दुखायो बुख्याँचा मनले
काठमाडौः समाजमा दलित भन्ने वर्ग नभइदिए कस्तो हुँदो हो ? दलित बनाइएकाहरूले मान्छे भएर बाँच्न पाउने कि नपाउने ? ‘सर्वनाम थिएटर'को मञ्चमा यी र यस्तै प्रश्न उभ्याएका छन् रंगकर्मी राज शाहले । शाहको लेखन तथा निर्देशनमा नाटक ‘बुख्याँचा मन' मञ्चन सुरु भएको छ । बर्सेनि कहिले मन्दिर पसेको निहुँमा, कहिले पधेँरो छोएको त कहिले प्रेम, विवाह गरेको निहुँमा दलितमाथि आक्रमण भइरहेको छ ।कतै त हत्यासम्म भएको दुःखद खबरसमेत सुन्नुपरेको छ।
मानिसको स्वरूप भएर पनि उनीहरूलाई मानिस भएर बाँच्न दिइएको छैन । प्रेम गर्ने मानवीय अधिकार पनि खोस्ने गरिन्छ । प्रेम गरेकै कारण अनेकन् समस्या झेल्न बाध्य बनाइन्छ । शरीर र स्वरूपले मानव भए पनि मानिस हुनुको अस्तित्वबोध गर्न नपाएका दलितको जीवनलाई बुख्याँचासँग तुलना गरेका छन् नाटककार शाहले । मानव स्वरूप धारण गरेर बुख्याँचाजस्तो भावनारहित भएर बाँचिरहेकाहरूको कथा नाटकमा छ । समाजमा उपल्लो जात भनिएका र तल्लो जात भनिएकाको द्वन्द्वले प्रेमको हत्या गरिरहेको सन्दर्भ नाटकको केन्द्रीय विषय हो ।
थिएटरको वरिपरि बाटैदेखि राखिएका बुख्याँचा हेर्दै भित्र पस्दा नाटकका पात्र मात्र नभई आफैँ पनि बुख्याँचा भएजस्तो लाग्छ दर्शकलाई । नाटक हेरिरहँदा ‘समाजमा भइरहेको विभेदको साक्षी भएर पनि हामीले के-कति परिवर्तन गर्न सक्यौँ ? ' भन्ने प्रश्नले घोचिरहन्छ । सामाजिक संरचनाले कसैलाई बुख्याँचा बनाइएको छ भने अधिकारप्राप्त तहमा भएकाहरू स्वयं बुख्याँचा बनिरहेका छन् । समाजको तस्बिरलाई नाटकले चोटिलो रूपमा प्रस्तुत गरेको छ।
राज शाहको लेखन तथा निर्देशनमा नाटक ‘बुख्याँचा मन’ मञ्चन सुरु भएको छ । समाजमा उपल्लो र तल्लो जात भनिएकाले द्वन्द्वले प्रेमको हत्या गरिरहेको सन्र्दभ नाटकको केन्द्रीय विषय हो ।
धेरै साजसज्जा नगरिएको साधारण मञ्चमा पनि बलियो प्रस्तुति दिन सकिन्छ बन्ने उदाहरण बनेको छ यो नाटक । विचारले टुक्रिएको समाजलाई मञ्चले प्रस्ट्याएको छ । मञ्चको एक भागको भित्तामा मसिनो धागो बाँधिएको छ भने अर्को भित्तामा धागोभन्दा अलि मोटा कपडाका टुक्राले बाँधिएको छ । कथित उपल्लो जातिलाई जनैको धागोले संकेत गरिएको छ । लुगा सिलाउने सूचीकारलाई अर्कोपट्टि बाँधिएका कपडाका टुक्राले अंकित गरिएको छ ।
पश्चिम नेपालको गण्डक क्षेत्रको लवज टिपेर त्यही भेगको सामाजिक अवस्थालाई नाटकमा पस्किएको छ । सोही भेगमा दसैँमा धारिलो हतियार प्रयोग गरेर नाचिने सरायँ नेपाली नाटकमा पहिलो पटक प्रयोग भएको छ । सरायँ नाच सिक्न धेरै दिनको अभ्यास परेको कलाकारले बताए । सूचीकारको भूमिकामा देखिएका राजले बजाएको पन्जे बाजाको दमाहाले नाटकमा मौलिक स्वाद दिएको छ । पन्चे बाजाका तीन बाजा नाटकमा प्रयोग भएको छ । सोही क्षेत्रको दोहोरी गीतलाई समेटेर नेपाली संस्कृतिको सुन्दर प्रस्तुति दिइएको छ ।
राजले करिब साढे दुई वर्ष लगाएर लेखेको नाटकलाई नयाँ कलाकारसँगको कुशल संयोजनमा प्रस्तुत गरेका छन् । नाटकमा आदित्य शर्मा, सुशील गैरे, सुदर्शन अर्याल, शर्मिला नगरकोटी, प्रकाश केसी, नवीनचन्द्र अर्याल, नितान्त दाहाल, विनोद खत्री, विवेश आचार्य, सुजिता अधिकारी, रिनेक्स बस्नेत, आरोही शर्मा, सुजन पौडेल, सगुन तामाङ, रोशन अर्याल र पंकज पौडेलको अभिनय छ । नेपाली गाउँले समाजको परिवेशलाई टपक्कै टिपेर गहकिला विषयवस्तु उठान गर्ने रंगकर्मीका रूपमा चिनिएका राजको यसअघिको नाटक ‘जिम्दा सपना' ले पनि त्यत्तिकै चर्चा कमाएको थियो । नाटक चैत १२ गतेसम्म मञ्चन हुने बताइएको छ ।