हङकङ ततायो नेपथ्यले
काठमाडौं: नेपालको चर्चित लोक रक ब्यान्ड नेपथ्य होलीको अवसरमा आइतबार हङकङस्थित युनलुंग थिएटरमा आफ्ना चर्चित गीतसहित प्रस्तुत भयो । ‘कुरूप अनुहार हो, यहाँ कोही साथी छैन’ बोलको गीतबाट गाउन थालेको नेपथ्यलाई नयाँ तथा पुराना पुस्ताका सयौं दर्शकले सुरुदेखि अन्तिमसम्म साथ दिएका थिए । साढे चार दशकअघि यो गीत तयार पारेका विक्रम गुरुङले पछिल्लो समय हङकङमा शिक्षण पेसा अँगाल्दै आएका छन् ।
त्रिवि कीर्तिपुरको विद्यार्थी हुँदा कोठामा सँगै बस्ने साथी सरुभक्तले लेखेका गीतलाई संगीत भरेका गुरुङ ‘नेपथ्य हङकङ साँझ’मा नोस्टाल्जिक बन्न पुगे ।संगीतमा एउटै ‘थिम’लाई पनि फरकफरक प्रस्तुतिले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट बनेको सुनाए । एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हङकङमै बसेर पनि त्यही क्षणमा पुर्याएको उनले सुनाए ।
हङकङमै जन्मेकी र हाल बेलायतमा बसाइँ सरेकी स्वेच्छा बस्नेत रंग रूप, चाल ढाल कतैबाट पनि नेपाली देखिएकी थिइनन् ।‘छुट्टीमा यता आएको बेला काकाले नेपथ्यको सो छ भनेपछि हेर्न आएकी हुँ’, आफूजस्तै किशोरीहरूको हूलबाट बोल्दै बेलायतको अक्सब्रिज कलेजमा ‘ट्राभल एन्ड टुरिज्म’ तेस्रो वर्ष पढ्दै गरेकी उनले भनिन्, ‘प्रायः अंग्रेजी र कोरियन ब्यान्डको सो हेर्ने गरेको थिएँ । नेपथ्यको नाम पहिलेदेखि सुन्दै आएकाले कस्तो रहेछ भनेर हेर्न आएकी हुँ ।’
कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्यको आगामी प्रस्तुति अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुनेछ ।