परिवारकाे ५२ वर्ष पुरानो सपना
२०४९ सालमा लण्डनबाट ग्र्याजुयसन सकाएर आएको थिएँ । बुवा (हुलासचन्द गोल्छा) उद्योग वाणिज्य महासंघको चुनावमा अध्यक्षको उम्मेदवारी दिने तयारी थाल्नुभयो । उहाँको देश दौडाहा सुरु भयो । उहाँसगै जिल्लातिर जान थालेँ । मलाई ड्राइभिङको सोख, बुवालाई कतिपय ठाउँमा आफैंले ड्राइभिङ गरेर लिएर जान्थेँ । यसबाहेक बुवाको भाषण तयारी आदिका काममा सघाउथेँ, उहाँको पिएको काम गरेको थिएँ ।
त्योबेलै सुर्खेत पुग्दा निरक केसी महासंघको राजनीतिमा सक्रिय भइसक्नुभएको थियो, उहाँको कलिलो अनुहार याद आउँछ । अहिले पनि सक्रिय हुनुहुन्छ । चुनावी दौडाहामै हेटौंडामा रहँदा बुवालाई राति अप्ठ्यारो भयो । त्यहीको अस्पताल पुर्याइयो । भोलिपल्ट हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । उहाँलाई ‘हार्ट अट्याक' भएको रहेछ । डाक्टरले ‘ओपन हार्ट सर्जरी' गर्नुपर्छ भनेपछि चुनावी मैदान छाडेर उहाँ अमेरिका लाग्नुभयो । विनोद चौधरी अध्यक्षमा निर्विरोध हुनुभयो । सर्जरीपछि धेरै वर्ष बाँचे पनि उहाँ महासंघको राजनीतिमा फर्किनु भएन । बुवा महासंघको राजनीतिबाट अलग्गिएपछि दिवाकर दाइ (गोल्छा) महासंघको राजनीतिमा छिर्नुभयो । उहाँ त्यतिबेला प्रथम उपाध्यक्ष भनिने दोस्रो पोजिसनसम्म पुगेपछि महासंघको राजनीतिबाट अलग्गिनुभयो । दिवाकर दाइले बाईबाई भनेपछि म कार्यसमिति सदस्यको रूपमा महासंघमा छिरेँ ।
५२ वर्ष पहिले महासंघका लागि १२ सदस्यीय तदर्थ समिति बनेको थियो, त्यसमा बुवाले कोशी अञ्चल प्रतिनिधि भएर प्रवेश गर्नुभएको थियो । त्यसयता महासंघको प्रत्येक कार्यसमितिमा गोल्छा परिवारको कोही न कोही परेका छन् । म अहिले एसोसिएटबाट उपाध्यक्ष छु । यसपालिको चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छु । महासंघको संशोधित विधानअनुसार यसपालि वरिष्ठ उपाध्यक्ष जिते तीन वर्षपछि म स्वतः अध्यक्ष हुनेछु । बुवा र दाइ नजिक पुगेर पनि महासंघको अध्यक्ष बन्न पाउनु भएन । मैले यसपालि वरिष्ठ उपाध्यक्ष जितेमा ५२ वर्षदेखिको परिवारको सपना पूरा हुनेछ ।
वरिष्ठ उपाध्यक्ष जिते अबको अध्यक्ष भवानी राणालाई सफल बनाउनु पहिलो प्राथमिकता हुनेछ । उहाँलाई एजेन्डा, प्राथमिकता निर्धारणमा सघाउनुपर्ने हुन्छ । साथै, आफ्नो अध्यक्षतामा गर्नुपर्ने कामको खाका पनि बनाउनु पर्नेछ । म चुस्त व्यवस्थापनलाई प्राथमिकता दिन्छु । यसैले महासंघमा पनि सचिवालय सुधारमा धेरै काम गर्नुपर्छ भन्ने लाग्छ । नेतृत्व सफल हुन सचिवालय जतिसक्दो चुस्त हुनपर्छ । सचिवालयलाई छिटो, छरितो र ट्रान्सप्यारेन्ट बनाउनु पर्छ । महासंघलाई पारदर्शी र जवाफदेही बनाउन आवश्यक छ ।
नेपालको सम्भावना एक्सप्लोर गरेर लगानी भित्र्याउन प्रयासरत रहनेछु । विदेशी लगानीमात्र नभई जिल्ला/नगरका लागि पनि विभिन्न कार्यक्रम ल्याउन सक्छु ।
अबको नेतृत्वले पहिलाभन्दा फरक खालका चुनौती सामना गर्नुपर्ने हुन्छ । मुलुक संघियतामा प्रवेश गरेको सन्दर्भमा महासंघको विधान संशोधन गरिएको छ । विधानमा प्रदेश इकाईको परिकल्पना गरिएको छ । तिनको गठन गर्नुपर्ने हुन्छ । ति इकाईसँग समन्वयका लागि संयन्त्रहरू निर्माण/अपग्रेड गर्नपर्ने हुन्छ । अहिले सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरू महासंघको सदस्य भए पनि स्वायत्त छन् । आफ्नै विधान छ । अब प्रादेशिक उद्योग वाणिज्य महासंघ केन्द्रअन्तर्गत रहनेछन् ।
ठूलो जिल्ला/नगर उद्योग वाणिज्य संघ सिधै महासंघमा आबद्ध हुन सक्छन् । तर, साना जिल्ला र नगर उद्योग वाणिज्य संघ प्रादेशिक महासंघमा आबद्ध हुनेछन् । वस्तुगत संघ, एसोसियट सदस्य पनि ठूलो भए मात्र केन्द्रमा सिधै आबद्ध हुन्छन्, नभए प्रदेशमै आबद्ध हुनेछन् । यसो भएपछि ७० प्रतिशतजति समस्या प्रदेशमै समधान हुन्छ भन्ने आशा गरिएको छ । प्रादेशिक संरचनामा गएपछि धेरै स्थानीय समस्या त्यही समाधान हुन्छन् । प्रदेश इकाई गठन, अफिस खोल्ने काम धेरै छन् । तिनलाई केन्द्रमा लिंक गर्नुपर्यो । त्यो विधानले दिएको ठूलो काम हो ।
अध्यक्षले कार्यक्रम नल्याएका हैनन् । ‘एक गाउँ, एक उत्पादन (ओभीओपी)' कार्यक्रम पनि महासंघले सञ्चालन गरिरहेको छ । तिनको निरन्तरताका साथै थप प्रभावशाली कार्यक्रम ल्याउन जरुरी छ । नयाँ कार्यक्रमका लागि अन्तर्राष्ट्रिय सम्बन्ध/समन्वय आवश्यक हुन्छ, जुन मैले खुबीका साथ गर्न सक्छु भन्ने विश्वास छ । नेपालको सम्भावना एक्सप्लोर गरेर लगानी भित्र्याउन प्रयासरत रहनेछु । विदेशी लगानीमात्र नभई जिल्ला/नगरका लागि विभिन्न कार्यक्रम पनि ल्याउन सक्छु जस्तो लाग्छ ।
महासंघमा मभन्दा लामो समय किशोर दाइ (प्रधान) ले राजनीति गर्नु भएछ । तर, नेतृत्व अनुभवले मात्र कुशल नेतृत्व हुने हैन । किशोर दाइ (प्रधान)भन्दा महासंघलाई गतिशील नेतृत्व मैले गर्न सक्छु । फेरि बढी अनुभवकै कुरा गर्ने हो भने त किशोर दाइभन्दा बढी समय बिताएका पनि महासंघमा टन्नै हुनुहुन्छ, उहाँहरूलाई किशोर दाइले किन नछाड्ने ?
महासंघमा तीन कार्यकाल बिताइसकेँ । बैंकिङ समितिको सभापति थिएँ । त्यो बेला राष्ट्र बैंकसँग सहकार्य गरेर ‘स्प्रेड रेट' घटाउनेलगायतका विषयमा काम गरिँयो, सफल पनि भयौं । पछिल्लो समय रोजगारदाता परिषद्को सभापति थिएँ, नयाँ श्रम ऐनको मस्यौदामा महत्वपूर्ण भूमिका खेलियो । अरु ऐन कानुन बनाउँदा पनि सक्रिय भूमिका निर्वाह गरेको छु । हामी र ट्रेड युनियन मिलेर श्रम ऐनको मस्यौदा बनाएका हौं । हामी निजी क्षेत्रले पनि ट्रेड युनियनसँग ‘रिजिनेबल फेस' देखायौं । हामीले लामो समय लगाएर मस्यौदा तयार पारेका हौं । अहिले श्रम सम्बन्ध पनि धेरै सुध्रिएको छ ।
अझै पनि धेरै काम गर्न बाँकी छ । कम्पनी ऐन आउन बाँकी छ । श्रम ऐन पनि पास भएको छैन, सामाजिक सुरक्षा ऐन पनि अन्तिम चरणमा छ । फेटा पनि अन्तिम चरणमा छ । अझै कालोबजारी ऐनलगायत ४/५ वटा ऐन आउन बाँकी छन् । जसमा निजी क्षेत्रको स्ट्रङ भ्वाइस आउन जरुरी छ । ऐन/कानुनमा निजी क्षेत्रको भ्वाइस आउनका लागि जसले निजी क्षेत्रको मर्म बुझेको छ, बिजनेस गरिरहेको छ, उसले सबैको भ्वाइसलाई एकीकृत गरेर एउटै भ्वाइस बनाउन सक्छ । यो काम मैले पहिला पनि गरिसकेको छु र अहिले पनि गर्न सक्छु ।(कुराकानीमा आधारित)