२९ वर्षदेखि माछापालन गर्दै राई

२९ वर्षदेखि माछापालन गर्दै राई

दिक्तेलट: छँदाखाँदाको शिक्षण पेसा चटक्क छाडेर कृषि व्यवसायतर्फ लाग्दा खोटाङको दोर्पाचिउरीडाँडा–३ नास्तुमका जेपी राई ­(जय प्रकाश)लाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए । टिका–टिप्पणी र आलोचना गर्ने उत्तिकै निस्किए तर केही समयपछि तिनै खिसीटिउरी गर्ने गाउँलेका लागि जेपी सफल कृषि उद्यमीका रूपमा उदाए ।

सुरु गरेको केही वर्षपछि उनको घर माछा पोखरी, उन्नत जातको कालो बंगुर, कुखुरा, खरायो, व्यावसायिक तरकारी, अलैंची, चिया, नासपानीलगायतको बगानले भरियो । कृषि क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव सँगालेका राईले ‘माटोलाई माया गरौं, धुलो हिलोसँग खेलौं, करेसाबारी खाली नराखौं,’ जस्ता कृषिसम्बन्धी २३ वटा नारा तयार गरेका छन् ।

‘कृषि क्षेत्रमा केही नयाँ काम गरौं’ भन्ने सोच राखेका राईले दोर्पामा उन्नत जातको माछापालन सुरु गरेकै २९ वर्ष बितिसकेको छ । बाबु मुगाधन राई र आमा पञ्चकन्य राईको माइलो छोराका रूपमा ०२२ साल भदौ–२७ गते जन्मिएका राईले ०४४ सालमा सुनसरीको तरहराबाट भुुरा ल्याएर माछापालन सुरु गरेका थिए । उनले आफैंले बनाएको पोखरीमा नैनीबाहेक ग्रास, कमन, बिग हेड, रोहु, सिल्भरलगायत सात किसिमका माछापालन गरेका छन् । माछापालनकै लागि उनले १० वटा पोखरी बनाए । त्यसमध्ये अहिले ५ वटा पोखरी मात्रै प्रयोगमा छन्, अरू पुरिए । घरछेउमा दुई रोपनी क्षेत्रमा बनाइएको ६० मिटर लम्बाइ र १६ मिटर चौडाइ भएको पोखरी उनले बनाएको दशौं र सबैभन्दा ठूलो पोखरी हो । त्यही पोखरी उनको माछा उत्पादन दिने मुुख्य पोखरी हो ।

‘मेरो युुनिभर्सिटी भन्नु नै यही पोखरी हो । यत्रो वर्ष यही पोखरीमा पढेँ, यही सिकेँ र यही बाचेँ ।’

व्यक्तिले बनाएकोमध्ये जिल्लामै ठूलो दाबी गरिएको सो पोखरीमा माछापालनबाहेक काठको स–साना डुंगामार्फत बोटिङको व्यवस्था गरिएको छ । तरहराबाट विराटनगर पुगेर हवाईजहाजमार्फत लामिडाँडा ओर्लेर रातारात गाउँसम्म माछाको भुुरा पुर्‍याउनु कम जोखिम थिएन । उनले हालसम्म हवाईजहाजमार्फत २१ पटक र हेलिकोप्टरमार्फत तीन पटक माछाको भुुरा गाउँ ल्याइसकेका छन् । ‘कहिले बन्द–हडताल भइदिन्छ, कहिले फ्लाइट क्यान्सिल हुन्छ,’ जेपीले भने, ‘भुुरा जोगाएर गाउँसम्म ल्याउन ज्यादै गाह्रो छ ।’

यसमाथि पानी र भुराको प्रतिकेजी ५० का दरले एयरपोर्ट ट्याक्स पनि तिर्नुपर्छ । माछापालनबाट उनले कुनै महिना ६० हजारसम्म कमाए । गाउँमा बिक्री नभएको माछा उनले डोकोमा बोकेर सदरमुकाम दिक्तेलसम्म पुर्‍याए । सुरुमा प्रतिकेजी एक सयका दरले माछा बिक्री गरेका राईले हाल प्रतिकेजी तीन सयमा माछा बिक्री गर्छन् । अहिले पनि माछाको माग धान्न गाह्रो रहेको राई बताउँछन् ।

गाउँकै विद्योद्वय माविमा निमावि शिक्षकका रूपमा काम गर्दै आएका राई घुमफिरका क्रममा तरहरा, इलाम पुगे । ती ठाउँमा बनाइएको ठुुल्ठूला माछापोखरी र माछापालन व्यवसायले उनलाई लोभ्यायो । उतिबेलै उनले चक, डस्टर छाडेर व्यावसायिक माछापालनमा लाग्ने सोच बनाएर घर फर्के । गाउँ फर्किएर उनले माछापालनका लागि पोखरी बनाउन थाले । उनले पोखरी खनेको देखेर ‘जेपी बहुलायो, यस्तो चिसो ठाउँमा पनि कतै माछा हुन्छ ? ’ भन्दै कुरा काट्न थालियो । गाउँलेले कुरा काटेको सुनेकी आमा पञ्चकन्यालेसमेत उनलाई माछापालनमा नलाग्न सुझाएकी थिइन् ।

तर, उनले कसैको परवाह गरेनन्, बरु आफ्नो उद्देश्य पूरा गर्न दृढतापूर्वक लागिरहे । फलतः उनले १९६६ मिटर उचाइमा रहेको गाउँमासमेत उन्नत जातको माछापालन सफल हुन्छ भनेर देखाए । यो उचाइमा ग्रास र कमनले राम्रो उत्पादन दिने अनुभव सँगालेका राईले कमनको भुुरा गाउँमै उत्पादन गर्दै आएका छन् । उनकै पोखरीमा उत्पादन भएको कमनको भुुरा जिल्लाका विभिन्न ठाउँमा विस्तार भइरहेको छ । ग्रास कार्पको भुुरा पनि उत्पादन गर्ने तयारी गरिरहेको राईले बताए । उन्नत जातको माछा पाल्नुअघि खोलाबाट ल्याइएको स्थानीय जातको माछा पाल्दै आएका राईले थप टिलापिस र ट्राउट माछा पाल्ने तयारी गरेका छन् ।

सुरु गरेको सात वर्षपछि नै शिक्षण पेसा छाडेका राईले कृषि क्षेत्रमा औधोगीकरणको परिकल्पनासाथ पासाङ ल्हामु बहुमुखी कृषि फर्म स्थापना गरेका छन् । ०४४ सालदेखि नै सञ्चालनमा ल्याइए पनि उनले सो कृषि फर्मलाई ०६७ सालमा दर्ता गरेका हुन् । फर्मका माध्यमबाट उनले जिल्लाका जागरुक किसानलाई कृषिसम्बन्धी सुझाव र सल्लाह दिँदै आएका छन् । फर्मले विशेष गरी कृषिबाट आर्थिक उन्नयनका काममा जोड दिने गरेको राई बताउँछन् । ‘माटोलाई माया गरौं, धुलोहिलोसँग खेलौं’, कृषिलाई औधोगीकरण गरौं, करेसाबारी खाली नराखौं, तरकारी तथा फलफूल लगाऔं’ जस्ता २३ वटा नारा छन् फर्मका । कृषिलाई अन्य पेसालाईभन्दा बढी सम्मान गर्नुपर्ने उल्लेख गर्दै राईले कृषिमा अथाह सम्भावना रहेको बताउँछन् । ‘कृषिलाई अहिलेका पढालेखा मानिसले हेला गर्छन्,’ राईले भने, ‘तर कृषिमा अथाह सम्भावना छ, कृषिमा धेरै गर्न बाँकी छ र धेरै गर्न सकिन्छ ।’

उनले बनाएको माछापोखरीमा पालिएको माछाको स्वाद चाख्नबाहेक बोटिङमा रमाउन आउनेको पनि उत्तीकै भीड लाग्छ । थकानका बेला कहिलेकाहीँ आफैं बोटिङमा रमाउने उनको बानी छ । ‘मेरो युुनिभर्सिटी भन्नु नै यही पोखरी हो,’ राईले भने, ‘किनकि यत्रो वर्ष यही पोखरीमा पढेँ, यही सिकेँ, यही बाचेँ ।’ उनको माछा पोखरी र बगान अहिले गाबिव तथा छिमेकी गाविसका विद्यालय/विद्यार्थीका लागि शैक्षिक भ्रमण स्थल बनेको छ ।

माछाबाहेक उनले धनकुटाको पाख्रीबासबाट विकासे बंगुर, खरायो र कुखुरा ल्याएका हुन् र कीर्तिपुरबाट नासपाती । हाल नासपातीबाट गाउँमै जुस उत्पादन हुन्छ । कृषिलाई तल्ला दर्जाको पेसा मानिने परिपाटीबीच यसैलाई औधोगीकरणका रूपमा स्थापित गर्न लागिपरेका राईले अहिलेसम्म कृषि क्षेत्रमा काम गर्ने कुनै कार्यालय वा संघसंस्थाको साथ नपाएको गुनासो गरे । जिल्लामा कृषि क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएबापत उत्कृष्ट कृषकका रूपमा पुरस्कृत भएबाहेक आफूमाथि कसैको आँखा नपरेको उनले बताए । ४ छोरी र ३ छोराका बाबु बनेका राई अहिलेका पुस्तालाई असल पुस्ता बन्न सल्लाह दिन्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.