मानवअधिकार चलचित्र महोत्सवमा एक सय चलचित्र देखाइने
काठमाडौः धर्मको नाममा अझै पनि मानिसको किनबेच हुन्छ भन्ने सुन्दा अनौठो लाग्नसक्छ । सुदूरपश्चिमको विशेषगरी बैतडी जिल्लामा प्रचलित देउकी प्रथा धेरै युवाका लागि सुन्दै अचम्म लाग्ने कथा हुनसक्छ । थप आश्चर्य त्यति बेला लाग्छ, जब तिनै युवतीहरू देउकी बनेर बाँचिरहेको यथार्थ थाहा हन्छ।
देवकी विष्टले आफ्नै जीवनसँग जोडेर देउकी प्रथाको जरो उधिन्न हिँडेको कथा वृत्तचित्रमा प्रदर्शन गरिन् । देउकीहरूको खोजीमा हिँड्दै, केही देउकीलाई भेटेर गरिएको कुराकानीसहितको वृत्तचित्रले लुकेर बसेको मुद्दा अघि ल्याइदिएको छ । बिहीबारदेखि सुरु भएको ‘पाचौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को उद्घाटन देउकीको प्रदर्शनबाट गरियो ।
सुदूरपश्चिम मूल घर भएकी देवकीले आफैंलाई केन्द्रमा राखेर तयार पारेको यो वृत्तचित्रले दर्शकमाझ राम्रै अन्तरक्रिया गरायो । देउकीजस्तै समाजका अरू मानवअधिकार विरोधी परम्परा र प्रथामा काम गर्ने योजना उनले सुनाइन् । चारदिने महोत्सवको पहिलो दिन इरानको ‘बटरफ्लाइज', अफगानिस्तानको ‘हाउस', क्यानडाको ‘एलिया', म्यानमारको ‘द गुड्स' लगायतका वृत्तचित्र÷चलचित्र प्रदर्शन भए । मानवअधिकारसँग सम्बन्धित विषयमा बनेका चलचित्रले महोत्सवमा सहभागिता जनाएका छन् । विश्वभरका सयभन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् ।
तीनदिने महोत्सवमा ‘मानवअधिकार र नेपाली चलचित्रमा', ‘नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण' विषयमा चलचित्रकर्मी, पत्रकार, चलचित्र समीक्षक लगायतले बहस गर्नेछन् । महोत्सवमा भारतीय चलचित्र निर्देशक गिरिश कसरावल्लीको ‘मास्टर क्लास' पनि हुनेछ ।
इरान, अफगानिस्तान, म्यानमार, सिरिया, इटाली, स्पेन, क्यानडा, बेलायत, जोर्डन लगायतका देशको सांस्कृतिक पाटोसहित मानवअधिकारसँग जोडिएका मुद्दाका विषयमा बनेका चलचित्र महोत्सवमा समेटिएका छन् । महोत्सवमा नेपाली चलचित्रका चर्चित निर्देशक तुलसी घिमिरे, भारतीय चलचित्र निर्देशक गिरिश कसरावल्ली, बंगलादेशका चलचित्र समीक्षक अमेद मुज्ताब जामल र डच चलचित्र निर्माता क्लेमेन्टाइन इड्रिभनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
महोत्सव समापनमा निर्णायकले छनोट गरेका चारवटा चलचित्रलाई ‘राइनो' अवार्ड प्रदान गरिनेछ । छनोटमा परेका उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र र वृत्तचित्रका साथै उत्कृष्ट नेपाली चलचित्र तथा वृत्तचित्रका साथै एउटा जुरी अवार्ड प्रदान गरिने आयोजक नेपाल ह्युमन राइट्स फिल्म सेन्टरले जनाएको छ।