हङकङकाे आत्मीय घेरामा नेपथ्य
काठमाडौं : होलीको दिन पारेर नेपथ्य फेरि एकपटक हङकङ्को मञ्चमा उभिने भएको छ । नेपालबाहिर टोलीले आफूलाई सबैभन्दा बढीपटक प्रस्तुत गरेको शहर हङकङ हो ।
आगामी फागुन २९ (मार्च १२ तारिख) का दिन हङकङस्थित 'इयोन लङ अडिटोरियम' मा ब्याण्डले नयाँ, पुराना नेपाली लोक, रक गीत सुनाउनेछ । नेपथ्यका निम्ति हङकङ आत्मीय नाम हो । ब्याण्डका प्रशंसककै कारण टोलीले यो प्रवासी भूमिमा पटक-पटक आफूलाई प्रस्तुत गर्दै अाएको छ ।
त्यस बाहेक नेपथ्य उभ्याउने नजिकको आफन्त घेरा पनि टोलीले त्यहाँ भेट्ने गर्छ । उदाहरणको निम्ति हङकङमा त्यसदिन कन्सर्टको सुरुवात एउटा भर्खरै सार्वजनिक गरेको नेपथ्यको गीतबाट हुँदैछ–
'कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन'
यो गीत प्रस्तुत भइरहँदा हङकङ्मै लामो समयदेखि बसोबास गर्दै आएका एकजना पुराना संगीतकर्मी पनि दर्शक घेरामा हुनेछन् ।
तीसको दशकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विद्यार्थी छँदा आफूले तयार पारेको यो पुरानो गीत नेपथ्यको प्रस्तुतिमा पहिलोपटक त्यहाँ सुन्नेछन् सर्जक विक्रम गुरुङले ।
स्कुले समयदेखि सँगै पढ्दै र हुर्कँदै कीर्तिपुरसम्मै पुगेका तत्कालीन पोखरेली तन्नेरीद्वय सरुभक्तले लेखेको र गुरुङले संगीत दिएको गीत हो यो ।
सरुभक्त यतिबेला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति छन् । कुनै समय अरुण थापाका निम्ति 'भुलुँ भुलुँ लाग्यो मलाइ' र 'आँखाको निँद खोसी लाने' जस्ता गीतमा संगीत दिएका गुरुङले भने लामो समयदेखि हङकङ्लाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका छन् ।
नेपथ्यलाई हुर्काउन सुरुदेखि स्नेहको हत्केला बढाउने पोखरेली अग्रजहरुको घेरामा गुरुङलाई ब्याण्डले स्मरण गर्दै आएको छ ।
'विक्रम दाईसँग जोडिने सुत्रका रुपमा पछिल्लो पटक उहाँकै कृति पनि थपिएको छ,' नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, 'यो सिर्जना पहिलो पटक उहाँलाई उहाँकै कर्मभूमिमा सुनाउने क्षणको ब्यग्र प्रतीक्षा गर्दैछु ।'
गुरुङ मात्र होइन, नेपथ्यलाई उभ्याउने प्रारम्भिक टोलीकै एक मुख्य सदस्य पनि लामो समयदेखि हङकङ्मा बसोबास गर्दै आएका छन् । नेपथ्यलाई उसको सुरुवाती दिनदेखि सुन्दै आएका श्रोताले चिन्ने त्यो नाम हो, भीम पुन ।
लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आएको हङकङ्मा नेपथ्यले लोक भाकासँग मिलाएर स्वदेशको हालखबर ओसार्दै आएको छ । त्यसैगरी ब्याण्डको संघर्षका बेलादेखि नै हङकङ्वासीबाट यसले साथ पनि पाउँदै आएको छ ।
यसले गर्दा शहरसँग ब्याण्डका थुप्रै पुराना सम्झनाहरु पनि जोडिएका छन् । यसरी हंगकंगको यात्रा नेपथ्यको निम्ति सांगीतिक प्रस्तुती मात्र नभएर आफन्त भेट्ने र आफ्नै समयलाई नियाल्ने क्षण पनि बन्दै आएको छ ।
हङकङ्स्थित 'तमु एशोसिएसन' को निमन्त्रणामा नेपथ्य त्यसतर्फ जानलागेको हो । एशोसिएसनले आयोजना गर्न लागेको आठौं रोधी साँझको अवसर पारेर' नेपथ्य लाइभ इन हङकङ्' प्रस्तुत हुने यसका अध्यक्ष गणेश गुरुङ बताउँछन् ।
प्रस्तुतीका निम्ति ब्याण्ड यसै साता त्यसतर्फ पुग्दैछ ।
स्टेजमा अमृतलाई सँधैझैँ ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य,गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।