मानवअधिकारका ९० चलचित्र एकै ठाउँमा
काठमाडौः काठमाडौंमा पाँचौं ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' आयोजना हुने भएको छ । बिहीबारदेखि सुरु हुने महोत्सवमा मानवअधिकारसँग सम्बन्धित चलचित्रहरू प्रदर्शन हुनेछन् । नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा ३८ देशका ९० भन्दा बढी चलचित्र सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
तीनदिने महोत्सवमा ‘मानवअधिकार र नेपाली चलचित्रमा', ‘नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण' विषयमा चलचित्रकर्मी, पत्रकार, चलचित्र समीक्षकलगायतले बहस पनि गर्नेछन् । महोत्सवमा भारतीय चलचित्र निर्देशक गिरीश कसरावल्लीको ‘मास्टर क्लास' पनि हुनेछ ।
इरान, अफगानिस्तान, म्यानमार, सिरिया, इटाली, स्पेन, क्यानडा, बेलायत, जोर्डनलगायतका देशहरूको सांस्कृतिक पाटोसहित मानवअधिकारसँग जोडिएका मुद्दाका विषयमा बनेका चलचित्रहरू महोत्सवमा समेटिनेछन् । पश्चिम नेपालको देउकी प्रथाबारे देवकी विष्टले निर्देशन गरेको चलचित्र ‘देवकी' को स्क्रिनिङबाट महोत्सव सुरु हुनेछ । महोत्सवमा नेपाली चलचित्रका चर्चित निर्देशक तुलसी घिमिरे, गिरीश कासरावल्ली र बंगलादेशका चलचित्र समीक्षक अमेद मुज्ताब जामल र डच चलचित्र निर्माता क्लेमेन्टाइन इड्रिभनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
महोत्सव समापनमा निर्णयकले छनोट गरेका चारवटा चलचित्रलाई ‘राइनो' अवार्ड प्रदान गरिनेछ । छनोटमा परेका उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र र वृत्तचित्रका साथै उत्कृष्ट नेपाली चलचित्र र वृत्तचित्रका साथै एउटा जुरी अवार्ड प्रदान पनि गरिने आयोजक नेपाल ह्युमन राइट्स फिल्म सेन्टरले जनाएको छ ।