दोस्रो किस्ताको अनुदान पाउँने भुकम्पपीडित १४ सय ३८ मात्रै
काठमाडौं : भूकम्प गएको २३ महिनामा अति प्रभावित १४ जिल्लाका एक हजार चार सय ३८ जना भुकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गरेका छन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार पहिलो किस्ताको अनुदान रकम लिएर मापदण्ड र प्रक्रिया पुरयाइ घरको जग पुननिर्माण गरेका एक हजार चार सय ३८ घरधुरीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन्। दोलखामा भने पहिलो र दोस्रो किस्ताको अनुदान रकम प्राप्त गरी मापदण्ड अनुसार घरको पुननिर्माण गरेका ४४ घरधुरीले तेस्रो किस्ता वापतको एक लाख रुपैया अनुदान प्राप्त गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले दोस्रो किस्ताको अनुदान वितरणलाई तीब्रता दिन निर्देशन दिएका छन्। भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता गरेका लाभग्राही मध्ये ९६ प्रतिशतलाई पहिलो किस्ताको अनुदान वितरण सकिएपछि पोखरेलले दोस्रो किस्ताको रकम वितरणलाई तीब्रता दिन निर्देशन दिएका हुन्।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पाँच लाख ५४ हजार ६ सय १४ घरधुरी मध्ये पाँच लाख ३३ हजार ६ सय ९१ घरधुरीले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। सरकारी जग्गा मिचेर बनेका घर, लालपूर्जा नभएका र जग्गा सम्बन्धी विवाद भएका केही घरधुरीले आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा पहिलो किस्ताको अनुदान पाउन नसकेको प्राधिकरणले जनाएको छ।
पोखरेलका अनुसार दोस्रो किस्ताको रकम वितरणमा ढिलाइ हुन नदिन अग्रीम रुपमा जिल्लामा अनुदान रकम पठाइसकिएको छ। पहिलो किस्ताको रकम लिएर सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी घरको जग हालेका लाभग्राहीले तत्काल दोस्रो किस्ताको रकम प्राप्त गर्न सक्ने पोखरेलले बताए।
‘जिल्लामा प्राविधिक निरीक्षण फारम भरेर पहिलो प्रक्रिया पूरा गरेको प्रमाणित भए दोस्रो किस्ताको अनुदान रकम लिन सकिन्छ। हामीले दोस्रो किस्ता वापतको अनुदान रकम वितरणका लागि जिल्लामा पहिले नै पठाइसकेका छौ'पोखरेलले भने ‘पहिलो चरणाके प्रक्रिया पूरा गरेका लाभग्राहीले तत्काल नजिकैको गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नु पर्नेछ।'
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार कतिपय जिल्लामा दोस्रो किस्ताका लागि प्राविधिक निरीक्षण फारम पुग्ने क्रममा रहेको छ। ‘फारम छाप्ने जिम्मा लिएको विभागले बिश्व बैंकसँग समन्वय गरेर थप फारम जिल्ला पठाइरहेको छ,' पोखरेलले भने ‘सबै जिल्लामा दोस्रो किस्ता वापतको अनुदान वितरणलाई तीब्रता दिन निर्देशन दिइसकिएको छ।'