या निरन्तरताको वाहकको रूपमा देखा पर्नु खेदपूर्ण हो ।

जे होस्, आंशिक रूपमा भए पनि निर्वाचितहरूले भोलिका दिनमा त्यही कुसंस्कारयुक्त नेतृत्वको आदेशपालकका रूपमा काम गर्लान् या क्याम्पसमा उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न र तिनीहरूलाई दलीय राजनीतिको अखडा बन्नबाट रोक्लान्, त्यसले मात्र उनीहरूको विजयको सान्दर्भिकता स्थापित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.