फलो फोकसको होली हंगामा
काठमाडौं : रङ र विजयको पर्व मानिने होली पर्वले अनौठो उत्साहको सञ्चार गर्दछ। होली पर्व तराईदेखि पहाड र हिमालसम्म उत्साहपूर्वक मनाउने गरिन्छ।
फागुपूर्णिमा पनि भनिने होली पर्व आउन साता दिनमात्रै बाँकी छ। होलीका संकेतहरू देखिन सुरु भइसकेका छन्। पछिल्लो समय होलीलाई अझ उत्साहपूर्वक मनाउने चलन बढ्दै गएको छ। हरेकले अनेक कार्यक्रम आयोजना गरेर मनाउने चलनजस्तै बनिसकेको छ। यस क्रममा फलो फोकस प्रालिले गत वर्षझैं यस वर्ष पनि धूमधामका साथ होली पर्व मनाउने भएको छ।
फलो फोकसले होली पर्वलाई विशेष मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने संस्थाकी निर्देशक मनिता ढुंगेलले बताइन्। गत वर्ष फलो फोकसले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा बाबु बोगटी, यश कुमार, डीजे नेवाले दर्शकलाई नचाएका थिए। यस वर्ष मार्च १२ मा नक्साल ब्याक्केटमा आयोजना हुने ‘कलर क्यार्निभल सिजन २’ कार्यक्रमका आकर्षणका रूपमा गायक नवीन के भट्टराई, सन्देश श्रेष्ठ, अञ्जिल रेग्मीलगायत कलाकार रहेका छन्।
कलाकारसँग दर्शकले रङको मज्जा लिन पाउने कार्यक्रमको सञ्चालन रेडियो तथा टेलिभिजन प्रस्तोला निकिता आचार्य र निशा पाठकले गर्नेछन्। गत वर्षको कार्यक्रमको सफलताले यस वर्ष पनि कलर क्यार्निभल सिजन २ आयोजना गर्न हौसला मिलेको निर्देशक ढुंगेलले बताइन्।