रोचक प्रसंगहरू
शंकाले हराउँछ
नेपोलियन बोनापार्ट त्यो महान् योद्धाको नाम हो जसले अस्तव्यस्त फ्रान्सलाई ठीकठाक पारे र प्रगतिपथमा हिँडाए । बोनापार्ट एक अधिकारीका रूपमा सेनामा प्रवेश गरेका थिए, पछि आफैंले आफैंलाई फ्रान्सको राष्ट्रप्रमुख घोषणा गरे । उनको सफलताको कारण आत्मविश्वासलाई लिइन्छ । उनी अति नै आत्मविश्वासी थिए । उनको आत्मविश्वासको झल्को यो प्रसंगमा पाइन्छ ।
एकपटक उनले आफ्ना सेनापतिलाई एक युद्ध लड्न सुझाए, जहाँ विपक्षी सेनाको संख्या झन्डै तीन गुणा थियो । सेनापतिले भने, ‘जर्नेल विपक्षी सेनाको संख्या हाम्रोभन्दा तीन गुणा बढी छ तैपनि तिमी युद्ध लड्न भन्छौ । हामीले जित्न मुस्किलप्रायः छ ।'
नेपोलियनले जवाफ दिए, ‘तिमी अहिल्यै हारिसक्यौ सेनापति किनभने तिमीले विजयमा शंका गर्यौ । छाड यो युद्ध म आफैं लड्छु ।'
अन्त्यमा नेपोलियनले युद्ध जितिछाडे ।
जगको ढुंगा
भारतीय राजनीतिज्ञ लालबहादुर शास्त्री ठूला समाजसेवी थिए तर उनी सकेसम्म आफ्नो नाम चर्चामा नआओस् भन्ने चाहन्थे । उनको लोकप्रियताप्रतिको अरुचि देखेर एकदिन उनका साथीले सोधे, ‘शास्त्रीजी तपाईंलाई पत्रिकामा नाम आउँछ भनेर किन डर लाग्छ ? '
केहीबेर सोचेर शास्त्रीले जवाफ दिए, ‘मित्र मलाई लाजपात रायको एउटा भनाइ सधैं सम्झना हुन्छ ।' उनले भनेका थिए, ‘ताजमहलमा दुई प्रकारका ढुंगा छन् । एउटा टलक्क टल्कने सिंगमरमरको ढुंगा जसलाई संसारले देख्छ, फोटो खिच्छ, चर्चा गर्छ । अर्को ढुंगा ताजमहलको जगमा लगाइएको छ, जसको जीवनमा केवल अँध्यारो हुन्छ तर उसले नै ताजमहल अड्याएको हुन्छ । मित्र म त्यहीं जगको ढुंगा बन्न चाहन्छु ।'
काममै मग्न
रवीन्द्रनाथ टैगोर कविता लेख्न मग्न थिए । त्यहीबेला एक डाँकु आएर चक्कु हल्लाउँदै भन्यो, ‘पख् ! आज म तेरो इहलीला समाप्त पारिदिन्छु ।'
टैगोरले यसो हेरेर जवाफ दिए, ‘जे मन लाग्छ गर्नु तर अहिले म कविता नै लेख्छु । खुब मुड चलिरहेछ । सुन्दर भाव आइरहेछ ।' डाँकु त्यो मग्नता देखेर प्रभावित भएर टैगोरको पाउ पर्यो ।