मेची अञ्चल अस्पताल अब मेडिकल कलेज
भद्रपुरः झापा भद्रपुरस्थित मेची अञ्चलकै ठूलो सरकारी अस्पताल मेची अञ्चल अस्पताललाई प्रदेश नं १ का लागि मेडिकल कलेजमा स्तरोन्नति गर्ने काम सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसहितको टोलीले उक्त अस्पताललाई मेडिकल कलेज बनाउन सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए ।
राज्यमन्त्री गुरुङको टोलीले शनिबार चन्द्रगढीको कल्बलगुडीमा रहेको प्रशिक्षण केन्द्रको ५२ बिगाहा जग्गाको निरीक्षण गरेको छ । मेडिकल कलेजका अन्य भौतिक पूर्वाधार निर्माणका लागि उक्त जग्गा पर्याप्त हुने डा. ठाकुरले बताए । उक्त जग्गा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतमा रहेको बताइएको छ ।
शुक्रबारमात्र राज्यमन्त्री गुरुङले उक्त अस्पतालको भौतिक पूर्वाधारका विषयमा अस्पताल विकास समितिका पदाधिकारी तथा त्यहाँ कार्यरत चिकित्सकसँग छलफल गरेका थिए । शनिबार बिहानको सर्वदलीय छलफलमा उक्त अस्पताललाई मेडिकल कलेज बनाउने पक्षमा सबै राजनीतिक दलका प्रतिनिधि एकमत भएका थिए । ‘अस्पताललाई स्तरोन्नति गरी मेडिकल कलेज बनाउने विषयमा सबै राजनीतिक दलका प्रतिनिधिले सहमत भएका छन्', डा. ठाकुरले भने ।
राज्यमन्त्री तारामान गुरुङले अस्पतालको स्तरोन्नति गर्न दुई करोड ८४ लाख ७० हजार रुपैयाँको अख्तियारीपत्र हस्तान्तरण गरेका छन् ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले मेची अञ्चल अस्पताललाई नै प्रदेश नं १ को मेडिकल कलेज बनाउने बताएपछि उक्त विषयको अध्ययनका लागि राज्यमन्त्री गुरुङको टोली झापा आएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए । ‘झापा क्षेत्र नं ३ का सांसद कृष्णप्रसाद सिटौला तथा स्वास्थ्यमन्त्री गगन थापालाई हामीले भेट्यौं । त्यसपछि यो काम सुरु भएको हो', उनले भने । अस्पताल विकास समितिले प्रशिक्षण केन्द्रको जग्गाको नक्सा तथा धनीपुर्जा संलग्न गराई मेडिकल कलेज निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । मेची अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने विषयको अध्ययन गर्न स्वास्थ्य मन्त्रालयबाट डा. भोलामान श्रेष्ठ तथा डा. किरण रेग्मीसमेत सहभागी छन् ।
राज्यमन्त्री तारामान गुरुङले मेची अञ्चल अस्पतालको स्तर वृद्धिका लागि दुई करोड ८४ लाख ७० हजार रुपैयाँको अख्तियारीपत्र हस्तान्तरण गरेका छन् । उनले तत्काल आईसीयू सेवा सञ्चालन गर्न २० लाख रुपैयाँसमेत अस्पताललाई दिएका छन् । उनले भौतिक संरचना सुधार, फार्मेसी, डायलासिस सेवा सञ्चालनलगायत शीर्षकमा बजेट पारदर्शी रूपमा खर्च गरेर अपुग भए थप रकम माग गर्न अञ्चल अस्पताललाई निर्देशनसमेत दिएका थिए ।
अञ्चल अस्पतालमा कार्यरत डाक्टर निजी अस्पताल एवं क्लिनिक धाउने दिन सकिएको र जिम्मेवारी लिने काम नगर्ने परिपाटी अन्त्य हुनुपर्ने स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख भोलामान श्रेष्ठले बताए ।