यी हुन् संसार हल्लाउने १० महिला
१.म्यारी वोल्स्टोनक्राफ्ट
उनले महिलाहरु पनि पुरुष बराबर हुन्, लैंगिक रुपमा विभेद गर्नु अपराध हो भन्ने मान्यता स्थापित गरिन्। महिलाहरु पुरुषभन्दा कमजोर छैनन्, अवसर नपाएकाले ती कमजोर देखिएका हुन् भन्ने पुष्टि गर्न किताब नै लेखिन्।
'अ भिन्डीकेसन अफ् त राइट्स अफ् वुमन' (महिलाहरुको अधिकारको पक्षमा) भन्ने पुस्तक लेखेर उनले १८ औं शताब्दीमै युरोपमा महिलामुक्तिको झण्डा उठाइन्। नारीवादलाई सामाजिक सिद्धान्तको रुपमा उभ्याइन्। उनै अंग्रेज लेखक एवं दार्शनिकको नाम हो म्यारी वोलस्टोनक्राफ्ट (सन् १७५९-१७९७)। उनलाई लैंगिक समानताका आरम्भिक विचारक रुपमा लिइन्छ।
२. सुसान बी. एन्थोनी
सुसान ब्रोनल एन्थोनी (सन् १८२०-१९०६) अमेरिकी सामाजिक सुधारक एवं नारी अधिकारकर्मी हुन्। उनले महिलाले पनि मतदान गर्न पाउने अधिकारको निम्ति प्रमुख भूमिका खेलिन्। एन्थोनीको जन्म क्वेकर परिवारमा भएको थियो।
अमेरिकामा धार्मिक आन्दोलन चलाउने समूहलाई क्वेकर परिवार भनिन्थ्यो। उनले १७ वर्षको उमेरमै दासताविरोधी मागपत्र संकलन गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
पुरुषलाई मात्र मतदान गर्ने अधिकार दिने तत्कालीन कानून विरुद्ध उनले सन् १८७२ को राष्ट्रपतिय निर्वाचनमा भोट हाल्ने प्रयास गरेकी थिइन् तर असफल भइन्।
उनले जीवनभर भोट हाल्न पाइनन्। तर, सन् १९२० मा भएको अमेरिकी संविधानको १९ औं संशोधनले महिलालाई पनि पुरुष सरह भोट हाल्ने अधिकार दियो। उक्त संशोधनलाई 'सुशान बी. एन्थोनी संशोधन' भनिन्छ।
३. म्याडम क्युरी
संसारले म्याडम क्युरी भनेर चिन्ने म्यारिया सालोमिया स्लोदोव्स्का (सन् १८६७-१९३४) वैज्ञानिक हुन्। रेडियोधर्मी तत्वको सफल प्रशोधन गरेर उनले संसारलाई नयाँ युगमा प्रवेश गराइन्।
आफ्ना पति पियरे क्युरीसँगको सहकार्यमा उनले युरेनियमको प्रशोधन गरिन्। त्यस्तै रेडियम नामक रेडियोधर्मी तत्व पत्ता लगाइन्। पोल्याण्डको सामान्य परिवारमा जन्मेकी उनले निकै कष्टसँग अध्ययन पुरा गरेकी थिइन्।
पोल्याण्डको विश्वविद्यालयमा विज्ञान पढ्न जाँदा 'छोरीमान्छेले पनि विज्ञान पढ्ने हो ? उनले त गृहविज्ञान पढ्नुपर्छ' भनी उपहास गरेपछि उनी पेरिस गएकी थिइन्। त्यहाँ भोकले बेहोस् हुने हदसम्मको कष्टपूर्ण जीवनका बावजुद उनले भौतिकविज्ञान र रसायनशास्त्र गरी दुई विषयमा मास्टर डिग्री पुरा गरिन्।
सन् १९०३ मा उनी र उनका पति पियरेलाई संयुक्त रुपमा भौतिकशास्त्र तर्फको नोबल पुरस्कार दिइयो। सन् १९११ मा उनलाई रसायनशास्त्र तर्फको नोबल पुरस्कार दिइयो। दुईपटक नोबल पुरस्कार पाउने र अहिलेसम्मकै एकमात्र दुईपटक नोबल पाउने महिला उनी नै हुन्।
४. मदर टेरेसा
म्यासेडोनियाको भूमीमा जन्मेर भारतमा सेवा गर्न आइपुगेकी क्याथोलिक भिक्षुणी मदर टेरेसा (सन् १९१०-१९९७) संसारभर दया र सेवाकी प्रतिमूर्ति मानिन्छिन्। १८ वर्षको उमेरमा जन्मभूमी मेसेडोनिया छोडेर उनी भारत आएकी थिइन्।
भारतमा अधिकांश उमेर बिताएपनि उनले विभिन्न देशमा रोगीहरुको सेवा गरिन्। उनले लेबनानका युद्ध पिडित, अर्मेनियाका भूकम्पपीडित र इथियोपियाका भोकमरी पिडितहरुको सेवा गरिन्।
उनले 'अर्डर अफ मिसनरीज् अफ् च्यारिटी' नामक महिलाहरुको मण्डली बनाइन्। मदर टेरेसाले स्थापना गरेका मिसनरीहरुले आजसम्म विभिन्न भूगोलमा सेवा दिइरहेको छ। मदर टेरेसालाई 'शान्तिका खतरा गरिबी र अभावलाई जित्न गरेको संघर्ष'का कारण सन् १९७० मा नोबल पुरस्कार दिइएको थियो।
५. रोजा लक्जेम्बर्ग
'उनी बाजजस्तै छिन्, आकाश माथीबाट वेग हान्छिन् तर धर्तीका स-साना वस्तु पनि देख्छिन्।' पहिलो विश्वयुद्धताकाका चर्चित कम्युनिष्ट नेता एवं सिद्धान्तकार लेनिनले उनीबारे यस्तो टिप्पणी गरेका थिए। उनी थिइन् पनि त्यस्तै।
जर्मनीकी कम्युनिष्ट नेतृ रोजा लक्जेम्बर्ग (सन् १८७१-१९१९) पहिलो विश्वयुद्धको विरोधमा उभिइन्। कार्ल लिब्नेख्तसँग मिलेर 'स्पार्टकस लिग' खोलेरै युद्धको विरोधमा गतिविधी गरिन्। २७ वर्षमै विद्यावारिधी गरेकी रोजा अत्यन्त तिक्ष्ण थिइन्।
उनले माक्र्सवादी सिद्धान्तको विकासमा ठूलो योगदान गरिन्। राष्ट्रियताबारे उठेका विभिन्न प्रश्नलाई सैद्धान्तिक रुपमा हल गरिन्। विश्वमा शान्ति कायम गर्न र मानवताको रक्षाका लागि आन्दोलन उठाइन्। उनलाई पछि पक्राउ गरी हत्या गरियो। उनको शव बर्लिनको ल्यान्डवेयर नहरमा फेला परेको थियो।
६. हेलेन केलर
उनी कानले सुन्थिनन् तर उनको आवाज सबैले सुन्ने बनाइन्। उनले आँखाले देख्थिनन् तर संसारले उनी र उनीजस्तैलाई हेर्न बाध्य बनाइन्।
अपांगतायुक्त समुदायको अधिकारको पक्षमा संघर्ष गर्ने हेलेन केलर (सन् १८८०-१९६८) केवल लेखक, राजनीतिकर्मी मात्र होइनन् मानव जातिकै इतिहासमा आशा र संघर्षकी प्रतिमूर्ति हुन्। दृष्टिविहिन र श्रवणशक्तिहिन भइकन पनि उनले स्नातक उत्तिर्ण गरेर गरे के हुन्न भन्ने स्थापित गरिन्।
७. अन् फ्य्रांक
अन् फ्य्रांक (सन् १९२९-१९४५) ती किशोरी नाम हो जसले १६ वर्षे कलिलो उमेरमै जीवन गुमाइन् तर उनका अक्षरहरु आज पनि मानवताको पक्षमा लडिरहेछन्। जर्मन किशोरी फ्य्रांकले हिटलरको फासिवादी नीतिले भोग्नुपरेको पीडा डायरीमा उतारिन्।
मृत्युपर्यन्त प्रकाशित उनको डायरी 'द डायरी अफ् अ योङ गर्ल'ले आजपनि त्यो भयावह समयको पीडा अभिव्यक्त गर्छ। उनी चार वर्षको हुँदा उनको परिवार हिटलरको यहुदीविरोधी नीतिका कारण नेदरल्याण्ड भाग्न बाध्य भएको थियो। सन् १९४० मा हिटलरले नेदरल्याण्डमा अतिक्रमण गरेपछि उनको परिवार भागिभागि लुक्न बाध्य भयो।
दुई वर्ष सम्मको त्यो भागाभागमा उनले लेखेको डायरी नै पछि पुस्तकाकारमा प्रकाशित भएको हो। पछि उनको परिवार नै फेला पारेपछि नाजीहरुले कन्सन्ट्रेशन क्याम्पमा पठाए। युद्ध समाप्त हुनुभन्दा एक साता अघि सन् १९४५ मा जर्मनीको बर्जेन-बेल्सेन क्याम्पमा फ्रयांकको निधन भयो।
८. एलेन जोन्सन सर्लिफ
अफ्रिकाको पहिलो निर्वाचित महिला राष्ट्रप्रमुख हुन् सर्लिफ (सन् १९३८)। उनी सन् २००६ मा लाइबेरियाको राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। उनले 'सूचनाको हक सम्बन्धी' विधेयकमा हस्ताक्षर गरेर देशलाई नयाँ मोड दिइन्।
पश्चिम अफ्रिकामै त्यस्तो प्रकारको कानून पहिलो थियो। उनले आफ्नो राष्ट्रपतित्वकालमा राष्ट्रिय ऋण कम गर्न महत्वपूर्ण भूमिका खेलिन्। लाइबेरियाको गृहयुद्धमा भएको अपराधको छानबीन गर्न उनले 'सत्य तथा मेलमिलाप आयोग' गठन गरिन्।
उनलाई अधिनायकत्व, भ्रष्टाचार र गरिबी विरुद्ध महिला र किशोरीहरुको सशक्तीकरणको ग्लोबल आइकनको रुपमा लिइन्छ। सर्लिफलाई अन्य दुई महिला नेता लेमाह ग्बोइ र तावाक्कोल करमनसँग सन् २०११को नोबल शान्ती पुरस्कार दिइएको थियो। फोब्र्स पत्रिकाले उनलाई सिन् २०१६ का ८३ औं शक्तिशाली महिलाको सूचीमा राखेको थियो।
९. आङ सान सु की
नजरबन्द र सुकी पर्यायवाची जस्तै सुनिन्छन्। त्यसो त उनी प्रजातान्त्रीक संघर्षको आइकन पनि हुन्। म्यानमारकी आङ सान सुकी (सन् १९४५) ती नेतृ हुन् जसले प्रजातन्त्रको निम्ति जीवन मरणको संघर्ष गरिन्।
मार्टिन लुथर किंग र महात्मा गान्धीको अहिंसावादी आन्दोलनको शैलीबाट प्रभावित सुकीले सन् १९८८ मा पहिलोपटक प्रजातान्त्रिक सुधार र स्वतन्त्र निर्वाचनको निम्ति आन्दोलनको नेतृत्व गरेकी थिइन्। सन् १९८८ मा भएको सैनिक कू पछि तत्कालीन प्रतिपक्षी पार्टीकी प्रमुख सुकीलाई नजरबन्दमा राखिएको थियो।
झण्डै १५ वर्ष लामो नजरबन्दपछि सन् २०१०मा उनलाई मुक्त गरिएको थियो। उनलाई सैन्य शासनको विरोध र प्रजातन्त्र तथा मानव अधिकारको पक्षमा प्रतिरोध गरेकाले सन् १९९१ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
१०. मलाला युसाफ्जाइ
उनलाई स्कुल गएकै कारण गोली हानियो। तर, उनी बाँचिन्। बाँचिन् मात्र होइन आफ्नो रक्तरञ्जित आवाजमार्फत् उनले संसारको ध्यान तानिन्। अतिवाद विरुद्ध उभिइन्।
मलाला युसाफ्जाइ (सन् १९९७) ती पाकिस्तानी साहसी छोरीको नाम हो जसले छोरीहरुको शिक्षा पाउने अधिकारको निम्ति ज्यानको बाजी थापिन्। सन् २००९ मा ११ वर्षको उमेरमै ब्लग लेखनमार्फत् उनले छात्रा विद्यालय बन्द गर्ने तालिबानीहरुको कदमविरुद्ध धावा बोलिन्।
उनलाई गोली ठोक्ने धम्की दिइयो तर उनले अतिवादविरुद्ध प्रहार गर्न छोडिनन्। सन् २०१२ अक्टोबरमा स्कुलबाट फर्किदै गर्दा उनी र उनकी दुई साथीमाथी गोली प्रहार भयो। तर उनी बाँचिन्।
सन् २०१३ मा उनको आत्मसंस्मरण 'आइ एम मलाला: द गर्ल हु स्टुड अप फर एजुकेसन एन्ड वाज सट बाइ तालिबान' (म मलाला हुँ) प्रकाशित भयो। सन् २०१४मा उनी र भारतीय बाल अधिकारकर्मी कैलाश सत्यार्थीलाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरियो।