एकै थलोमा दुई देशका लोकनृत्य

एकै थलोमा दुई देशका लोकनृत्य

काठमाडौः काठमाडौंका दर्शकले भारतको अरुणाञ्चल प्रदेशका विविध लोकनृत्य हेर्ने अवसर पाएका छन् । नेपाल-भारत मानव विकास एवं मैत्री संघ, काठमाडौं र भारत-नेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश शाखा भारतले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नेपाल र अरुणाञ्चल प्रदेश, भारतको सांस्कृतिक कार्यक्रम'मा नेपाल र अरुणाञ्चल प्रदेशका विविध नृत्यहरू प्रस्तुत गरिएका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा भएको संयुक्त विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय कार्यवाहक राजदूत विनय कुमारले गरेका थिए । नेपाल र भारत सांस्कृतिक रूपमा धनी भएको बताउँदै कार्यवाहक राजदूत विनयकुमारले यस्ता कार्यक्रमले सांस्कृतिक आदनप्रदान हुने बताए । कार्यक्रम अरुणाञ्चल प्रदेशको मन्पा जातिको परम्परागत तोवाङ गायन एवं नृत्यबाट सुरु भएको थियो । यसैगरी बौद्ध धर्मावलम्बीको १२ वर्ष चक्रअन्तर्गत सेर्तुक्पेन समुदायको बार्दोछाम नृत्य पनि त्यत्तिकै आकर्षक थियो । सो नृत्यमा कलाकारले बाघ, भेडा, बाँदरजस्ता विभिन्न जनावरको मुकुण्डो लगाएर नृत्य गरेका थिए ।

कार्यक्रममा नेपाल-भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसालले दुई मुलुकलाई जोड्न आफूहरूले नेपाल र अरुणाञ्चल प्रदेशको संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए । भारत-नेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश शाखा भारतका अध्यक्ष खान्डु थुंगनले अरुणाञ्चल प्रदेश र नेपालका धेरै संस्कृति, भेषभूषा मिल्ने र त्यहाँ पनि नेपाली भाषा बोलिने भएकाले सांस्कृतिक आदानप्रदानका लागि कार्यक्रम फलदायी भएको बताए ।

अरुणाञ्चल प्रदेशको सिंह नृत्यले उपस्थित दर्शकलाई रोमाञ्चक अनुभूति गरायो । भिक्षु र तीनवटा सिंहले मञ्चमा गरेको नृत्य नेपाली दर्शकका लागि आकर्षण बनेको थियो । यसैगरी भालेपोथी मृग नृत्य पनि रोचक थियो । अरुणाञ्चल प्रदेशकै बुगुन समुदायको बुगुन नृत्य र मन्पा समुदायको अर्को धिराङ नृत्य धेरै दर्शकका लागि नयाँ थियो ।

कार्यक्रममा अरुणाञ्चल प्रदेशका चर्चित कलाकार ताम्रिन छिरिङ, दोर्जी खाण्डु थुंगन, लोप्सङ छोन्जुर, तेन्जिङ टासी, रिन्चिन लामु, थुक्तेन छोम्बे, कुन्चो लामु, सांगे छोमु, दावा योटन, लेकी छोम प्याङ, सबनम ग्लो, नाम्गे वाङ्मो फिन्ह्या, नवाङ छोटेन, सोनाम पेमा, कुन्जाङ ल्हाट्रोन, फुन्चु ख्रिमे, रिंचिङ नर्वो थुंगन लगायतको प्रस्तुति थियो ।

अरुणाञ्चल प्रदेशबाट आएका ५७ जना कलाकारको टोली आफ्नो भेषभूषा र बाजागाजासहित कमलादीबाट सांस्कृतिक झाँकीसहित भृकुटीमण्डप पुगेको थियो । कार्यक्रममा नेपालका तर्फबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले हुड्केली र थारू नृत्य प्रस्तुत गरेको थियो ।

भारतीय सांस्कृतिक केन्द्रले प्रस्तुत गरेको मञ्जु श्री नृत्य र तामाङसेलो नृत्यले पनि दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो । नेपाल-भारत मानव विकास एवं मैत्री संघ काठमाडौं, सांस्कृतिक विभागका संयोजक सञ्जयबाबु ढकालका अनुसार शनिबार रत्नपार्कस्थित शान्ति वाटिकामा दिउँसो १ बजेदेखि दुई घन्टा विशेष प्रस्तुति रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.