नेपथ्यमै हराउँछ गीतकार!
काठमाडौं: सबै सबै मेरै भन्छन् मान्छे बाँच्दा खेरी
हरियो बाँसमा बाँधी लान्छन्, बजाउँदै फेरी ।
गायक कुबेर राईको आवाजमा सजिएको यस गीतले गीतकार सन्तोषभक्त राजलवटलाई चर्चा दिलायो । ‘मेरा लागि गीतसंगीत आत्मसन्तुष्टि मात्रै हो’, गीतकार राजलवटले भने, ‘गीतसंगीतमा लागेर पुग्दैन तर दस्तावेजका लागि भए पनि एल्बम निकाल्ने गरेको छु ।’ २०२९ सालमा इलाममा जन्मिएका राजलवट परिस्थितिले आफूलाई गीतकार बनाएको बताउँछन् ।
२४ वर्षको रहरलाग्दो उमेरमा शिक्षण पेसा गर्दागर्दै उनी प्रेममा परे । ‘त्यही प्रेमले गीतकार बनायो’, राजलवटले भने । उनले आत्मसन्तुष्टिका लागि गीत लेख्न थाले । आज त्यही यात्राले एक हजारभन्दा बढी गीत उनको डायरीमा रंगीएका छन् । गजल, आधुनिक र लोकगीत उनको विधा हो । हालसम्म तीन वटा एल्बम बजारमा ल्याइसकेका उनका दुईदर्जन बढी गीत रेकर्ड भइसकेका छन् ।
धनेन्द्रभक्त राजलवट र स्व. देवीकुमारी राजलवटको कान्छो छोराका रूपमा जन्मिएका उन अवकाश प्राप्त शिक्षक हुन् । जीवनको २१ वर्ष पाँच महिना सरकारी स्कुलको जागिरे बनेर बिताए । नवीन प्राथमिक विद्यालय इलामको प्रधानाध्यापक हुँदै उनी शिक्षण पेसाबाट अवकाश भए । २०५४ सालदेखि कलासाहित्यमा हात हालेका उनले २०५९ सालमा आधुनिक गीतिएल्बम ‘दुखाइ’ बजारमा ल्याए । २०६० सालमा उनको ‘हेल्लो ड्राइभर दाइ’ श्रोतामाझ आयो । दुवै एल्बमका अधिकांश गीत अत्यधिक रुचाइए । उनले हालैमात्र आधुनिक तथा गजल एल्बम ‘सन्तोष’ बजारमा ल्याएका छन् ।
उनको शब्दमा कुबेर राई, राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, रीमा गुरुङ, भीषण गुरुङ, जगदीश हमाल, रमेश श्रेष्ठलगायत चर्चित गायकले आवाज दिएका छन् । ‘मोफसल गीत, गजल उर्वर भूमि हो’, उनी भन्छन्, ‘तर मोफसलमा बसेर स्थापित हुन निकै कठिन छ ।’ गीतकार गीतलाई जन्म दिने आमा भए पनि ऊ सधैं नेपथ्यमा रहने तीतो सत्य उनले भोगेका छन् । ‘संगीतकार, गायक यो क्षेत्रबाट सहजै जीवन निर्वाह गर्नसक्छ, उनीहरू स्टेज पाउँछन् तर लेखकलाई निकै गाह्रो छ’, उनले भने । सन्तोषभक्तको गीतमा जीवन, प्रेम, पर्यटन र विरक्ति बोलिएको पाइन्छ ।