धर्मशालाले तान्यो पर्यटक
प्यूठानः स्वर्गद्वारी नगरपालिकास्थित भिंगृ जलुकेमा व्यावसायिक धर्मशाला बनेपछि धार्मिक पर्यटक आउने क्रम बढेको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कंने पर्यटक धर्मशालामा बस्ने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका धार्मिक पर्यटकका लागि धर्मशाला उपयोगी बन्दै गएको धर्मशाला निर्माण समितिका संयोजक एवं भिंगृका स्थानीय होटेल व्यवसायी टेकप्रसाद भण्डारीले बताए । ‘तीनवटा कोठा र एउटा हलसहितको धर्मशाला बनाएका छौं',उनले भने, ‘नेपाल र भारतबाट आउने पाँहुना बस्ने गर्छन् ।' प्रतिव्यक्ति एक रात बसेको ३० रुपैयाँ लिने गरिएको उनले जानकारी गराए ।
‘धेरैले आफैं खाना/नास्ता लिएर आउँछन्',भण्डारीले भने, ‘धर्मशालामै खाना बनाउँछु भने पनि मेस सञ्चालन गर्ने व्यवस्था मिलाएका छौं ।' स्वर्गद्वारी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरी धर्मशाला निर्माण गरिएको उनले जानकारी दिए । झण्डै एक वर्षदेखि उक्त धर्मशाला सञ्चालनमा आएको हो । ‘एकै दिन करिब अढाइ सय व्यक्ति अट्न सक्ने क्षमता छ',भण्डारीले भने,‘अझै व्यवस्थित बनाउने योजनामा छौं ।' दैनिक झण्डै एक सय जना पाहुना आउने गरेको उनको भनाइ छ ।
धर्मशाला निर्माणकै लागि पाँच वर्ष अघि भिंगृको जलुकेमा प्युठान उद्योग वाणिज्य संघले श्रीमद्भागवत सप्ताह स्वर्गद्वारी ज्ञान महायज्ञ लगाएकोे थियो । एक करोड नौ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको धर्मशालाको झण्डै दुई लाख रुपैयाँ ऋण रहेको संयोजक भण्डारीको भनाइ छ ।
धर्मशाला बनेपछि स्वर्गद्वारी आउने पर्यटकलाई खानाबस्न धेरै सहज भएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । पर्यटकको आगमन वृद्धि गर्न धर्मशाला बनाउन तत्कालीन संघका अध्यक्ष सूर्यबहादुर विश्वकर्माको संयोजकत्वमा महायज्ञ सञ्चालन गरिएको उनले जानकारी दिए ।
जिल्लामा हुने ठूला सेमिनार, गोष्ठीलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत धर्मशालाको हल प्रयोग गर्ने गरिएको छ ।