दुरसञ्चार क्षेत्रको पाँच वर्षको अाम्दानी ५८ प्रतिशत बढ्यो
काठमाडौं: नेपालमा टेलिकम क्षेत्रको आम्दानी विगत पाँच वर्षको अवधिमा ५८ प्रतिशतले बढेको छ । एक दशक अगाडि सुरु भएको मोबाइल सेवा विस्तारसँगै टेलिकमको आम्दानीको क्षेत्र पनि उल्लेख्य मात्रामा बढ्दै गएकोे हो ।
पाँच वर्ष अगाडिसम्म नेपालको दूरसञ्चार क्षेत्रले गरेको समग्र आम्दानी ६४ अर्ब ७१ करोड १५ लाख रुपैयाँ थियो । गत वर्ष यस्तो आम्दानी एक खर्ब दुई अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षसम्म भएको उक्त अम्दानीमा प्रमुख सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसहित ६ वटा दूरसञ्चार सेवा प्रदायक र ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमले डेढ दशकअघि सुरु गरेको मोबाइल सेवाको विस्तारले यस क्षेत्रको आम्दानी र सेवामा उख्लेख्य भूमिका निर्वाह गरेको छ । टेलिकमसँगको प्रतिस्पर्धी कम्पनी एनसेलको प्रवेशपछि टेलिकम सेवा सहज र सरल हुनु पुग्यो भने दुरसञ्चार क्षेत्रको आम्दानी पनि बढाउन मद्दत गर्यो । चार वर्ष पहिलेसम्म यस क्षेत्रको आम्दानी ७५ अर्ब मात्रै थियो । अहिले उक्त आम्दानी एक खर्ब पुगेको छ ।
पछिल्लो समय टेलिकम क्षेत्रको आम्दानी वृद्धि प्रतिशत कम हुँदै गएको छ । त्यसैले यो आम्दानी एक खर्ब रुपैयाँमा सीमित हुन पुगेको हो । वार्षिक रूपमा बढ्दै गएको एक/दुई अर्बको वृद्धिले यस क्षेत्रमा त्यति ठूलो परिवर्तन देखिँदैन । पछिल्ला दुई वर्षमा प्रतिस्पर्धी कम्पनी बढ्न नसक्नु र टेलिकम सेवामा नयाँ प्रविधि नभित्रिनाले यस क्षेत्रमा आम्दानी अनुपात बढ्न नसकेको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नयाँ प्रविधि भिœयाउँदा लाग्ने लागत कम हुँदै गएको र प्रतिस्पर्धाले सेवाप्रदायकको मूल्य पनि घट्न पुगेको छ । यसले वृद्धिदरको हिस्सा पनि दुई वर्ष अगाडिकोभन्दा थोरै हुने उनले उल्लेख गरे । बजारमा प्रतिस्पर्धा बढ्दै गएकाले आम्दानी हिस्सा नबढेको देखिन सक्ने उनले बताए । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले यस आर्थिक वर्षदेखि एकीकृत लाइसेन्स पाएको छ ।
यूटीएल पनि मोबाइल सेवामा आक्रामक ढंगले प्रस्तुत हुन सक्ने र स्मार्टले सेवा विस्तारमा नयाँ रणनीति अपनाएर अगाडि बढ्न सक्ने देखिएको छ । सेवा प्रदायकबीच हुने प्रतिस्पर्धाले टेलिकम क्षेत्रको आम्दानीको आकार थोरै बढाउने भए पनि मूल्यमा हुने प्रतिस्पर्धाले सेवाग्राहीलाई नै लाभ हुन्छ ।
नम्बर एउटै कम्पनी फरक
मोबाइल सेवाको गुणस्तर र सेवा अनुसार एउटै नम्बरमा फरक कम्पनी रोज्न पाइने व्यवस्था हुन लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी लागू गरेर एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन पाइने व्यवस्था गर्न लागेको हो । अहिले नेपाल टेलिकम वा एनसेलको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले अबको दुई महिनापछि आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्ने भएका हुन् । यो सेवापछि एनसेलको सेवा लिनेले टेलिकम र टेलिकमको सेवा लिनेले एनसेलको वा अन्य कुनै सेवा प्रदायकको सेवा एउटै नम्बरबाट लिन पाउनेछन् ।
प्राधिकरणले नम्बर पोेर्टेबिलिटी सेवाका लागि आवदेन गरेकोमा पहिलो चरणमा तीन वटा कम्पनी छानिएका छन् । एउटा मोबाइल अपरेटरबाट अर्को मोबाइल अपरेटरमा सेवा परिवर्तन गर्न पाउने व्यवस्थाका लागि तीन वटा कम्पनीको संक्षिप्त सूचि नै तयार पारिसकेको अर्यालले बताए । पहिलो चरणमा बेलायतको लाउरोसिय एसोसिएसन एन्ड कमनवेल्थ कम्युनिकेसन्स, भारतको ईआरएनएसटी एन्ड योङ्स लिमिटेड र नेदरल्यान्डको रोविन कन्सल्टेन्सीको प्रस्तावलाई छनोट गरिएको अर्यालले जानकारी दिए ।
प्राधिकरणले चार महिना अगाडि यो मोबाइल पोर्टेबिलिटी सेवाका लागि विस्तृत मोडालिटीसहित बोलपत्र आह्वान गरेको थियो । यी कम्पनीले दिने उत्कृष्ट मोडल र विवरणका आधारमा कम्पनी छनोट गरिने भएको छ । एक महिनाको समय दिएर आह्वान हुने अवको आवदेनमा ग्राहकले सेवा परिवर्तन गर्न आवश्यक सर्त, सेवा शुल्क, आवश्यक मापदन्ड, ग्राहकले पाउने छुटको आधार तथा अन्य विषयको मोडालिटी हुनेछन् । तीनवटै कम्पनीले दिएको प्राविधिक र आर्थिक प्रस्तावका आधारमा कम्पनी छनोट हुने पनि दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
टेलिकम क्षेत्रको पाँच वर्षको आम्दानी
२०६८/६९- ६४ अर्ब ७१ करोड १५ लाख
२०६९/७०- ७५ अर्ब ६८ करोड २५ लाख
२०७०/७१- ८७ अर्ब ५६ करोड १६ लाख
२०७१/७२- ९८ अर्ब ८९ करोड १६ लाख
२०७२/७३- १ अर्ब २ अर्ब ४४ करोड ४१ लाख
तथ्यांक स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण ।