राजेश हमालले होलीमय बनाए विराटनगर
विराटनगर: नायक राजेश हमालले आइतबार विराटनगरमा होली मनाएका छन । भैरहवाबाट गाडीको यात्रा गरेर झिसमिसै विराटनगर आईपुगेका उनले यहाँका युवा, युवतीसँग उल्लासमय वातावरणमा होली मनाए ।
'राउण्ड टेबल नम्बर ५' ले हरेक वर्ष तराई-मधेशमा मनाइने होलीको अघिल्लो दिन विराटनगरमा कलर वाकाथन कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा यो पटक प्रमुख अतिथिका रुपमा नायक हमाललाई निम्त्याइएको थियो ।
अतिथी सदनमा आयोजना गरिएको कलर वाकाथन कार्यक्रम उद्घाटन गर्दै भने, 'म यो पटक होली मानाउन विराटनगर आइपुगेँ । निकै रमाइलो महशुस गरेको छु ।' नायक हमाल कार्यक्रममा सहभागीसँग नाचेका पनि थिए । नायक हमालले झण्डा देखाएर सुरु भएको वाकाथनका सहभागीले नगरक्षेत्रको विभिन्न भागको पैदलयात्रा गरे ।
उनले अभिनय गरेका चलचित्रका चर्चित गीत बजाउँदै युवाहरुले रङ खेल्दै नगर परिक्रमा गर्दा हमाल पनि उनीहरुसँगै पाँच किलोमिटर पैदलै हिडेका थिए ।
फरक अनुहार 'फरक रङ, हामी नेपाली एक संग' नारासहित आयोजित वाकाथनमा पाँच सय भन्दा बढीले सहभागिता जनाएकोे आयोजक संस्थाका अध्यक्ष सुनिल धनावतले बताए । उनले भने, 'आपसी भाईचारा, मेलमिलाप र सहकार्यको सन्देश दिन वाकाथन गर्दै आएका हौं ।'।
कार्यक्रममा उद्योगी व्यवसायी, विद्यार्थी, प्रशासनिक निकायका कर्मचारीसहित स्थानीयवासीको सहभागिता थियो । विराटनगर राउण्ड टेबल नम्बर ५ ले तीन बर्षअघिदेखि वाकाथन गर्दै आएको छ ।
हमालले हौसला दिई रहँदा युवा, युवतीले रङ उडाउँदै, नाच्दै र गाउँदै विराटनगरको माहोललाई होलीमय बनाएका थिए । राइको होली सोमबार भएपनि विराटनगरमा एक हप्ता अघिदेखि नै होलीको उल्लास सुरु भएको छ ।
मारवाडी समुदायको आयोजनामा हाँस्य कवि सम्मेलन र महामूर्ख घोषणा कार्यक्रम पनि सम्पन्न भएको छ । औषधी व्यवसायी, पञ्तजली योग समिति, विराट व्यापार संघ, क्षेत्रीय होटल व्यवसायी संघले पनि औपचारिक कार्यक्रम गरेर होली मनाएका छन ।