आर्ट काउन्सिलमा सामूहिक कला
काठमाडौंः समाजका विविध परिवेश र मानवीय जीवनका अन्तरघटना कलामा अभिव्यक्त हुन्छ । यिनै परिवेश र घटनालाई बिम्बित गर्दै १८ जना कलाकारले नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गरे । बिहीबारदेखि सुरु भएको ‘आत्मबोध’ शीर्षकको प्रदर्शनी सोमबार सकिएको छ । कला मानवीय जीवनको समृद्ध पक्षको उज्यालो ढोका हो । यसमा जीवनका विविध आयाम र परिवेश अन्तर्घुलित हुन्छन् ।
संवेग र उत्कर्षको समुच्च रूपलाई कलाले सम्बोधन गर्छ । सामूहिक कलामा मानव, समाज, चराचर जगत्, राजनीति, पर्यावरण, युद्ध तथा समाजका विकृत परिवेशजस्ता विषय उठाइएको थियो । कलाकार तथा लेखक सरोज वज्राचार्यले नेपाली कलामा नयाँ पुस्ताका कलाकार उदाहरणीय काम गर्दै अघि बढेको प्रमाणका रूपमा यो प्रदर्शनीलाई लिए । अर्का कलाकार तथा कलालेखक मदन चित्रकारले आजका कलामा गतिशीलता र विविधता रहेको बताउँदै प्रदर्शनीमा राखिएका कलाले नेपाली कलाको भविष्य दर्शाइरहेको बताए । उनका अनुसार प्रदर्शनीमा सहभागी कलाकारले पुरानो ढर्राबाट विमुख भएर नयाँ र आफ्नो शैलीमा काम गरेको देखियो ।
कलाकार तथा समीक्षक रमेश खनालले कलामा परिस्कृत रूपमा रहेको तथा समसामयिक विषयमा केन्द्रित रहेर कलाकारले काम गरेको टिप्पणी गरे । समाजमा विद्यमान विकृति, विसंगतिलाई अधिकांश कलाकारले चित्रमा व्यक्त गरेको देखियो । कला प्रदर्शनीमा त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागको स्नातकोत्तर चौथो सेमेस्टरका १८ जना कला विद्यार्थीका ८० कलाकृति राखिएको थियो । प्रदर्शनीमा मन गुरुङ, विक्कु थापा, भुफान लिम्बू, विकास श्रेष्ठ, धुव्रराज शर्मा, दीपक मेहता, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, काजी राना, लक्ष्मी मगर, ओमप्रकाश गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, रीतु थापा, सुदेशा श्रेष्ठ, उमा खड्का र उपकार घमाल सहभागी थिए ।
समूहगत प्रदर्शनीले एकअर्काका कलाका चिन्तन, परिवेश र शैलीलाई बुझ्न सजिलो हुने प्रदर्शनीमा सहभागी कलाकार जया शर्माले बताइन् । कलाकारलाई बाहिर ल्याउन र कलाको माहोल निर्माण गर्न महŒवपूर्ण सघाउ पु¥याउने अर्का सहभागी कलाकार जुजुकाजी श्रेष्ठको अनुभव रह्यो ।