पूर्वमा चलचित्र छायांकन बढ्दो 

पूर्वमा चलचित्र छायांकन बढ्दो 

दमकः पूर्वमा नेपाली चलचित्र छायांकन गर्ने क्रम बढेको छ । यतिबेला पूर्वका इलाम, झापा, धनकुटा, सुनसरीलगायतका जिल्लामा रहेका सुन्दर एवं रमणीय स्थलमा दर्जनौं चलचित्र छायांकन गरिएका छन् । यसअघि धेरैजसो चलचित्र राजधानी र त्यस आसपासमै बढी छायांकन हुने गरेका थिए ।

नेपाली चलचित्रमा कहलिएका छायाकार पुरुषोत्तम प्रधानका अनुसार कथा र लोकेसनले पूर्वेली जनजीवन माग्ने गरेकाले चलचित्रहरू पूर्वमा छायांकन गर्ने क्रम बढेको हो । पछिल्लो समय मौलिक शैलीका चलचित्रले स्थान पाउन थालेकाले पनि पूर्वमा छायांकन गर्ने क्रम बढेको देखिन्छ । ‘अहिलेका चलचित्रमा पूर्वेली जनजीवन उतार्ने क्रम बढेको छ', प्रधानले भने । खासगरी इलामको चियाबगान, धनकुटाको भेडेटार, झापाको दौमुखा, जामुनखाडीजस्ता स्थान चलचित्र छायांकनका लागि उपयुक्त रहेको उनको भनाइ छ ।

नेपाली चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग बढेसँगै सामान्य स्थानलाई पनि उत्कृष्ट देखाउन सकिन्छ । त्यसमाथि सुन्दर र रमणीय स्थानले त यसै पनि दर्शकको मन छुन्छ । सफल मानिएको नेपाली चलचित्र ‘साथी'को झापाको दौमुखा तथा इलाममा छायांकन भएसँगै नेपाली चलचित्रको छायांकन पूर्वमा गर्ने क्रम बढेको निर्देशक योगेश घिमिरेको भनाइ छ । चलचित्र साथी, बरपीपल, नोटबुक, राधा, नोभेम्बर रेन, बाटोमुनिको फूल–२ लगायतका धेरै चलचित्रमा पूर्वी नेपालका रमणीय स्थानहरू समेटिएका छन् ।

पर्यटकीय स्थलको विकास, कम लागत, यातायातको सुविधा, छिटो र सहज काम सम्पन्न हुने भएकाले पूर्वी नेपाल छायांकनका लागि रोजाइमा पर्न थालेको हो । राजधानी र आसपासमा वर्षौंदेखि चलचित्र छायांकन हुने भएकाले नयाँ लोकेसन भएकाले पनि यस्तो अवस्था आएको चलचित्रकर्मीको भनाइ छ । इलामको कन्याम, फिक्कल, श्रीअन्तु, धनकुटाको भेडेटार, सुनसरीको बूढासुब्बा, झापाको जामुनखाडी, दौमुखा, बर्नेईको चियाबगान, झिलझिलेमा रहेको मसलाको वन, दमक, बिर्तामोडलगायतका स्थानमा कतै न कतै हरेक दिनजसो नेपाली चलचित्रको छायांकन भइरहेको देखिन्छ ।

इलामको चियाबगान, धनकुटाको भेडेटार, झापाको दौमुखा, जामुनखाडीजस्ता स्थान चलचित्र छायांकनका लागि उपयुक्त ठहरिएका छन् ।

पाथीभरा चलचित्र प्रालिका सञ्चालक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालका अनुसार चलचित्रको प्रमोसनमा पूर्वमा आउने जति पनि चलचित्रकर्मी छन्, उनीहरूका लागि पूर्वमा छायांकनयोग्य र राम्रा ठाउँहरू रहेकाले आकर्षित भएका हुन् । ‘राजधानीमा मात्रै केन्द्रित रहँदै आएको चलचित्रका सबै कार्यक्रम पूर्वतिर आकर्षित हुन थालेको छ', निर्देशक घिमिरेले भने, ‘छायांकनमात्र होइन; पूर्वले अब्बल कलाकार, निर्माता, निर्देशकसमेत जन्माइरहेको छ ।' केही दिनअघि झापाको दमकमा नेपाली चलचित्र ‘शिवम्'को शुभमुहूर्त गरिएको थियो । सो अवसरमा निर्देशक राजु गिरीले यस चलचित्रको सम्पूर्ण छायांकन पूर्वमै सम्पन्न गर्ने बताए । चलचित्रमा पूर्वाञ्चलका स्थानीय कलाकारहरूले समेत अभिनय गरेका छन् ।

चलचित्र ‘यो साइनो माया' को छायांकन सबै पूर्वकै विभिन्न ठाउँमा गरिएको नायक जतिन ताम्राकारले बताए । त्यस्तै भुटानी शरणार्थीको कथा बोकेको चलचित्र ‘रिफ्युजी', झापाकै सञ्चारकर्मी डिकेश लामाको निर्देशनमा ‘कखरा'को पनि दमकमा छायांकन गरिएको थियो । चलचित्रमात्र हैन, म्युजिक भिडियोसमेत पूर्वका मनोरम ठाउँमा छायांकन गर्ने क्रम बढ्दो छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.