हुम्लामा भारी हिमपात, विद्युत र सञ्चार सेवा अवरुद्ध
सिमकोटः लगातार तीनदेखि परेको भारी हिमपातले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन निकै प्रभावित बनेको छ। तेस्रो पटक परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का, बरगाउँ, सिमकोट, ठेहे लगायतका गाविसहरु बढी प्रभावित भएका छन्।
गत बुधबारदेखि लगातार भएको हिमपातले हुम्ला सदरमुकाम सिमकोटमा दुई फिट बाक्लो हिउँ जमेको छ। यो वर्ष तेस्रो पटक परेको हिउँले सिमकोटमा निकै चिसो बढेको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धी प्रसाद सिटौलाले बताए। उनका अनुसार हिमपातका कारण कुनै अप्रिय घटना नघटेपनि जिल्लाको जनजीवन भने निकै प्रभावित भएको छ।
मंगलबार साँझदेखि परेको हिउँ लिमीमा ३ फिट जमेको छ भने एक गाउँलेखि अर्को गाउँ जाने सबै बाटा बन्द भएको लिमी जाङ्ग गाउँका स्थानीय छिमि तामाङ्गले बताए। उनका अनुसार लिमी र मुचुमा अहिले पनि भारी हिमपात भैरहेको छ। हिमपातले तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ।
तमाङले भने 'हामी घरबाट बाहिर ननिकेको ३ दिन भयो। हिमपातले गाईवस्तुलाई पानी समेत खुवाएन पाइएको छैन्।' गएका वर्षको तुलनामा फागुनमा परेको यो हिमपात निकै बढी भएको बताएका उनले खानोपनीको समस्या भएका वस्तीमा हिउँ पगालेर काम चलाउने गरेको बताए।
हिउँ परेपछि सिमकोट तापक्रम माइनस ९ मा पुगेको सिमकोट विमान स्थलले जनाएको छ। चिसोका कारण सिमकोट माथिको जनजीवन निकै प्रभावित बनेको छ। चिसोले बिहान घरबाहिर निस्कनु समेत नसकिएको डाँडाफयाका जयबहादुर शाहीले जानकारी दिए।
हिमपातले विद्युत र टेलिफोन अबरुद्ध
भारी हिमपातका कारण सिमकोटका सबै सञ्चारका साधन बन्द भएका छन्। सञ्चारका साधन नचलेपछि सिमकोट तीन दिनदेखि बाहिरी सञ्चार बञ्चित भएको छ। अत्याधिक चिसोका कारण विद्युत पनि अवरुद्ध भएको छ।
हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसको गभर्नरको फिल्टर र प्रेसर वायरले काम नगरेका कारण विद्युत् सञ्चालन अनिश्चित बनेको हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रका निमित्त प्रमुख कलक बहादुर धामीले जानकारी दिए। उनका अनुसार एक महिनादेखि खोलामा पानी कम भएका मेसिन बिग्रीएको हो। मेसिन नेपालमा नबन्ने भएपछि भारतबाट मगाउने तयारी भैरेहेको छ।
जिल्ला सदरमुकाम सिमकोट लगायत आसपासका ७ गाविसमा समेत यही विद्युत लाईन बिस्तार गएकोले आयोजना बिग्रिएपछि सबै क्षेत्र अन्धकार भएको छ। बत्ती नहुँदा आगामी चैत ३ गते देखि सुरु हुने एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई समेत समस्या भएको मानसरोवर नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी खेमबहादुर बुमीले बताए।
विद्युत आपूर्ति बन्द भएपछि जिल्लामा सञ्चालिन ३ वटा सामुदायिक रेडियो मध्ये सदरमुकाममा भएका २ वटा रेडियोको प्रसारण बन्द भएका छन्। विद्युत आपूर्ति नभएको र रेडियोमा भएका सबै सोलार प्रर्णालीले समेत काम नगरेकाले रेडियोको प्रसारण बन्द भएको रेडियो कर्णाली आवाजका प्रशासकीय प्रमुख सुशेर परियारले बताए।
विद्युत नभएको र घाम समेत नलाग्दा सोलार सिस्टमले समेत काम नगरेपछि ल्याण्ड लाइन, जिएसएम, सिडिएम लगायत सबै फोनहरु अवरुद्ध भएको नेपाल टेलिकम हुम्लाका निमित्त प्रमूख खडक बहादुर विकले बताए। विकका अनुसार सबै सञ्चार सेवा सूचारु गर्न अँझै ३ दिन लाग्ने छ।