लुट २ को खल्लो कथा
चार वर्षअघि चलचित्र ‘लुट' निर्माण गरेर रजतपटमा उदाएका निश्चल बस्नेतले नेपाली चलचित्र निर्माणको परम्परागत शैलीमा नै परिवर्तन ल्याए । उक्त चलचित्र हेर्न हलमा दर्शकको लर्को नै लाग्यो । नयाँ स्वाद दिएर लुटले अधिकांश दर्शकको मन जित्यो । यसको सिक्वेल ‘लुट २'बाट पनि दर्शकले फरक स्वादको ठूलो अपेक्षा गरेका थिए । निश्चलले चार वर्षअघिको त्यो जादुलाई कायम राख्ने प्रयत्न गरे पनि ‘लुट २' त्यसमा चुकेको छ । ‘लुट' एउटा ‘एस्प्रेसो सट्'जस्तो थियो भने यसको सिक्वेल केवल ‘कालो चिया'जस्तो भएको छ ।
चार वर्षको अवधिमा नेपालमा नाकबन्दी, भुइँचालो, कालोबजारीजस्ता थुप्रै घटना भए । निर्देशक निश्चल बस्नेतले ती घटनालाई चलचित्रमा समेटेका छन् । लुटमा बैंक लुटेर जेल परेका गोफ्ले (दयाहाङ राई), नरे (कर्मा), देवेन (प्रतीकराज न्यौपाने) र पाण्डे (सुशीलराज पाण्डे) भुइँचालोको फाइदा उठाउँदै जेलबाट फरार हुन्छन् । आफूहरूलाई धोका दिएर जेल पुर्याउने हाकु कालेसँग बदला लिन उसको खोजीमा लाग्छन् ।
चलचित्र उद्योगमा सिक्वेल खासै चल्दैन् । तर पनि लुट २ अझै उत्कृष्ट बन्न सक्थ्यो । त्यो सम्भावना चुकाइएको छ ।
हाकुकालेको जीवनस्तर भने निकै माथि उठेको छ । ऊ अहिले भट्टीमा बस्दैन, आरामदायी जीवन व्यतीत गर्छ । पुतली (सिर्जना सुब्बा)सँगको उनको रोमान्सले पनि चलचित्रमा सुन्दरता थपिदिएको छ । तर, रोमान्स र प्रेममा हुनुपर्ने जुन आगो हुन्छ, त्यो देख्न पाइँदैन । गोफ्लेको अभिनय र संवाद धेरैलाई हँसाउन सफल छ ।
हुन त चलचित्र उद्योगमा सिक्वेल खासै चल्दैनन् । तर पनि लुट २ अझै उत्कृष्ट बन्न सक्थ्यो । त्यो सम्भावना चुकाइएको छ । चलचित्रको कमजोर पक्ष भनेको कथा हो । केही दृश्य निकै भद्दा छन् । चलचित्र तन्काउनकै लागि ती दृश्य राखिएजस्तो लाग्छ । चलचित्रमा हाकुकालेलाई बढी प्राथमिकता दिइएको छ । हाकुकालेकै कारण अरू पात्र ओझेलमा परेजस्तो देखिन्छ ।
लुटमा जस्तो सस्पेन्स लुट २ मा देखिँदैन । त्यसैले पहिलाजस्तो दर्शकमाझ जादु कायम गर्न लुट २ चुकेको छ । कतिपय घटनाक्रम त मानिसले सजिलै अनुमान गर्नसक्ने खालका छन्, जसले कथाको कौतूहलता नै मेटिदिन्छ । चलचित्रको छायांकन पक्ष भने उत्कृष्ट छ । ‘ठमेल बजार' बोलको गीतले जताततै धूम मच्चाएको छ ।
चलचित्रमा सुधार गर्ने ठाउँहरू प्रशस्त पाइन्छन् । कथालाई करबलले तन्काउन नखोजेर अन्य पात्रलाई अलि बढी भूमिका दिई चलचित्र अघि बढाइएको भए थप उत्कृष्ट बन्न सक्थ्यो । चाहिनेभन्दा बदी स्पाइसिस हाल्न खोजिएको छ । त्यसले कथा भद्दा बनाएको छ । लुटको जस्तै जादुको अपेक्षा बोकेर उत्साहित भई हलसम्म जानेहरू चलचित्र हेरिसकेपछि नाक खुम्च्याउँदै फर्कने धेरै भेटिन्छन् । मनोरञ्जनकै लागि मात्र जाने हो भने त्यति धेरै निराश पार्दैन ।