के रेखाले सञ्जय दत्तसँग बिहे गरेकी थिइन् ?
मुम्बई (एजेन्सी): चर्चित अभिनेत्री रेखाले अभिनेता सञ्जय दत्तसँग गोप्य बिहे गरेकी थिइन् र उनले आफ्नो सिउँदोमा सधैँ लगाउने गरेको सिन्दूर उनकै नाममा लगाउने गरेकी हुन् भन्ने हल्लाले अनलाइन र सामाजिक सञ्चारमा ठूलो ठाउँ पाएपछि रेखाको जीवनी लेख्ने लेखकले यसको खण्डन गर्नुपरेको छ।
३३ वर्षअघि ‘जमिन आसमान' भन्ने सिनेमा खेल्ने क्रममा रेखा र सञ्जय दत्तको बिहे भएको र रेखाले उनकै नामको सिन्दूर अहिलेसम्म पनि लगाउने गरेको समाचारमाध्यमहरूमा आएको थियो। त्यसबेला सञ्जय दत्त २४ वर्षका थिए भने रेखा उनीभन्दा पाँच वर्ष जेठी।
रेखाको जीवनी लेख्ने यासेर उस्मानले यस्तो हल्लाको खण्डन गरेका छन्। उनले हिन्दूस्तान टाइम्समा भनेका छन्, ‘रेखा र सञ्जय दत्त एउटा फिल्ममा सँगै काम गर्दै थिए, सायद त्यो ‘जमिन आसमान' थियो। उनीहरूबीचको सम्बन्धबारे त्यसबेला हल्ला चल्यो। केहीले उनीहरूबीच बिहे भएकोसम्म बताए । हल्ला यति धेरै फैलियो कि सञ्जय दत्तले एउटा पत्रिकामार्फत त्यसको खण्डन नै गर्नुपरेको थियो। त्यो आधिकारिक खण्डन थियो।'
'उनीहरूबीच कुनै बिहे भएको थिएन, सञ्जय दत्तले आधिकारिक रूपमा अस्वीकार गर्नुपरेकाले त्यो हल्ला झनै चर्किएको थियो,' रेखा-द अनटोल्ड स्टोरीका लेखक उस्मानले भनेका छन्।
यद्यपि रेखाले आफ्नो सिउँदोमा सधैँ लगाउने सिन्दूर कसका लागि हो भन्ने जिज्ञासा अहिले पनि भारतीय सिनेमाका दर्शकहरूका लागि रहस्यपूर्ण नै छ।