अधुरो पढाइले बनायो सफल उद्यमी

अधुरो पढाइले बनायो सफल उद्यमी

फिदिमः आफ्नो लक्ष्यअनुसार काम गर्न नपाउँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ । तर, कसैका लागि त्यही पीडा नै प्रेरणाको स्रोत भइदिन्छ । यस्तै लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले नयाँ काम सुरु गरेकी ओयाम ४ की ४४ वर्षीय मीना गुरुङ सफल उद्यमी बनेकी छन् ।

आफ्नो पढाइ अधुरै छाड्नु परेको पीडाले मिनाले राडीपाखी व्यवसायमा हात हालिन् । उनले पढ्न नपाएकोमा जति पीडा बोध गरिन राडीपाखी व्यवसायमा पाएको सफलताले उनी त्यति नै उत्साहित बनिन् । ‘विद्यालयमा सबैभन्दा जान्ने र सबैकी प्यारी थिए', मिना भन्छिन्, ‘गाउँमा आएर यस्तो व्यवसाय गर्छु भन्ने लागेकै थिएन ।' राम्रो विद्यार्थीको डाक्टर, इन्जिनियर, असल प्रशासक बनेर उच्चस्तरको जीवन जिउने सपना हुन्छ ।

मिनाका सपना पनि त्यस्तै थिए । भारतीय सैनिकमा कार्यरत बुवा छविलालका साथमा सिक्किमको राम्रो विद्यालयमा अध्ययन गरिरहेकी उनी प्रथम, दोस्रो बन्दै विद्यालयको पनि आशाको त्यान्द्रो बनेकी थिइन् । आठ कक्षामा अध्ययन गरिरहेकी मिनाको सपना त्यतिखेर अधुरो भयो जब बुबाले पेन्सनमा जागिर छाडे बुवासँगै तेह्रथुम ह्वाकुको पुर्ख्यौली घर फर्किएकी मिनाले बाँकी जीवनमा पढ्न पाइनन् ।

‘२०४३ सालमा घर फर्किएपछि औपचारिक शिक्षामा ‘ब्रेक' लाग्यो', मिना सुनाउँछिन्, ‘परिवार र आफन्तले पढ्न दिएनन्, जेठी दिदीको मृत्यु भएपछि ६ जना भाइलाई रेखदेख गर्ने सबै जिम्मा मेरै काँधमा आयो ।' पढाइलाई अधुरै छाड्नुपर्दाको पीडालाई सम्झँदै मिनाले त्यसलाई आफ्नो जिन्दगीको अँध्यारो दिन मानेकी छिन् । ‘धेरै पढेर व्यवसाय गर्न झनै सजिलो हुन्थ्यो', उनले भनिन्, ‘तर, पीडाले मलाई संघर्ष गर्ने प्रेरणा दिलायो ।'


पढाइ छाडेपछि घाँस काट्नसमेत नजान्ने मिनाको दैनिकी भाइहरूको स्याहार गर्ने, घाँस काट्ने, मेलापात जाने, घरको काम गर्नमा सीमित हुन थाल्यो । ४८ सालमा विवाह गरेर पाँचथरको ओयाम आएपछि त झनै कामको बोझले एकछिन पनि फुर्सद नपाएको उनको भोगाइ छ । २२ जनाको संयुक्त परिवारमा पुगेकी साहिली बुहारी मिनासँगै अरु दुई बुहारीको पनि यस्तै हाल थियो । ‘धन्न आठ कक्षासम्मको पढाइले मेरो जीवन सुधार्न टेवा पुग्यो', उनी भन्छिन् ।

परिवारमा खान पुग्ने गरी जग्गा जमिन थिएन । अरुकोमा ज्यालामजदुरी गर्नुपर्ने भए पनि अलिकति पढेकीले नै परिवारको सहयोग उनलाई मिल्यो । त्यसो त पहिलेदेखि नै व्यवसाय गर्ने सोच थियो उनमा । व्यवसाय गरे परिवारलाई केही भरथेग हुन सक्ने ठानेर उनलाई व्यवसायमा लाग्ने मोह जाग्यो । लोग्ने र परिवारका अन्य सदस्यले उनलाई सहयोग गरे । काम भ्याएर दुई जेठानी रात्रिकालीन प्रौढ कक्षामा जाने र उनलाई भने राडीपाखी बुन्ने तालिममा सहभागी गराउन परिवार सहमत भयो । तालिमपछि गरेको व्यवसायले अहिले मिनालाई सफल उद्यमी बनाएको छ । गाउँमा परम्परागत रूपले ऊनीबाट राडीपाखी बनाउने भएकाले उनकी आमाको नामै ऊनीमाया थियो तर यथार्थमा उक्त सीप छोरीमा देखियो ।

५३ सालमा ओयामको चरिभञ्याङमा राडीपाखी बुन्ने तालिममा सहभागी भएपछि उनले पाँच हजार ऋण लिएर राडीपाखी बुन्न थालिन् । ‘त्यति रकम लिन नै उनलाई ११ दिन फिदिममा बस्नु पर्‍यो', उनले भनिन् ‘खर्च गरेर उब्रिएको केही रकमले पाँच धार्नी ऊन किनेर व्यवसाय थाल्दा यस्तो सफलता पाउँछु भन्ने सोचेकै थिइन ।'

६८ सालमा गाउँमै लेकाली राडीपाखी उद्योग खोलेर १२ जना आफूजस्तै महिलालाई व्यवसायमा लगाएकी मिनाले थुपै्रलाई सीप हस्तान्तरण गरिसकेकी छन् । अल्पकालीन तालिमका अलावा उनले दुई वर्षको तालिममा सहभागी भएपछि उनी राडीपाखी प्रशिक्षक बनिन् । उद्योग दर्ता गरेर उनी आफैंले तालिम दिएका महिलाले अहिले उनलाई सघाउने गरेका छन् ।

दुई वर्षअघि काठमाडौंको भृकुटीमण्डपमा भएको उद्योगबाट उत्पादित सामग्रीको प्रदर्शनीमा मिनाले उत्कृष्ठ हुँदै २० हजार पुरस्कार पाइन् । बर्सेनि ५० धार्नीभन्दा बढीको ऊनबाट बनेका सामग्री बेचेर उनले वार्षिक डेढ लाख आम्दानी गर्ने बताइन् । ऊनका सामग्री बेचेर आएको आम्दानीले लाइफ इन्सुरेन्स, महिला समूह, सहकारी र बैंकमा १० वर्षदेखि उनले नियमित बचत गर्दै आएकी छन् । सबैतिर गरी पाँच लाखजति बचत भएको उनले बताइन्।

०५३ सालमा ओयामको चरिभञ्याङमा राडीपाखी तालिम लिएकी मीना गुरुङले पाँच हजार ऋण लिएर राडीपाखी उद्योग खोलेकी हुन् ।

संघर्ष गर्दै जाँदा मिनाले एकपछि अर्काे सफलता पाउन सफल भएकी हुन् । पहिले बोल्नसमेत धकाउने उनी अहिले काठमाडौं, धरान, इटहरी, विराटनगरजस्ता सहरमा एक्लै पुग्छिन् । मुलुकका विभिन्न क्षेत्र र यूकेका नेपालीलेसमेत ऊनका सामग्रीका लागि सम्पर्क गर्न थालेका छन् । अहिले उनी आफैं व्यवसायको प्रचारप्रसार गर्छिन् र उत्तिनै सम्पर्क पनि । ‘सुरुमा समाजले छाडा भन्योे, अहिले अनुसरण गर्छन्', उनले भनिन्, ‘व्यवसाय थालेपछि श्रीमान् वा परिवारलाई खर्च माग्नु परेको छैन, आर्थिक अवस्था बलियो भएपछि आँट पनि आउँदो रहेछ ।'

लोग्ने बेरोजगार हुँदासमेत व्यवसायबाट भरथेग गरिरहेकी मिनाका श्रीमान् पूर्णबहादुर ०६२ सालदेखि गाउँका विद्यालयमा शिक्षक छन् । ०५८ सालमा सगोलबाट छुट्टिएका उनका एक छोरा अहिले काठमाडौंमा १२ कक्षा पढ्दै छन् । छोरी आफूसँगै बसेर गाउँमा सात कक्षा अध्ययन गरिरहेकी छिन् । छोराछोरीको शिक्षादीक्षामा कुनै कमी हुन नदिने सोच राखेको उनको परिवार अहिले सुखी र खुसी छ ।

आफूले उत्पादन गर्दै गरेका राडीपाखी, लुकुनी, कोट, अस्कोट, बुर्कासन, चेयरमेट, टीमेट, ब्याग, पर्स, फूलजस्तासामग्री बिक्रीमा समस्या भएको उनले बताइन् । बजार अभावले व्यावसायिक उत्पादन गर्न कठिनाइ भएको भन्दै उनले बजार व्यवस्थापनमा सहयोग भए ठूलो परिमाणमा उत्पादन र बिक्री गर्न सकिने बताइन् । ‘ऊनका सामग्री उत्पादनका लागि बजार प्रवद्र्धन नै भएन', मिना भन्छिन्, ‘सरकारको राम्रो सहयोग भए उत्पादनलाई बढाउन सकिन्थ्यो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.